2026 August 27/ 07:08: 24pm

– प्रहरी कार्यालयमा एकै महिनामा १० वटा मुद्दा दर्ता 

मोतीराम तिमल्सिना
धुलिखेल

    एक वर्षको अवधीमा ३ सय ५० वटा नागरिकताको अनुसुची गायब बनाउने गिरोहको अनुसन्धान जारी रहेका बेला जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पछिल्ला दिनमा नागरिकता वितरणमा कडाई गर्न थालेको छ । 
    तत्कालिन प्रमुख जिल्ला अधिकारी कृष्ण राउतले अनुसन्धान गरेर पत्ता लगाएका ३ सय ५० वटा नागरिकतामा सुन तस्करका नाईके दावा छिरिङ्ग भनिने निमा तामाङ लगायत छन् । नागरिकताको अनुसुची गायब पार्ने कर्मचारी उपर अझै कारवाही भएको छैन । नागरिकता लिँदा प्रयोग गरिएका नक्कली कागजात तयार बनाउने गिरोहका बारेमा पनि अनुसन्धान जारी छ । गृह मन्त्रालयले उप सचिव कृष्ण कटुवालको संयोजकत्वमा छानविन समिति गठन गरेको भए पनि अझै दावाको नागरिकता रद्द गरिएको छैन । दावा लगायत चिनियाँ मुलका ४ जनाको नागरिकता फेला परेको छ । उनिहरुको पनि रद्द गरिएको छैन । 
    आर्थिक वर्ष २०७९/०८० मा जिल्लामा २३ वटा नागरिकता रद्द भएका छन् । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले २०७८ फागुन देखि २०७९ फागुनसम्म १५ वटा नागरिकता रद्द गरी थप अनुसन्धान सहित कारवाहीका लागि प्रहरीकोमा पठाएकी थिईन् । आर्थिक वर्ष अवधीमा पाण्डेले ९ वटा नागरिकता रद्द गरेकी थिईन् । प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले २०७९ माघ २५ देखि २०८० असार मसान्तसम्म १४ वटा नागरिकता रद्द गरेका छन् । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले साउन महिनामा रद्द गरिएका १० वटा नागरिकताको थप अनुसन्धानका लागि प्रहरी कार्यालयमा पठाएका छन् ।  नागरिकता रद्द गर्ने अभियान प्रजिअ हुमकला पाण्डेको कार्यकालबाट शुरु भएको हो । त्यसअघि शिवराम पोखरेलको कार्यकालमा २०७८ पुष २५ गते एउटा नागरिकता रद्द भए पनि प्रहरी कार्यालयमा अनुसन्धानका लागि पठाईएको थिएन भने २०६७ साल कार्तिक ९ गते सुधिरकुमार शाहको कार्यकालमा एउटा नागरिकता रद्द भएको थियो । उनको पनि थप अनुसन्धान र कारवाही भएको छैन । 
    नागरिकताको विवरण सच्याउने, थप्ने, हुँदै नभएको विवरण राख्ने, जिउँदा ब्यक्तिलाई मरेको बनाएर नागरिकता लिने, फरक फरक जन्म मिति राख्ने, नाम अलग अलग राख्ने प्रकृतिका दर्जनौ नागरिकताहरु रद्द गर्ने अभियान शुरु गरिएको प्रशासनले जानकारी दिएको छ । ३ सय ५० वटाको हकमा गृहको प्रतिवेदन र अनुसन्धान पछि निर्णय हुने प्रशासन कार्यालयले जानकारी दिएको छ । 

यि हुन् एक वर्षको अवधीमा रद्द भएका नागरिकता 
    रामेछाप जिल्ला साविक चुचुरे गाविस २ घर भएकी ३३ बर्षिया सुनिता गिरीले २०६८ साउन ८ गते पहिलो र २०७५ मंसिर २६ गते दोश्रो नागरिकता लिँदा झुटो विवरण पेश गरेकी थिईन् । 
    पाँचखाल नगरपालिका वडा नम्वर ७ का २७ बर्षीया रिमा लामाले २०७९ भदौ २३ गते लिएको नागरिकता झुटो विवरण पेश गरी लिएको अभियोगमा रद्द गरिएको थियो । 
    पाँचखाल नगरपालिका वडा नम्बर ४ का २० बर्षिय सुसन श्रेष्ठले विवरण फरक पारी पहिलो नागरिकता २०७५ बैशाख ५ गते र दोश्रो नागरिकता २०७९ बैशाख २९ गते लिएका थिए । 
    धुलिखेल नगरपालिका वडा नम्वर ५ हाल पाँचखाल ५ बस्ने ३३ बर्षिया इजा श्रेष्ठले २०६३ साउन ३ गते पहिलो र २०७३ असार ३ गते दोश्रो नागरिकता लिँदा झुटो विवरण पेश भएको थियो । 
    मण्डनदेउपुर नगरपालिका वडा नम्वर ३ बस्ने ४३ बर्षिया दिपा तामाङले जिउँदा श्रीमानको मृत्यु भएको भन्दै झुटो विवरण पेश गरेर पहिलो नागरिकता २०६४ पुष २१ गते लिएकी थिईन । २०७९ मसिंर १८ गते उनको नागरिकता रद्द गरिएको छ । 
    भुम्लु गाउँपालिका वडा नम्वर १० बस्ने १७ बर्षिय मिलन तामाङले जन्म दर्ता परिवर्तन गरी विवरण ढाँटेर नागरिकता बनाएकाले २०७९ मंसिर २१ गते रद्द गरिएको छ । 
    बनेपा नगरपालिका वडा नम्वर ३ बस्ने ६३ बर्षिया चिनिमाया राना मगरले २०४४ साल भदौ १० गते जारी भएको पहिलो नागरिकता र २०६० साल कार्तिक १९ गते बनाएको नागरिकतामा फरक फरक विवरण राखेर नागरिकता लिएकी थिईन् । 
    भुम्लु गाउँपालिका वडा नम्वर ९ बस्ने २२ बर्षिया रञ्जना तामाङले २०७६ कार्तिक १७ गते लिएको नागरिकतामा विवरण पेश गरेको अभियोगमा रद्द गरिएको थियो । 
    पनौती नगरपालिका ४ बस्ने ३७ बर्षिया सावित्री नेपालले २०६० मंसिर १० गते लिएको नागरिकतामा झुटो विवरण पेश गरिएको थियो । उनको नागरिकता पनि रद्द गरिएको छ । 
     महाभारत गाउँपालिका बस्ने २२ बर्षिया अञ्जना थिङ्गले २०७७ फागुन १० पहिलो र २०७९ मसिंर १२ गते दोश्रो नागरिकता लिएकी थिईन् । विवरण ढाँटेर बनाएको नागरिकता रद्द गरिएको छ । 
     गुल्मी जिल्ला कालिगण्डकी गाउँपालिका वडा नम्वर २ घर घएका श्रीराम बस्नेतले पहिलो नागरिकता २०७१ जेठ २८ पहिलो नागरिकता लिएका थिए भने २०७३ मसिंर २७ गते काभ्रेबाट दोश्रो नागरिकता लिएका थिए । २०८० असार २९ गते नागरिकता रद्द गर्ने निर्णय गरी २०८० असार २१ गते प्रहरी कार्यालयलाई थप अनुसन्धानका लागि फाईल पठाईएको छ । 
    साविक महेन्द्रन्ज्योती गाविस वडा नम्वर ९ हाल बनेपा नगरपालिका वडा नम्वर १२ बस्ने सविता थापाले २०६१ जेठ ३२ गते बाबु आमाको नाम नक्कली राखेर नागरिकता लिएकी थिईन् । २०७९ फागुन १० गते उनको नागरिकता रद्द गरी प्रहरीलाई २०७९ फागुन १६ गते कारवाहीका लागि पठाईएको छ । 
    महाभारत गाउँपालिका वडा नम्वर ३ बस्ने रोजन मोक्तान तामाङले विवरण फरक पारेर २०७१ फागुन ११ गते पहिलो र २०७३ बैशाख ३१ गते दोश्रो नागरिकता लिएका छन् । २०८० असार २९ गते उनको नागरिकता रद्द गरी २०८० साउन २१ गते प्रहरीलाई कारवाहीका लागि पठाईएको छ । 
    रोशी गाउँपालिका ९ बस्ने ३२ बर्षिय मोहन भन्ने सोम राना मगरले पहिलो नागरिकता २०६५ असोज ५ गते मोहन राना मगरका नामबाट लिए भने दोश्रो नागरिकता २०७९ मसिंर २५ गते सोम राना मगरको नामबाट लिए । २०८० असार २९ गते उनको नागरिकता रद्द गरी कारवाहीका लागि साउन २१ गते प्रहरी कार्यालयमा पठाईएको छ । 
    बनेपा नगरपालिका वडा नम्बर ९ बस्ने ३२ बर्षिया कविता श्रेष्ठले २०६९ साल बैशाख १४ गते लिएको नागरिकतामा झुटो विवरण पेश गरेको फेला परेकाले २०८० असार १३ गते रद्द गरिएको छ । उनको कारवाही प्रकृया शुरु भए पछि नागरिकता रद्द भएको हो । 
    खानिखोला गाउँपालिका वडा नम्वर ३ बस्ने कृष्णबहादुर थिङ्गको मृत्यु दर्ता रद्द गरिएको छ । जिउँदो ब्यक्तिलाई मृत्यु भएको प्रमाणीत गर्ने र मृत्युको सूचना दिने छोरालाई कारवाही हुने भए पनि छोराको मृत्यु भईसकेको छ । २०८० असार १३ गते मृत्यु दर्ता रद्द गर्ने निर्णय भएको छ । 
    खार्पाचोक ४ हाल रोशी गाउँपालिका ८ बस्ने २८ बर्षिय माने तामाङ भन्ने तुलबहादुर तामाङले पहिलो २०६७ मसिंर १६ गते र दोश्रो २०६९ जेठ १८ गते लिएको नागरिकतामा विवरण झुटो राखकाले २०८० असार १३ गते नागरिकता रद्द गरी २०८० साउन २१ गते कारवाहीका लागि पठाईएको छ । 
    नमोबुद्ध नगरपालिका वडा नम्वर ११ बस्ने अनिशा लामाले २०७९ फागुन १६ गते लिएको नागरिकतामा झुटो विवरण पेश गरेकाले २०८० जेठ २९ गते रद्द गरिएको छ । सोहि नागरिकताका सन्दर्भमा पनि कारवाहीका लागि साउन २१ गते पठाईएको छ । 
    गुल्मी जिल्ला रुपाकोट ४ घर भई नासिकास्थान साँगा गाविस ४ हाल बनेपा १४ बस्ने वर्ष ३७ को श्याम भन्ने कलानन्द भण्डारी, उनको पत्नि लिला भन्ने लिला पन्थ भण्डारीले २०६० साल असार २ गते र २०७० साल पुष २९ गते नागरिकता लिएका थिए । दोश्रो पटक श्रीमानले २०७३ पुष २८ गते र श्रीमतीले २०७४ भदौ ७ गते नागरिकता लिएका थिए । विवरण फरक पारी दोश्रो नागरिकता लिएको अभियोगमा उनीहरु दुबैलाई अनुसन्धानका लागि साउन २१ गते प्रहरीकोमा पठाईएको छ । उनिहरुको नागरिकता २०८० जेठ ३१ गते रद्द भएको थियो । 
    रोशी गाउँपालिका वडा नम्वर ७ बस्ने ३५ बर्षिय चिरञ्जिवी भन्ने मनोज दुलालले २०६२ जेठ २० गते पहिलो र २०७४ जेठ ३१ गते दोश्रो नागरिकता लिएका थिए । दोहोरो नागरिकतामा विवरण पारेका दुलालको नागरिकता २०८० जेठ २९ गते रद्द गरी कारवाहीका लागि साउन २१ गते प्रहरीलाई पठाईएको छ । 
    तेमाल गाउँपालिका वडा नम्वर ७ बस्ने २६ बर्षिय विष्णु लामाले २०७० मंसिर ११ गते पहिलो र २०७८ साउन ८ गते दोश्रो नागरिकता लिएका थिए । २०८० जेठ २९ गते उक्त नागरिकता रद्द गरी साउन २१ गते प्रहरी कारवाहीमा पठाईएको छ । 
    पाँचखाल नगरपालिका वडा नम्वर २ बस्ने १९ बर्षिया अनिषा तामाङले २०७९ असोज ५ गते लिएको नागरिकतामा आमाको नाम ढाँटी जन्म दर्ता समेत परिवर्तन गरी नागरिकता बनाएको अभियोगमा २०७९ जेठ ३ गते नागरिकता रद्द गरिएको छ । प्रहरीलाई साउन २१ गते कारवाहीका लागि पठाईएको छ । 
    सिन्धुली जिल्ला शान्तेश्वरी गाविस ७ की ३२ बर्षिया कुमारी स्याङ्गतानले जन्म दर्ता परिवर्तन गरी पहिलो नागरिकता २०६३ माघ ८ गते र दोश्रो नागरिकता २०७७ माघ २६ गते लिएकी थिईन् । प्रहरीमा अनुसन्धान गरी कारवाहीका लागि २०७९ माघ १६ गते पठाईएको छ । 

जिल्लाबासीको सूचीमा, थपिदै विदेशी नागरिक
    धुलिखेल/सुन तस्करीसँग जोडिएका विदेशी ब्यक्तिहरुको साथमा नेपाली नागरिता फेला परेसँगै जिल्ला प्रशासन कार्यालय काभ्रेमा सिआईवीको टोलीले अनुसन्धान शुरु गरेको छ । गृह मन्त्रालयले भने छानविन समितिलाई सुस्त बनाउँदै अनुसन्धानलाई प्रभावित बनाईरहेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले माओवादी नेता वर्षमान पुनः, पुर्व उपराष्ट्रपति नन्दकिशोर पुनः, पुर्व उपुभामुख ओनसरी घर्ती लगायतका नेताहरुसँग नाम जोडिएकै आधारमा अनुसन्धानलाई प्रभावित बनाईरहेका छन् । 
    जिल्ला प्रशासन कार्यालयबाट विदेशी ५ जना विदेशी नागरिकले फर्जि कागजात तयार गरी नागरिकता र राहदानी लिएको भेटिएको छ । ‘२०७४ साल पुष २० गते दुईवटा नागरिकता विदेशी नागरिकले लिएको खुलेको छ । त्यस्तै २०७६ फागुन १२ गते अर्का विदेशीले काभ्रेबाट राहदानी लिएको तथा २०७८ पुष ८ गते दुई विदेशीले नेपालीका नाममा राहदानी लिएको तथ्य फेला परेको छ’–प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भने–‘सिआईवी तथा अन्य निकायबाट भईरहेको अनुसन्धानलाई काभ्रे प्रशासनले भरपुर सहयोग गरिरहेको छ ।’ जिल्ला प्रशासन कार्यालय आफैले पनि गैह्कानूनी रुपमा नागरिकता लिएको सूचना पाए लगत्तै त्यस सम्वन्धमा छानविन गरिरहेको छ भने नयाँ नागरिकता र प्रतिलिपिमा कडाईका साथ यकिन गरेर उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । साउन महिनामा १६ वटा नागरिकता रद्द गरी कारवाहीका लागि पठाईएको प्रजिअ पौडेलले भने । शुक्रबार सिआईवीले थप दुई जना तेन्जिङ गुरुङ र पासाङ तामाङका बारेमा विवरण पठाउन प्रशासनलाई पत्र पठाएको थियो । यस अघि दावा छिरिङ्ग भनिने निमा तामाङ, राम लामा र सोनाम लामाका बारेमा विवरण माग गरेको थियो । 
    उता गृह मन्त्रालयले गठन गरेको छानविन समिति भने निष्कर्ष विहिन बनिरहेको छ । शुरुमा ७ दिनको समय दिएर गठन गरिएको छानविन समितिले प्रारम्भिक अनुसन्धान गरे पनि गहिराईमा पुगेर अनुसन्धान गर्न सकेको छैन । सिआईवीले भने नागरिकता र राहदानी जारी गर्ने कर्मचारीका बारेमा पनि प्रशासन कार्यालयसँग विवरण मागेको छ । ‘प्रशासन कार्यालयमा समेत आवश्यक विवरण छैन’–एक अधिकृतले भने–‘भएका कागजात अनुसन्धानको सहजताका लागि पठाएका छौं ।’ ३ सय ५० जनाको अनुसची गायव बनाउँदै विदेशीलाई नागरिकता जारी गर्ने समयका कर्मचारीहरु माथी भने गृह मन्त्रालयले अझै छानविन शुरु गरेको छैन । तत्कालिन प्रमुख जिल्ला अधिकारी कृष्ण राउतले एक वर्ष अवधीमा अनुसुची नभएका नागरिकताको विषयमा छानविन तथा अनुसुची ब्यवस्थापन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा ३ सय ५० जनाको नामावली तयार भएको थियो । 
    गृह मन्त्रालयमा बुझाएको प्रतिवेदन पनि गायव छ । जिल्ला प्रशासन कार्यालयमा पनि उक्त प्रतिवेदन छैन । गृह मन्त्रालयले छानविन गर्न गठित समितिले पनि उक्त प्रतिवेदन फेला पार्न सकेको छैन । प्रतिवेदन तयार गरे पनि तत्कालिन समयमा नागरिकता जारी गर्ने र त्यो कार्यमा संलग्नहरुलाई अझै अनुसन्धान गरी कारवाहीको दायरामा ल्याईएको छैन । सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा क्षिरिङ्ग भनिने निमा तामाङले २०७४ पौष २० गते जिल्ला प्रशासन कार्यालय काभ्रेबाट नागरिकता लिएका थिए । २०७८ सालमा पनि उनका बारेमा अनुसन्धान भएको थियो । नागरिकता लिन प्रयोग भएका अनुसुचीहरु गायव बनाईएको, विदेशी भएको तथा विभिन्न अपराधिक कृयाकलापमा संलग्न भएको पुष्टी भए पनि दावालाई कारवाही नभएको मात्रै होईन उनको नागरिकता पनि रद्द गरिएको थिएन ।  
    दावाले आफ्नै दाजु बनाएर बाबु पेमा तामाङ राखेर पासाङ तामाङका नाममा चिनियाँ नागरिकलाई एकै दिन नागरिकता दिलाएका थिए । उनि को हुन् ? के गर्दैछन् अझै खुलेको छैन । ‘चिनिया नागरिक ली नेङकाईको साथमा राम लामा र सोनाम लामा नामका दुईवटा राहदानी बरामद भएका छन्’–श्रोतले बतायो–‘राम र सोनामले एकै दिन काभ्रेबाट २०७८ पुष ८ गते राहदानी लिएका हुन् । उनिहरुले लिएको राहदानी अनुसारको नागरिकता नम्वर भने गृहमन्त्रालयको रेकर्डमा भेटिदैन ।’ राम लामाको जन्म २०५३ बैशाख १५ गते राखिएको छ । नागरिकता नभएकाले ठेगाना प्रष्ट छैन । १२५८९४५७ नम्वरको राहदानी लिएका रामको नागरिकता नम्वर ३०३०४१–२२५४ हो । यो जिल्लाको अभिलेखमा नक्कली हो । यस्तो खालको नम्वर काभ्रेबाट जारी भएको नागरिकतामा छैन । सोनाको राहादानी नम्वर १२५८९४५६ र नागरिकता नम्वर ३०३०४२–२२५४ हो । जन्म मिति २०५३ भदौ ७ राखिएको छ । नागरिकता र राहदानीको नम्वर सँगै छ । उनिहरु दुबै जना नेपाली हैनन् । प्रहरीको रेकर्डमा भने दावा, सोनाम र रामको मात्रै नागरिकता फेला परेको छ । सिआईवीले गरेको अनुसन्धानमा पासाङ र तेन्जिङ थपिएका छन् । तेन्जिङको राहदानी नम्वर ११८८०३१ हो । २०२०–२–२४ अर्थात २०७६ फागुन १२ गते काभ्रेपलाञ्चोक जिल्लाबाट लिएको राहदानीमा २०३९ जेठ २४ गते जन्म मिति राखिएको छ । त्यसमा काभ्रेपलाञ्चोक जिल्ला जन्म स्थान उल्लेख गरिएको छ । अन्य ब्यक्तिहरु पनि विदेशी भएको आशंका गरिएको छ । 

को को कर्मचारी सलग्न थिए ? 
    तत्कालीन समयमा प्रमुख जिल्ला अधिकारीका रुपमा शिव सिंखडा कार्यरत थिए । उनको नेतृत्वमा कार्यरत तत्कालिन समयका अधिकृत भुपेन्द्र पाण्डेय हाल लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छन् । उनि अहिले उप सचिव छन् । अर्का अधिकृत झपेन्द्रराज खरेल थिए । उनकै हस्ताक्षरबाट निमा र पासाङका नाममा नागरिकता जारी भएको छ । खरेल हाल मेलम्ची नगरपालिकाको सूचना अधिकृत छन् । उनकै हस्ताक्षरमा अधिकांश नागरिकता जारी भएका छन् । 
    सोहि फाँटमा कार्यरत नायब सुब्बा रामचन्द्र अर्याल थिए । अनुसुची गायव बनाउँदै विदेशी र स्वदेशीहरुलाई नक्कली कागजात तयार गरी नागरिकता वितरणमा मुख्य भूमिका खेलेका थिए । उनि हाल काठमाडौ स्थित गुर्जाेधारा स्थित यातायात कार्यालयमा कार्यरत छन् । उनिहरुले सम्पन्न गरेको कार्य गर्ने कम्प्युटर अपरेटर हिराकाजी तामाङ थिए । उनि अस्थायी थिए । उनलाई एक पटक कारवाहीमा परेका थिए । जिल्ला प्रशासन कार्यालय काभ्रेमा रहँदा उनलाई कारवाही गरेर फेरी राजनीतिक संरक्षणमा कार्यरत थिए । पछि उनले लोकसेवा आयोगबाट नाम निकालेर मण्डनदेउपुर, तेमाल हुँदै हाल चौरीदेउराली गाउँपालिकाको वडा नम्वर १ को सचिवको जिम्मेवारीमा छन् । नागरिकता टाईप गर्ने र सेटिङ्ग मिलाउने अभियानमा उनि पनि संलग्न रहेको श्रोतको दाबी छ । मुद्दा शाखामा कार्यरत चिरञ्जीवी पोखरेल पनि संलग्न रहेको श्रोतले बताएको छ । 

यि कर्मचारी कार्यरत थिए 
प्रमुख जिल्ला अधिकारी– शिवप्रसाद सिंखडा (हालः सेवा निवृत)
अधिकृत – भुपेन्द्र पाण्डेय 
अधिकृत – झपेन्द्रराज खरेल 
नायव सुब्बा – रामचन्द्र अर्याल 
नायव सुब्बा– चिरञ्जीवी पोखरेल
कप्युटर अपरेटर – हिराकाजी तामाङ 

काभ्रेबाट नेपालीका नाममा नागरिकता र राहदानी लिएका विदेशी नागरिकहरु
१) दावा क्षिरिङ भनिने निमा तामाङ
२) पासाङ तामाङ
३) सोनाम लामा
४) तेन्जिङ गुरुङ 
५) राम लामा