2026 August 26/ 03:44: 36pm

    धुलिखेल/२०८० साउन २ गते राजस्व अनुसन्धान विभागले पक्राउ गरेको सुन तस्करीको छानबिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गरिरहेको छ । तर पनि अझै मुख्य गिरोह र त्यसका मालिकका बारेमा अनुसन्धान टुङ्गोमा पुग्न सकेको छैन । 
    राजस्व अनुसन्धान विभागले दुई साता लामो अनुसन्धान पछि एक क्विन्टल सुन तस्करी प्रकरणमा अन्तरदेशीय अपराध जोडिएको भन्दै थप अनुसन्धानको जिम्मा प्रहरीलाई लगाएको थियो । त्यसपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले यस प्रकरणको जालोको खोजी जारी राखेको छ । सीआइबीले एक महिना भित्र अनुसन्धान सकेर अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्नेछ । तर यसको उच्चस्तरीय छानबिनको माग राजनीतिक वृत्तमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गरिरहेको छ । तर सरकारले सीआईबीले अनुसन्धान पूरा गर्ने र त्यसपछि पनि चित्त नबुझे संसदीय समिति बनाउन सकिने बताएको छ । सरकार र विपक्षी दलहरु बीचको विवादका कारण सुन तस्करको जालो उम्कने खतरा बढेको छ । 
    यो प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन् । त्यसमध्ये एक जना चिनियाँ र दुई चिनियाँ मूलका अन्य देशका नागरिक छन् । उनीहरुसँग सुन तस्करको संयन्त्र जोडिएको देखिएको छ । प्रकरणका मुख्य पात्रका रुपमा अहिलेसम्म तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ रहेको देखिएका छन् । उनी १७ वर्षअघि पनि नेपालमा पक्राउ परेको तथ्य फेला परेको छ । प्रहरी प्रधान कार्यालयको अभिलेखमा दावा २०६३ साल मंसिर २४ गते बौद्धबाट पक्राउ परेका थिए । ०६३ सालमा उनीविरुद्ध सार्वजनिक अपराधमा मुद्दा चलाइएको थियो । प्रहरी प्रवक्ता कुबेर कडायतका अनुसार उनलाई बौद्धबाट पक्राउ गरी मुद्दा चलाएको अभिलेख फेला परेको हो । त्यतिबेला तिब्बती चिनियाँ भनेर मुद्दा चलाइएका दावालाई के–कस्तो सजाय भयो भन्ने विस्तृत अभिलेख फेला परेको छैन । त्यसपछि उनी दोस्रो पटक २०७६ मा पक्राउ परेका थिए । त्यस अगाडी नै उनले २०७४ मा नेपाली नागरिकता र राहदानी किर्ते कागजात पेश गरेर लिएका थिए । त्यसमा उनलाई कारवाही गरिएको थिएन । अहिलेसम्म पनि उनको नागरिकता रद्द भएको छैन । 
    उनी २०७६ मा अनलाइन ग्याम्ब्लिङ, म्याच फिक्सिङ र अश्लिल भिडिओ देखाएर चिनियाँ नागरिकलाई ठगी गरेको आरोपमा पक्राउ परेका थिए । त्यसबेला उनी सहित १२२ जना चिनियाँ नागरिक पक्राउ परेका थिए । उनीहरुलाई पक्राउ गर्न नेपालस्थित चिनियाँ दूतावासले सूचना दिएको थियो । तर लामो समयदेखि नेपालमै रहेका दावाले अन्य चिनियाँ अपराधीहरुलाई पनि सहयोग गर्ने गरेको प्रहरी अधिकारीहरु बताउँछन् । २०८० साउन २ गते विमानस्थल बाहिरबाट बरामद गरेको करिब एक क्विन्टल सुन प्रकरणमा दावाको पनि संलग्नता देखिए पछि उनलाई ठमेलको होटल भियनाबाट पक्राउ गरेको थियो । उनको सम्वन्ध माओवादी नेताहरु वर्षमान पुन लगायतसँग जोडिएको थियो । अहिले उनीमाथी अनुसन्धान जारी छ । उनको पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन र उनका छोरा दिपेश पुन, माओवादी नेता वर्षमान पुन र पत्नी ओनसरी घर्ती लगायतसँग राजनीतिक सम्वन्ध पनि देखिएको छ । यधपी उनीहरले दावाले रोल्पाकी अमलासँग विवाह गरेको र त्यही कारण मात्र भेटघाट भएको प्रष्टिकरण माओवादी नेताहरुको छ ।
    यही प्रकरणमा पक्राउ परेका थुप्तेन छिरिङ पनि यस अगाडी पक्राउ परेर नेपालको अध्यागमनले ५ वर्षका लागि देश निकाला गरेका ब्यक्तिसम्म रहेको खुलेको छ । उनी यस अगाडी खाग तस्करीको आरोपमा पक्राउ परेका थिए । चिनियाँ मूलका छिरिङ २०६७ साल पुस १९ गते गैंडाको खाग तस्करीको आरोपमा पक्राउ परेका थिए । बर्दिया राष्ट्रिय निकुञ्जले चलाएको मुद्दामा थुप्तेनलाई १० वर्ष कैद र १ लाख जरिवाना तोकिएको थियो । उनलाई २०७१ साल चैत १६ गते केन्द्रीय कारागारमा ल्याइएको थियो । थुप्तेनको स्वभाव सहज नदेखिएपछि २०७२ असोज १९ मा उनलाई नख्खु कारागार सरुवा गरिएको थियो । थुप्तेनले सर्वोच्चमा पुनरावेदन गरेका थिए । सर्वोच्चले उनको कैद सजाय ७ वर्षमा झारेपछि २०७४ साल वैशाख १९ गते रिहा भए । त्यसपछि अध्यागमन कार्यालयले उनलाई पाँच वर्षको प्रतिबन्ध लगाएर देश निकाला गरेको थियो । तर नेपाली भाषामा दख्खल रहेका थुप्तेनको अहिले सुन तस्करीको मुख्य आरोपितका रुपमा नाम जोडिएको छ । थुप्तेन र दावा दुवै यस अगाडी पनि नेपालमा अपराधिक क्रियाकलापमा पक्राउ परेका र अहिले सुन तस्करी प्रकरणमा सँगै जोडिएपछि यी दुईका नेक्ससका बारेमा प्रहरीले अहिले अनुसन्धान जारी राखेको छ ।
दावाले कसरी लिए नागरिकता ? 
    एक क्विन्टल सुन तस्करीमा संलग्न दावा छिरिङ भनिने निमा तामाङले झुटो विवरण पेश गरेर लिएको नागरिकताका सन्दर्भमा २०७८ साल देखि शुरु भएको छानविन अझै सकिएको छैन । गृह मन्त्रालयले पछिल्लो पटक गठन गरेको छानविन समितिले पनि अनुसन्धान टुङ्गो लगाउन सकेको छैन । ‘सोमबार नागरिकताका बारेमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी ढुण्डीराज न्यौपाने र जिल्ला प्रशासन कार्यालय काभ्रेका अधिकृत मनराज थापाको टोली वडा कार्यालय आएको थियो’– नमोबुद्ध नगरपालिका वडा नम्वर ११ का अध्यक्ष कृष्ण लामाले भने–‘उहाँहरुले दावा भनिने निमा, निमाका बाबु भनिने पेमा तामाङका बारेमा बुझ्नु भयो । नागरिकताका लागि सिफारिस दिएको विषयमा जानकारी लिनु भयो । स्थानीय हो वा होईन ? बसाई सरेका हुन् वा होईन् ?’ मुचुल्का सहित फर्कनु भयो ।’ २०७८ चैत्र २० गते श्यामपाटी प्रहरी चौकीले गरेको मुचुल्कामा समेत कैफियत देखिएको छ । जिल्लामा पठाइको संचार क्रम संख्या १०४ मा श्यामपाटी प्रहरी चौकीको रेकर्डमा अर्काे पत्र देखिन्छ । तर जिल्ला प्रहरी कार्यालय काभ्रेलाई पठाईएको उक्त मितिको सोहि नम्वरको पत्रमा स्थानीयहरुले गरेको मुचुल्काको विवरण भरिएको छ । उक्त मुचुल्का समेत चौकीमा छैन । प्रहरी हवल्दारले गरेको मुचुल्काको हवालाको पत्रमा झुटो विवरण राखेको खुलेको छ । टोलीले उक्त विषयमा समेत अनुसन्धान शुरु गरेको छ । 
    दावा भनिने निमाको नागरिकताको अभिलेखमा अनुसुची गायब बनाईएको भए पनि त्यहाँ उल्लेख भएको विवरणमा गिरोहले वडा नम्वर ११ को अध्यक्ष नै तत्कालिन समयमा वडा नम्वर ४ मा कार्यरत वडा सचिव सरस्वती पण्डित कार्कीको नाम राखेको देखिन्छ । उहाँलाई समेत यो विषयमा कुनै जानकारी छैन । ‘अध्यक्ष हुँदा हुँदै वडा सचिवले नागरिकताका लागि सहि गर्न मिल्दै मिल्दैन अझ वडा अध्यक्ष नै बनाएर गरिएको सिफारिस त सरासर झुटो हो’–वडा अध्यक्ष लामाले भने–‘वडा नम्वर ११ मा २०६६ साल देखि निरन्तर शंकरप्रसाद भट्टराई सचिव छन् ।’ अर्काे वडाको सचिवलाई वडा अध्यक्ष बनाएर अनुसुची भरेको नागरिकता २०७४ पुष २० मा जारी भएको छ । जुन वंशजका आधारमा लिईएको हो । बाबु बनेका पेमा तामाङ को हुन् ? उनको नागरिकताको प्रतिलिपी र फोटोकपी समेत कतै उपलब्ध छैन । सनाखत गर्ने ब्यक्ति निमाका आफन्त हुन् ? बास्तविक पेमा हुन् वा नाम मात्रै हो ? कर्मचारी संलग्नताका बारेमा पनि अनुसन्धान हुन सकेको छैन । तत्कालीन समयमा प्रमुख जिल्ला अधिकारी शिव सिंखडा थिए भने अधिकृत झपेन्द्रराज खरेलले हस्ताक्षर गरेका थिए । सुब्बा रामचन्द्र अर्याल नागरिकता फाँटका हर्ताकर्ता थिए । अहिले गुर्जाेधार स्थित यातायात कार्यालयमा कार्यरत छन् । उनकै अगुवाईमा ३ सय ५० वटा नागरिकता विक्री भएको खुलासा भएको छ । 
    राजनीतिक संरक्षणको आडमा उनि माथी अनुसन्धान शुरु हुन सकेको छैन । ९८५११९८४२४ नम्वर सम्र्पक नहुने बनाएर राखेका अर्याललाई जिल्ला प्रशासन कार्यालय काभ्रेबाट रमाना दिने समयमा हराएका अनुसुची उपलब्ध गराउने कागजमा हस्ताक्षर गराईएको थियो । ‘अनुसन्धान नसकुन्जेल गृह मन्त्रालयको अभिलेखबाट नागरिकता खारेज गर्न मिल्दैन’–जिल्ला प्रशासन कार्यालयका एक अधिकृतले भने–‘दावा भनिने निमाको सन्र्दभमा २०७८ साउन देखि अध्यागमन लगायतका निकायले अनुसन्धान गरेका छन् । नागरिकता नक्कली भन्ने पनि जानकारीमा छ । तर पनि नागरिकता खारेज हुँदैन ।’ अन्य सर्वसाधारणको हकमा गलत विवरण दिएर नागरिकता जारी भएको सूचना प्राप्त भए लगत्तै प्रमुख जिल्ला अधिकारीले अनुसन्धान गर्न प्रहरी कार्यालयलाई पठाउँदै नागरिकता रद्द गर्ने निर्णय गरिसकेका हुन्थे । निमाका सन्र्दभमा पटक पटक अनुसन्धानका लागि पत्र आए, प्रहरीले समेत जानकारी उपलब्ध गरायो तर नागरिकता खारेजीको प्रकृया नै शुरु हुन सकेन । सुन तस्करी प्रकरणमा पक्राउ परेको एक महिना लामो अवधी भईसक्दा समेत नागरिकता रद्दको प्रकृया शुरु भएको छैन । पुनः गृह मन्त्रालयले निमा सहित ३ सय ५० जनाको अनुसुचीका बारेमा छानविन गर्न उप सचिव नागरिकता महाशाखाका प्रमुख कृष्णबहादुर कटुवालको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । ७ दिनको म्याद दिएको समितिले अझै अनुसन्धान सकेको छैन । 

दावा छिरिङ (तिब्बती मूलका बेल्जियन नागरिक)
– २०६३ साल मंसिर २४ गते बौद्धबाट पक्राउ
(तिब्बती चिनियाँ भनेर मुद्दा चलाइएको रेकर्ड)
– सार्वजनिक अपराधमा मुद्दा
– २०७४ पुस २० गते निमा तामाङका नाममा किर्ते गरी नेपाली नागरिकता र माघमा राहदानी लिएको रेकर्ड (नागरिकता लिँदा प्रयोग गरिएका सबै कागजात नक्कली । अनुसुची पनि गायब ।)
– २०७६ सालमा फेरि पक्राउ 
(अनलाइन ग्याम्ब्लिङ, म्याच फिक्सिङ र अश्लिल भिडिओ देखाएर ठगी गरेको आरोप) तर केही समयमै रिहा
– २०८० साउन ठमेलको होटल भियनाबाट तेस्रो पटक पक्राउ
(सय क्विन्टल सुन प्रकरणमा आरोपित)

थुप्तेन छिरिङ (चिनियाँ मूलका भारतीय नागरिक)
– २०६७ साल पुस १९ पक्राउ
(गैंडाको खाग तस्करीको आरोप)
– १० वर्ष कैद र १ लाख जरिवाना
– २०७१ साल चैत १६ गते केन्द्रीय कारागार सरुवा
– २०७२ असोज १९ मा नख्खु कारागार सरुवा
– सर्वोच्चमा पुनरावेदन, कैद सजाय ७ वर्षमा झार्ने फैसला
– २०७४ साल वैशाख १९ गते रिहा
– अध्यागमन कार्यालयले पाँच वर्ष प्रतिबन्ध लगाएर देश निकाला
– सय क्विन्टल सुन प्रकरणमा फेरि पक्राउ