सुरक्षा अपनाउँदै निर्माण कार्य गर्न प्रजिअको निर्देशन
धुलिखेल/साउन ३० र ३१ गते लगातार अरनिको राजमार्गको निर्माणाधिन क्षेत्रमा दुई मोटरसाईकल यात्रीले दुर्घटनामा ज्यान गुमाए पछि प्रमुख जिल्ला अधिकारी सहित आयोजना कार्यालयका प्रतिनिधिहरुले राजमार्ग र निर्माणाधीन क्षेत्रको सुरक्षाका बारेमा अवलोकन गरेका छन् ।
‘राजमार्ग निर्माण गर्ने क्रममा बालुवा, गिट्टी तथा निर्माणका अन्य सामाग्रीहरुका कारण दुर्घटना भएको हो वा होईन ? त्यसका कारण दुर्घटना नहोस र सडकमा निर्वाध रुपमा आवतजावत गर्ने वातावरणका साथ र सुरक्षा सहित गुणस्तरीय कार्य गर्न निर्देशन दिएका छौ’– प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भने–‘लगातारका दुई दुर्घटना सडक निर्माणका कारण नभएको देखिए पनि अब पनि सुरक्षाका साथ कार्य गर्न र सडकलाई अवरोध नपु¥याउन आयोजना कार्यालय मार्फत निर्माण ब्यवसायीलाई निर्देशन दिएका छौं ।’ आयोजना कार्यालयका इन्जिनियर जंगबहादुर महर्जनले सडक दुर्घटना हुन नदिन नियमित अनुगमन गरिएको बताए । वर्षातका कारण भएका सडकका खाल्डाखुल्डीलाई तत्काल पुर्न, ट्राफिक चिन्हहरुको कमी हुन नदिन तथा निर्माण सामाग्रीले सडकलाई अवरोध नगर्न निर्माण ब्यवसायीलाई अनुरोध गरेको इन्जिनियर मर्हजनले बताए । निर्माण ब्यवसायीका तर्फका इन्जिनियर प्रदिप दाहालले सडकमा ट्राफिक चिन्ह राखेर निर्माण कार्य गरिरहेको जानकारी दिदै निर्माणका कारणले दुर्घटना हुन नदिन सचेत र सजग भएर कार्य गरिएको बताए ।
अनुगमनका क्रममा काभ्रेपलाञ्चोक जिल्लाको साँगा देखि धुलिखेलसम्मको सडक खण्डको अवलोकन गरिएको थियो । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, प्रहरी प्रमुख एसपी भाग्येन्द्रपुरुष ढकाल, आयोजना कार्यालयका इन्जिनियर जंगबहादुर महर्जन, निर्माण ब्यवसायीका इन्जिनियर प्रदिप दाहाल लगायतको सहभागिता रहेको थियो । अरनिको राजमार्गमा असार ३० गते भैसेपाटी खण्डमा धुलिखेल ८ का २१ बर्षिय अभिषेक न्यौपानेको मोटरसाईकल दुर्घटनामा निधन भएको थियो भने असार ३१ गते धुलिखेलको बाँसघारी नजिकै मिरावेल चोकमा प्युठान घर भई बनेपामा लघु वित्तमा कार्यरत २७ बर्षिय सुरज गिरीको निधन भएको थियो । दुवैजनाले चलाएको मोटरसाईकल ट्रक तथा मिनी ट्रकमा ठोक्किएको थियो ।





