2026 August 26/ 03:45: 06pm

    धुलिखेल/नेपाली सेनाले विपद्को अवस्थामा सुरक्षाकर्मीको उपस्थिती विना स्थानीयद्वारा ‘फस्ट रेस्पोन्डर’ भई कार्य गर्न सक्ने गरी क्षमता विकासका लागि उपलब्ध गराएको तालिम प्रभावकारी देखिएको छ । साथै नेपाली सेनाको कालीजंग गणले प्रयोगमा ल्याएको ‘विपद्को सहयोगी ड्रोन’ को प्रविधीले थप क्षती हुनबाट जोगाएको छ । 
    मकवानपुर र काभ्रेपलाञ्चोक जिल्लाको सिमानामा गएको पहिरोका कारण एकै परिवारका पाँच जनाले ज्यान गुमाएको घटनामा नेपाली सेनाको कालीजंग गणबाट तालिम लिएका फस्ट रेस्पोन्डरहरुले बेपत्ता भएका ब्यक्तिको खोज तथा उद्धार गरी तालिमको प्रभावकारीतालाई पुष्टि गरेका छन् । ‘सुरक्षाकर्मीको टोली पुग्नु अगावै स्थानीय तालिम प्राप्त जनशक्तिले पहिरोबाट वेपत्ता भएका ब्यक्तिहरुको खोज तथा उद्धार ग¥यो’–खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ्गले भने–‘फस्ट रेस्पोन्डर भई कार्य गर्ने तालिम पालिकाका अन्य वडाका युवाहरुलाई दिने गरी समन्वय गरिरहेका छौं । विपद्को पहिलो अवस्थामा स्थानीय स्तरमा त्यहि जनशक्ति महत्वपूर्ण देखियो ।’ 
    विपद्को अर्काे सारथी बन्यो ‘ड्रोन’ । धुलिखेल १० शारदा बतासेमा भएको आगलागीको घटनामा खटिएको नेपाली सेनाको टोलीले ड्रोनको माध्यबाट आगलागी भएको स्थान, त्यसको फैलावट, त्यहाँ आवश्यक पर्ने सामाग्री र जनशक्ति, त्यसलाई नियन्त्रणमा लिन सकिने अवस्था तथा नियन्त्रणका लागि गरिनु पर्ने पूर्व तयारीका बारेमा जानकारी लिएको थियो । सोहि ड्रोनबाट लिएको जानकारीका आधारमा सेनाको टोलीले आवश्यक सामाग्री सहितको जनशक्ति लिएर घटनास्थल पुगी आगो नियन्त्रणमा लियो । खोज तथा उद्धारमा जानु अघि नै सहि सूचना र अवस्थाका बारेमा जानकारी लिँदा थप क्षति नहुने तर्फ प्रविधि प्रयोगमा ल्याईएको कालीजंग गणका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले भने । 
    नेपाली सेनाको कालीजंग गणले प्रयोगमा ल्याएको ड्रोनको क्षमता १८ किलोमिटर टाढासम्म रहेको छ । रुख अर्थात पहाडमा ठोक्किन लाग्यो वा त्यहि समयमा कुनै विपद्का कारण त्यसलाई क्षति पुग्न खोज्यो भने ड्रोनले आफै संकेत दिन्छ र रोकिन्छ । तत्कालै त्यसलाई सोहि स्थानबाट फर्काउन सकिने छ । ब्याट्री सकिएको अवस्थामा पनि जहाँबाट उडाईएको हो त्यहि स्थानमा आउन पुग्ने गरी आफै त्यसले ब्यवस्थापन गरेको हुन्छ । ड्रोन उडाईरहँदा विपद् भई सकेपछिको खोज र उद्दारमा थप सहयोग पुग्नेछ । स्थानीय पालिकाहरुले ज्ञान, सिप र जनशक्ति सहित प्रविधिको जोहो गरेको अवस्थामा स्थानीय नागरिकहरुलाई विपद्बाट हुन सक्ने थप जोखिम न्यूनिकरणमा सहयोग पुग्नेछ । विभिन्न किसिमका ड्रोन उपलब्ध हुने भए पनि पालिकाहरुका लागि डेढ लाख देखि ३ लाख रुपैयाँसम्मका ड्रोनहरु भएमा पालिकाभरी विपद्का घटनाका सन्दर्भमा जानकारी लिने र खोज तथा उद्धारमा सक्रिय बन्न सक्ने अवस्था रहन्छ । 
के ग-यो सेनाले ? 
    नेपाली सेनाले मनसुनजन्य विपद्को सामुहिक अभ्यास ग¥यो । फस्ट रेस्पोन्डर भई कार्य गर्न सक्ने क्षमताको विकास गर्ने उद्देश्यले तालिम आयोजना ग¥यो र विपद् पूर्वको द्रुत प्रतिकार्य पुस्तक २०८० प्रकाशन गरी स्थानीय तह तथा सरोकारवाला निकायमा उपलब्ध गरायो । विपद्को दौरान उद्धारकर्मीको अनुपस्थितिमा स्थानीयद्वारा ‘फस्ट रेस्पोन्डर’ भई कार्य गर्न सक्ने क्षमताको विकास गर्ने उद्देश्य अनुरुप कालीजंग गणका दक्ष विपद् व्यवस्थापन टिमद्वारा सामुदायिक विपद प्रतिकार्य तालिम २०८० सञ्चालन गरिएको नेपाली सेना कालीजंग गणका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले बताए । विपद् पछिको खोज तथा उद्धारमा दक्ष जनशक्ति उत्पादन गर्ने र उक्त जनशक्तिले आवश्यक सामाग्रीको पूर्व तयारी तथा अन्य जनशक्तिलाई प्रशिक्षित गर्न तालिम प्राप्त ब्यक्तिहरु सक्षम भएका छन् । 
    ‘विपद्मा नागरिकहरुलाई तत्काल उद्धार कसरी गर्ने ? विपद् न्यूनीकरणका लागि नेपाली सेना तथा संयुक्त टोली कसरी परिचालन हुन सकिन्छ ? त्यसका बारेमा सही सूचना कसरी प्राप्त गर्ने ? त्यही अनुसारको तयारी गरी घटनास्थल कसरी पुग्ने ? त्यस्तो अवस्थामा कस्को भूमिका के हुने ? भन्ने विषयमा अभ्यास मनसुनले प्रस्ट बनाएको छ’– प्रमुख सेनानी प्रकाशबहादुर सिंहले भने–‘पहिलो पटक स्थानीय सरकार तथा सरोकारवाला निकायहरुका लागि विपद् द्रुत प्रतिकार्य किताब २०८० समेत प्रकाशन गरेर कालीजंग गणले उपलब्ध गराएको छ ।’ 
    पुस्तकमा विपद् भनेको के हो ? विपद् प्रतिकार्य चक्रm जिल्ला विपद् व्यवस्थापन सेल, विपद्का प्रकारहरु, प्रतिकार्यका लागि आवश्यक सिप तथा कलाहरु, विपद् मूल्याङ्कन कार्य तालिका, विपद् प्रतिकार्यका लागि आवश्यक पर्ने सामाग्रीहरु, सर्च एण्ड रेस्क्युको दौरान आवश्यक पर्ने डोरीको गाँठो बनाउने तरिका, इम्प्रोभाईजेशन स्ट्रेचर बनाउने तरिका, स्ट्रेचर नभएको अवस्थामा घाइते बिरामीलाई स्वास्थ्य चौकी तथा अस्पतालमा लैजाने तरिका, बाढीमा उद्धार गर्ने तरिका, पहिरोमा उद्धार गर्ने, हेलिकप्टर बोलाउने र माग गर्ने तरिका, प्राथमिक उपचार तथा विपद्को दौरानमा आवश्यक पर्ने टेलिफोन नम्बर लगायतका विषय उल्लेख गरिएको छ ।
    सामुदायिक विपद् प्रतिकार्य तालिम २०८० जेठ १६ देखि १९ सम्म आयोजना गरेको थियो । तालिममा जिल्लाका १० वटा पालिकाका १ सय २० जना सहभागी थिए । ‘विपदको परिचय र विपद् व्यवस्थापन चक्र, विपद् प्रतिकार्यको लागि आवश्यक सामाग्री, सिप तथा कलाहरु, बाढी, पहिरो, डुबान, आगलागी जस्ता विपद्का घटनाहरुको दौरान उद्धार गर्ने तरीका, प्राथमिक उपचार, स्थानीय श्रोत तथा साधनको प्रयोग गरी विपद् प्रतिकार्य गर्ने विधिहरु र विपद्को समयमा आधुनिक उपकरणहरुको प्रयोगका बारेमा जानकारी गराईएको थियो’– कालीजंग गणका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले भने – ‘जिल्लाका अधिकांश भू–भाग पहाडी तथा भिरालो रहेको, जिल्ला भएर बग्ने सुनकोशी, इन्द्रावती, रोशी लगायतका ठुला नदी तथा खोलाहरु विपद्को हिसाबले जोखिममुक्त भएकाले प्राविधिक ज्ञान र सिप उपलब्ध हुँदा भएका सामाग्रीहरुको प्रयोगले पनि खोज तथा उद्धारमा सहयोग पुग्ने छ ।’ 
    ‘वर्षायाममा पहिरोको जोखिम, पुराना घरहरु तथा बजार ईलाकामा बाक्लो बस्ती, जंगल ईलाका धेरै भएकाले हुन सक्ने आगलागीका घटनाहरुमा उक्त तालिम प्राप्त ब्यक्तिहरुको सिपमुलक ज्ञानको प्रयोग हुनेछ’–प्रमुख सेनानी प्रकाशबहादुर सिंहले भने–‘विपदका घटनाहरुमा तत्काल उद्धारकर्मी पुग्न सम्भव नहुँदा कयौ मानिसको ज्यान सक्ने सम्भावनालाई न्यूनीकरण गर्न स्थानीयद्वारा नै प्रतिकार्य गर्न सक्ने क्षमताको विकास गर्न यो तालिम महत्वपूर्ण छ । स्थानीय तह तथा सरोकारवाला निकायले आवश्कयता महसुस गरेको अवस्थामा विपद् सम्वन्धी तालिम  सेनाले उपलध गराउने छ ।’ 
    जिल्ला विपद् ब्यवस्थापन समिति काभ्रेका संयोजक एवं प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले स्थानीय तहले चाहँदा ड्रोनको माध्यमबाट खोज तथा उद्धारका लागि सहयोग पुग्ने भएकाले त्यसको ब्यवस्थापनमा ध्यान दिनुपर्ने बताए । ‘आवश्यक तालिमका लागि नेपाली सेनाको टोली तयार छ, प्रविधिको ब्यवस्थापनमा स्थानीय तहले ध्यान दिएको अवस्थामा खोज तथा उद्धारको कार्य थप प्रभावकारी हुनेछ’– प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भने ।