2026 August 26/ 03:45: 36pm

– २० वर्ष भन्दा कम उमेरका ३ सय ३०

मोतीराम तिमल्सिना
बनेपा

    ईलाका प्रहरी कार्यालय बनेपामा २०८० साउन तेश्रो साता कक्षा १० मा अध्ययनरत १७ बर्षिया बालिकाको हाडनाता करणीका कारण दुई महिनाको गर्भ रहेको जाहेरी दर्ता भयो । प्रहरीले तत्कालै आरोपित ब्यक्तिलाई पक्राउ गरी अनुसन्धान शुरु ग¥यो । अदालतको आदेश मार्फत दुई महिनाको गर्भलाई सुरक्षित रुपमा पतन गरायो । 
    काभ्रेपलाञ्चोक जिल्लामा तीन वर्षको अवधीमा ४ हजार १ सय ९० वटा गर्भ सुरक्षित रुपमा पतन गराएको रेकर्ड सार्वजनिक गरिएको छ । सुरक्षित गर्भपतन गराउनेहरुको संख्या स्थानीय पालिकाहरुले उपलब्ध गराएको विवरणका आधारमा स्वास्थ्य कार्यालय काभ्रेले तयार पारेको हो । यो तथ्याङ्कमा जिल्लामा २० वर्ष भन्दा कम उमेर समुहका ३ सय ३० जनाको गर्भपतन भएको तथ्याङ्कले देखाउँछ । त्यसमा बालिकाहरुको संख्या पनि छ । विद्यालय उमेरमा आफै विवाह गरेर गएका तथा आफुखुशी असुरक्षित सम्वन्ध राखेका बालिकाहरुले घर परिवारको जानकारी विना पटक पटक गर्भपतन गराउँदै आएका छन् । केहिले सुरक्षित रुपमा गर्भपतन गराएका छन् भने केहिले असुरक्षित रुपमा समय भन्दा धेरै अवधीमा पनि गर्भपतन गराउने गरेका छन् । त्यस्तो अवस्थामा समाज तथा आफन्तको डरका कारण धेरै रकम खर्च गरेर भए पनि गर्भपतन गराउन चाहने र त्यहि संकटमा निजी संस्थाहरुले गर्भपतन गराईदिने गरेको श्रोतले जानकारी दिएको छ । त्यसरी गर्भपतन गराएका बालिकाहरुमा पछि समस्या हुन सक्ने चिकित्सकहरुको भनाई छ । 
    तथ्याङ्कमा नभएका गर्भहरु त्यतिकै संख्यामा पतन हुने गरेको श्रोतले बताएका छन् । विशेषगरी नीजि क्षेत्रबाट संचालन भएका केहि संस्थाहरुमा अबैद्यानिक रुपमा गर्भपतन हुने गरेको छ । आर्थिक वर्ष २०७९÷०८० मा १ हजार ३ सय १७ जनाले सुरक्षित रुपमा गर्भपतन गराएका छन् भने अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ मा १ हजार ६ सय १२ जनाले गर्भपतन गराए । यो तुलनामा पछिल्लो वर्ष गर्भपतन गराउनेहरुको संख्या ३ सयले कम हो । आर्थिक वर्ष २०७७÷०७८ मा यो संख्या १ हजार २ सय ६१ थियो । तीन वर्षको तुलनामा गर्भपतन गराउनेहरुको संख्यामा कमि नभई बृद्धि भएको हो । 
    गर्भपतन सर्जिकल र मेडिकलको माध्यमबाट हुने गरेको छ । सरकारले कानून अनुसार गर्भपतन गराउन अनुमति दिएका संस्था र ब्यक्तिहरु मार्फत अनिच्छाको गर्भपतन गराउन पाउनेछन् । मेडिकल विधीबाट २० वर्ष भन्दा कम उमेरका २ सय ९० जनाले गर्भपतन गराएका छन् भने २० वर्ष भन्दा माथि उमेर समुहका ३ हजार १ सय ९५ जनाले मेडिकल विधीबाट गर्भपतन गराएका छन् । सर्जिकल माध्यमाबाट गर्भपतन गराउने २० वर्ष उमेर समुह भन्दा कमका ४० जना छन् । २० वर्ष भन्दा माथीका ६ सय ६५ जना छन् । जिल्लामा २३ वटा संस्थाले गर्भपतन गराउने अनुमति पाएका छन् । अनुमति पाएका मध्ये मेरि स्टोप्स बनेपा एक वर्ष देखि बन्द छ । उसले दातृ संस्थाको सहयोग प्राप्त नभए पछि सेवा बन्द गरेको हो । साठ्ठीघर भगवती स्वास्थ्य केन्द्रले पनि एक वर्ष देखि सेवा उपलब्ध गराएको छैन । अनुमति आएका अन्य केहि संस्थाले पनि प्राविधिक जनशक्ति तथा अन्य कारण देखाउँदै सेवा शुरु गरेका छैनन् । 
    जिल्लामा सबैभन्दा धेरै गर्भपतन गराउने संस्थाहरु मध्ये बनेपा, धुलिखेल र पनौती हो । बनेपामा सत्य साई अस्पतालमा एक वर्षमै २ सय ७२ जनाले गर्भपतन गराएका छन् । उक्त अस्पतालमा सोहि वर्षमा २० वर्ष भन्दा कम उमेर समुहका छैनन् । सत्यसाई पछि धेरै गर्भपतन धुलिखेलमा प्राथमिक स्वास्थ्य केन्द्रमा भएको छ । एक वर्षमा १ सय ७७ जनाले गर्भपतन गरेका छन् । जसमा ५ जना २० वर्ष भन्दा कम उमेर समुहका छन् । बनेपामा रहेको परिवार नियोजन संघमा पनि एक वर्षको अवधीमा १ सय ५० जनाले गर्भपतन गराएका छन् । जसमा ५ जना २० वर्ष भन्दा कम उमेर समुहका छन् । स्वास्थ्य संस्थामा २० वर्ष भन्दा कम उमेरमा तीन पटकसम्म गर्भपतन गराउन आउनेहरु पनि छन् । परिवार नियोजनका अस्थायी साधनहरु प्रयोग नगर्ने अनि गर्भ रहेको थाहा पाए लगत्तै आउनेहरुको संख्या पनि धेरै छ । सुरक्षित गर्भपतन गराउँदा पनि महिलाहरुको स्वास्थ्यमा समस्या देखिएको छ भने असुरक्षित गर्भपतन गराउनेहरुको झनै समस्या देखिने गरेको छ । बच्चा जन्माउने अवस्थामा त्यसका असरहरु देखिने धुलिखेल अस्पतालमा कार्यरत बरिष्ठ स्त्रीरोग विशेषज्ञ प्रा.डा सुमन ताम्राकारले बताउनु भयो । 

काभ्रेमा गर्भपतन गराउने अनुमति प्राप्त स्वास्थ्य संस्थाहरु
१) कुशादेवी स्वास्थ्य चौकी
२) पनौती स्वास्थ्य चौकी 
३) भैरव अस्पताल– पनौती
४) भुम्लुटार स्वास्थ्य चौकी 
५) दाप्चा छत्रेबाँझ स्वास्थ्य चौकी
६) धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र
७) धुलिखेल हेल्थ सेन्टर
८) धुशेनी शिवालय आधारभुत अस्पताल
९) परिवार नियोजन संघ, पाँचखाल
१०) परिवार नियोजन संघ, बनेपा
११) आईसिडी नेपाल, बनेपा
१२) खोपासी प्राथमिक स्वास्थ्य केन्द्र
१३) मंगलटार स्वास्थ्य चौकी
१४) मेरि स्टोप्स बनेपा
१५) मेथिन्कोट अस्पताल
१६) पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र
१७) समाज सेवा समुह
१८) साठ्ठीघर भगवती स्वास्थ्य चौकी
१९) सत्य साई अस्पताल
२०) श्रीखण्डपुर स्वास्थ्य चौकी
२१) सुन्थान स्वास्थ्य चौकी
२२) ताल्ढुङ्गा स्वास्थ्य चौकी
२३) वि ओमेन बनेपा