बनेपा/बेलर इन्टरनेशनल एकेडेमी बनेपामा राष्ट्रिय सेवा दलको सिनियर डिभिजन तालिम सम्वन्धी अभिमुखिकरण सम्पन्न भएको छ । कालीजंग गणका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले राष्ट्रिय सेवा दलको तालिम र यसका उपलब्धीका बारेमा विद्यार्थीहरुलाई अभिमुखिकरण गराएका थिए ।
नेपाली सेनाको राष्ट्रिय सेवा दलले सिनियर डिभिजन तालिमका सन्दर्भमा अभिमुखिकरण गरी छनौट हुने छात्रछात्राहरुलाई बेलर इन्टरेनशल एकेडेमीमा नेपाली सेनाको कालीजंग गण धुलिखेलले अभिमुखिकरणमा सहभागि गराएको हो । यस अघि बेलर इन्टरनेशनल एकेडेमीका विद्यार्थीहरु शिक्षालयबाट सहभागि विद्यालयहरु मध्ये प्रथम भएको थियो । तालिममा प्रथम भएको विद्यालयका विद्यार्थीहरुलाई नेपाली सेनाले विभिन्न मुलुक पठाउने गरेको छ । बेलरका विद्यार्थीहरु श्रीलंकामा सहभागि भएका थिए । ‘बेलरले यस अघि प्राप्त गरेको तालिममा बालबालिकाहरु प्रथम भएका छन्’– विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भोला थापाले भने–‘प्रथम भएको विद्यालय र विद्यार्थीहरुको उत्कृष्टतालाई जोगाउँदै थप शशक्त रुपमा तालिममा सहभागि हुन अवसरसँगै चुनौती थपिएको छ ।’ विद्यालयमा तालिममा सहभागि हुनका लागि विद्यार्थीहरु तँछाडमछाड गरिरहेका छन् ।
राष्ट्रिय सेवा दलको तालिम पश्चात बालबालिकाहरु अनुशाशित, बफादारिता तथा इमान्दारिता, राष्ट्रिय एकताको भावना, नेतृत्व क्षमताको विकासका लागि थप सहज हुनेछन’–कालीजंग गणका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले भने–‘बालबालिकाहरुमा स्वयंसेवी भावनाको विकास हुनेछ । युवा वर्गमा क्षमता, दक्षता अभिभवृद्धीका तालिम फलदायी बन्नेछ ।’ ‘अनुशासन नै राष्ट्र सेवाको मुल जग हो’ भन्ने आर्दश वाक्य रहेको राष्ट्रिय सेवा दल नेपाल सरकारको नेतृत्वदायी भूमिका तथा नेपाली सेनाबाट निरन्तर भईरहेको सहयोग मार्फत देशका ७७ वटै जिल्लामा विस्तार भई अत्याधिक मागका बाबजुत ७ हजार ७ सय विद्यार्थीहरुलाई मात्र तालिम गराउँदै आएको छ । ७ वटा देशसँग रहेको मित्रराष्ट्र सम्वन्धका आधारमा युवा आदान प्रदान कार्यक्रम संचालन गरिरहेको छ ।
बालबालिकाहरुले तालिमको अवसरमा एरोविक्स, तेक्वान्दो, आईकिदो, विपद ब्यवस्थापनको परिचयसँगै उद्धार, विपद ब्यवस्थापनमा स्वयसेवकको भूमिका, साहसिक तालिम दिनेछ । युवावर्गमा ब्यक्तित्व विकास तथा क्षमता अभिबृद्धी गरी असल नागरिक बनाई राष्ट्र विकासमा सहयोग गर्ने तालिमको मुख्य उदेश्य रहेको छ । अभिमुखिकरण कार्यक्रममा विद्यालयकी प्रिन्सिपल इन्दु थापाले तालिमले विद्यार्थीहरुमा अनुशासनको विकास भई असल नागरिक बन्न सहयोग पुगेको बताईन् । नेपाल पत्रकार महासघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना तमासे नागरिक नभई स्वंयसेवी नागरिक बन्न तालिम महत्वपूर्ण हुने बताए ।
यो वर्षको तालिममा जिल्लाबाट ७ वटा विद्यालय सहभागि भएका छन् । एसओएस बालग्राम, डिभाईन लाईट स्कुल, पुण्य माध्यमिक विद्यालय, सञ्जीवनी माध्यमिक विद्यालय, सामुदायिक विद्यालयमा जुनियर डिभिजनको तालिम साउन १ गतेबाट शुरु भएको छ भने आर्दश विद्या मन्दिर र बेलर स्कुल बनेपामा सिनियर डिभिजनको तालिम भदौ १ गतेबाट शुरु हुनेछ । जुनियर डिभिजनमा कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरु सहभागि भएका छन् भने सिनियर डिभिजनमा कक्षा ११ र १२ का विद्यार्थी सहभागि भएका छन् । तालिममा प्रत्येक विद्यालय १८ जना छात्र र १८ छात्रा सहभागि भएका छन् । एक सय दिनको तालिम मध्ये ७९ दिन विद्यालयमै दिईने छ भने २१ दिनको तालिम ‘क्लोज क्याम्प’का रुपमा शिक्षालयमा हुनेछ ।





