बनेपा/गायन विधाका प्रतिभाहरू समेटिएको रियालिटी शो ‘मेरो भ्वाईस युनिभर्स’को प्रतिस्पर्धामा काभ्रेपलाञ्चोक जिल्ला स्थित पनौती नगरपालिका २ स्थित कुशादेवी २ का युवा शरद हुमागाई फाईनल चरणमा प्रवेश गरेका छन् । अन्तिम प्रतिस्पर्धीका रुपमा छनौट भएका शरदलाई जिल्लाबासीहरुले भब्य स्वागत गरेका छन् ।
‘जिल्लाबासीहरुले निरन्तर १२ औं चरण देखि अन्तिम चरणमा ल्याउन अथक मेहनत गर्नुभएको छ’–शरद हुमागाईले भने –‘अन्तिम चरणमा पाँच जना मध्ये सबैभन्दा कम उमेरको म नै हुँ । विगतमा जस्तै यो अन्तिम पटक मेरा लागि मन र मत दिएर सहयोग गर्न अनुरोध गर्दछु ।’ उनी शुक्रबार दिउँसो देखि सोमबार विहानसम्म जिल्लामा रहनेछन् । जिल्लामा रहँदा उनलाई जिल्ला समन्वय समिति, नागरिक समाज, राजनीतिक दल, स्थानीय तह, सांसदहरु तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुले अग्रिम बधाई तथा शुभकामना साथै मतदान गर्न अपिल गरिरहेका छन् । यो प्रतियोगितामा शरद जिल्लाबाट मात्रै नभई बागमती प्रदेशका एक्ला प्रतिस्पर्धी हुन् ।
एसईई दिनु केहि महिना अघि शरदका बाबु धुर्व्रको दुर्घटनामा निधन भयो । बुबाको निधन पछि शरदलाई संगितको तार छिने झै भयो । ‘बुबा बाँचिरहनु भएको भए संगितको औपचारिक कक्षा लिएर अघि बढ्छु भन्ने लागेको थियो उहाँको निधनले सपना सबै उडाई दियो’–शरदले भने–‘सानै देखि संगित गुनगुनाई रहँदा बुबाले हौसला र साथ दिईरहनु हुन्थ्यो । त्यहि साथ र प्रेरणाले मलाई यो स्थानमा ल्याएको छ ।’ बुबा धर्तिमा नरहे पनि संगितको माध्यमबाट उहाँसग झन नजिकै भइरहेको आभाष मिलेको शरदले बताए । शरदकी आमा विनिता हुमागाईले सानै देखि संगित प्रति रुची राखेको भए पनि कतै संगित सिक्न नपाएको छोरा शरदको प्रतिस्पर्धाले हौसला मिलेको बताईन् । बाबु नभए पनि उसको सपनालाई साकार बनाउन रातदिन मेहनत गरेर विद्यालय शिक्षा दिईरहेको विनिताले बताईन् ।
के हो मेरो भ्वाईस युनिभर्स ?
ईन्टरनेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाद्धारा आयोजित रियालिटी शोका लािग ५२ देशका प्रतिस्पर्धीहरुले सहभागिता जनाएका थिए । त्यस मध्येका २० वर्षिय शरद काभ्रेको पनौती स्थित कुशादेवीमा जन्मिएर सोहि स्थानमा रहेको लिलावती नेशनल एकेडेमीबाट औपचारिक शिक्षा प्रारम्भ गरेका थिए । कक्षा १० अध्ययन गर्दा गर्दै बाबु धुर्वप्रसाद हुमागाईको दुर्घटनामा निधन भएकाले उनको शिक्षाका लागि आमा विनिता र दुई दिदी बहिनीको संरक्षणबाट भएको थियो । निष्ट कलेज बनेपामा विसिए पाचौ सेमेस्टर अध्ययन गरिरहेका शरद विद्यालय र कलेजका उत्कृष्ट विद्यार्थी हुन् । गीत संगितमा अघि बढ्ने प्रेरणा भए पनि गीत संगित सम्वन्धी कक्षाहरु कहिल्यै लिने अवसर पाएका थिएनन् । ईन्टरनेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाद्धारा आयोजित मेरो भ्वाईस युनिभर्स कार्यक्रममा लागि शरद छनौट भएका थिए । निरन्तरको रियाजबाट शरद छनौट हुँदा हुँदै प्रतिस्पर्धाका अन्तिम प्रतिस्पर्धी भित्र पर्न सफल भएका छन् ।
बाल्यकालका अनुभव सम्झँदै शरदले भने–‘मसँग साधन थिएन । गुरु कोही थिएनन् । सिक्ने कक्षा पनि थिएन । तर पनि मेरो स्वरलाई साथी, विद्यालय र समुदायले प्रस्फुटन गराउँदै लगेका कारण यो प्रतिस्पर्धामा सहभागी हुने अवसर जुट्यो ।’ एसईई पछिका दुई वर्ष अन्धकारमा वितेको सम्झँदै शरदले भने–‘जतिसुकै कठिन परिस्थितीमा पनि संगितलाई छाड्न सकिन । संगितमा निराशालाई उत्साहमा बदल्ने तागत रहेछ । त्यही तागतले मलाई निरन्तर प्रेरित गरिरह्यो ।’ निष्ट कलेज बनेपामा आईटी विषयको अध्ययन गरिरहँदा आईटीको माध्यमबाट युनिभर्समा जोडिने अवसरलाई सदुपयोग गरेको उनले बताए । देश तथा परदेशमा रहेका प्रतिभाहरुलाई एउटै मञ्चमा समेट्नका साथै नेपाली भाषा, कला र संस्कृतिलाई विश्व सामु चिनाउने तथा विश्वभर छरिएर रहेका नेपालीहरुलाई समेट्ने गरी आयोजना गरिएको कार्यक्रम नेपाल टेलिभिजनबाट हरेक बुधबार र विहीबार प्रसारण हुँदै आएको छ ।
रियालिटी शोको अन्तिम घोषणा तथा प्रतिस्पर्धा भाद्र २ गते शनिबार हुँदैछ । पुरस्कार राशी नेपालमा सञ्चालित शो मध्येकै सर्वाधिक हो । प्रतियोगितामा प्रथम पुरस्कार १ करोड, द्धितीय पुरस्कार ३० लाख र तृतीय पुरस्कार २० लाख नेपाली रुपैयाँ रहेको छ । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले आयोजना गरेको विश्वकै सबैभन्दा ठुलो धनराशी रहेको रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’को निर्णायकमा दीप श्रेष्ठसँगै पुष्पन प्रधान, शिव परियार, संगीतकार सुरेश अधिकारी, गायिकाद्धय अन्जु पन्त र सुजता बर्मा रहनु भएको छ । कार्यक्रमलाई हाँस्य कलाकार सन्दीप क्षेत्रीले रीमा विश्वकर्मासँग मिलेर होस्ट गरेका छन् ।
यसरी गर्न सकिन्छ शरदलाई भोट
शरदलाई मतदान मार्फत उपाधी जिताउन 'MyIntra App' डाउनलोड गरेर वा तलको लिंकमा गएर क्लिक गरेर भोट गर्न सकिन्छ । https://merovoice.myintraapp.com कुनै पनि उपलब्ध माध्यमहरु मार्फत शरदलाई भोट गर्न सकिन्छ ।





