रविगाउँ/सामुदायीक वन दिवसको सन्दर्भमा नेकपा एमालेको केन्द्रिय बन तथा वातावरण विभागले काभ्रेको धुलिखेल नगरपालिका वडा नम्वर २ स्थित अल्छेचौर सामुदायिक वनमा बृक्षारोपण गरेको छ । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र उनको धर्मपत्नी राधिका शाक्यले वर र पिपलको विरुवा रोपण गरेर अभियानको शुरुवात गरेका थिए ।
‘सामुदायिक वनको संरक्षण सँगै त्यसबाट उत्पादन र आय–आर्जन गरिनु पर्छ’–अध्यक्ष ओलीले भने–‘बैज्ञानिक वन ब्यवस्थापनका नाममा सालको घारी फडानी कार्य गलत छ ।’ नेपाल अन्य देशको तुलनामा वन र वातावरणको क्षेत्रबाट अघि बढिरहेको बताउँदै अध्यक्ष ओलीले नेपालले बाघ संरक्षणमा उल्लेख्य सफलता हासिल गरेको बताए । वनलाई वनकै रुपमा विकास गर्न सामुदायिक वनको भूमिका महत्वपूर्ण भएको बताउँदै अध्यक्ष ओलीले वनको संरक्षणसँगै सहि रुपमा उपभोग गर्न अनुराधे गरे । कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश इन्चार्ज गुरु बरालले नेकपा एमालेले देशभर नै सामुदायिक तथा नीजि वन र सरकारी वनलाई समेत आय आर्जनका रुपमा विकास गरी उत्पादनमा जोड्न अभियान शुरु गरिएको बताए । पार्टीको वन तथा वातावरण विभागले देशभर यो अभियान शुरु गर्ने गरी पहिलो पटक काभ्रेको धुलिखेलबाट कार्यक्रम प्रारम्भ गरिएको स्थायी कमिटी सदस्य बरालले बताए ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री गोकुल बास्कोटाले सामुदायिक वन मानव, बन्यजन्तु र पथ्विसँग जोडिएकाले यसको संरक्षण गर्नु जरुरी भएको बताए । ब्यक्तिको जीवनसँग वनको प्रत्यक्ष सम्बन्ध रहेकाले वनको संरक्षण तथा सम्बद्र्धनसँगै आय–आर्जनसँग जोड्ने अभियान एमालेले शुरु गरेको बास्कोटाले बताए । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकामा मात्रै पाँच वर्षमा ५ लाख विरुवा रोपण गर्ने कार्य अन्र्तगत यो वर्ष ५० हजार विरुवा विभिन्न संस्थासँगको समन्वयमा रोपण गरिसकिएको बताए । धुलिखेल ग्रिन, क्लिन, हेल्थिसिटीको अवधारणा अनुरुप कार्य गरिरहेको नगर प्रमुख एवं पार्टी अध्यक्ष अशोक ब्याञ्जुले बताए ।
नेकपा एमाले केन्द्रीय वन तथा वातावरण विभाग प्रमुख भारती पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धुलिखेल नगरपालिका वडा नम्वर २ रवी अल्छेचौर सामुदायिक वनमा विभिन्न जातका फलफुलका विरुवा रोपण गरिएको छ । स्थानीय सामुदायिक वन उभोक्ता समुह, वडा कार्यालय, एमाले वडा तथा नगर र जिल्ला कमिटी, डिभिजन वन कार्यालय काभ्रे तथा विभिन्न निकायको समन्वयमा वातावरण अनुकुलन फलफुलका प्रजातिहरु लगाईएको वडा अध्यक्ष अर्जुन न्यौपानेले बताए । एमाले अध्यक्ष ओलीले २०७४ सालमा निर्वाचित वडा अध्यक्ष राजन कोईरालाको स्मृतिमा तयार गरिएको शालिक अनावरण गरेका थिए । कोईरालाको हत्या भएको लामो समयसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । अध्यक्ष भारती पाठकले विभागले देशभरका जिल्लामा सामुदायिक वनलाई उत्पादन र आयआर्जनसँगै रोजगारमा जोड्ने अभियान स्वरुव फलफुलका विरुवा रोपण गर्न लागिएको बताईन् ।





