2026 August 25/ 12:58: 55pm

– निःशुल्क शिविरमा नागरिकको उत्साह
    धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्वर ४ बखुण्डोल आधारभुत स्वास्थ्य केन्द्रमा रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपाको प्राविधिक सहयोगमा एक दिने आँखा शिविर आयोजना गरिएको छ । नगर भित्र रहेका १२ वटा वडाका १५ वटा स्वास्थ्य संस्था मध्ये बार्षिक रुपमा धेरै सेवाग्राहिहरुलाई गुणस्तरीय सेवा प्रदान गरेको बखुण्डोल स्वास्थ्य संस्था जिल्लाकै नमुना बनेको छ । 
    ‘९२ प्रकारका औषधी सेवाग्राहिहरुलाई निशुल्क वितरण गरिरहेका छौं’–बखुण्डोल स्वास्थ्य संस्था प्रमुख हेमा संग्रौलाले भनिन–‘एक वर्षको अवधीमा ६ हजार ३ सय ९९ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।’ नजिकै धुलिखेल अस्पताल तथा केहि नीजि क्लिनिकहरु पनि छन् । तर पनि नागरिकहरु गुणस्तरीय र निशुल्क सेवा उपलब्ध गराएका कारण स्वास्थ्य संस्थामा आउने गरेको संग्रौलाले बताईन् । एक वर्षको अवधीमा स्वास्थ्य संस्थाबाट ५ हजार १ सय ९० जनाले ओपीडी सेवा लिएका छन् । खोप सेवा २ सय ७१ जनाले लिए भने परिवार नियोजन सेवा ६४ जनाले लिएका छन् । सुरक्षित मातृत्व सम्वन्धी सेवा ९९ जनाले लिएका छन् । खकार संकलन ३ सय ७८ जनाको गराई परिक्षण गराईएको छ भने क्षयरोग भएका ५ जना विरामीलाई सेवा उपलब्ध गराईएको छ । भिटामिन ए ८ सय ३ जनाले सेवन गरेका छन् भने पोषण कार्यक्रममा २ सय ७ जना बाललिका सहभागि भए । 
    हरेक वर्ष नागरिकहरुलाई स्वस्थ राख्न विभिन्न प्रकारका शिविर आयोजना गरिरहेको बखुण्डोल आधारभुत स्वास्थ्य संस्थाले ४० वर्ष कटेका नागरिकहरुमा हुन सक्ने आँखाको रोगलाई पहिचान, परिक्षण र उपचार गर्ने उदेश्य अनुरुप शिविर राखिएको वडा अध्यक्ष उत्तम तिमल्सिनाले बताए । हरेक नागरिकहरुलाई स्वस्थ राख्न वडा कार्यालय र बखुण्डोल आधारभुत स्वास्थ्य संस्था मार्फत निशुल्क शिविरहरुको आयोजना गरिएको बताए । कार्यक्रममा धुलिखेल नगरपालिका आधारभुत स्वास्थ्य तथा सरसफाई शाखाका प्रमुख सन्दिप केसीले स्वस्थ शहर धुलिखेल नगर बनाउने अभियानमा शिविर महत्वपूर्ण हुने बताए । गत वर्ष एक हजार भन्दा धेरै नागरिकहरुको आँखा परिक्षण गरिएकोमा यो वर्ष पनि १२ वटै वडामा शिविर आयोजना गरी एक हजार भन्दा धेरै नागरिकहरुको आँखा परिक्षण गर्न लागिएको उनले बताए । शिविरमा मोतियाविन्दुको अप्रेसन गर्नु पर्ने विरामीहरुको हकमा स्वास्थ्य विमा भएकाहरुको त्यहि अन्र्तगत र नभएकाहरुलाई अस्पतालको तर्फबाट ५० प्रतिशत सहुलियत उपलब्ध गराईएको छ । अस्पतालसम्म जान आउनका लागि नगरपालिकाले निशुल्क सवारी साधन उपलब्ध गराएको छ । 
    स्वास्थ्य शाखाका सरोज थापाले नगरपालिकाले लिएको नागरिकहरु स्वस्थ राख्ने अभियानलाई शिविरले थप मद्दत पुग्ने बताए । धुलिखेललाई स्वस्थ शहर बनाउने अभियानमा हरेक नागरिक स्वस्थ रहनु पर्छ भन्ने उदेश्य स्वरुप शिविर आयोजना गरिएको उनले बताए । कार्यक्रममा आँखा अस्पतालमा कार्यरत दृष्टि विशेषज्ञ सिमा गैरेले रोगको पहिचान, परिक्षण र उपचार महत्वपूर्ण हुने बताईन् । ४० वर्ष कटेपछि ब्यक्तिमा देखिने विभिन्न प्रकृतिका रोगहरुमा आँखा महत्वपूर्ण हुने भएकाले त्यसको हेरचाहमा ध्यान दिनु पर्ने उनले बताईन् । कार्यक्रममा आधारभुत स्वास्थ्य शाखा प्रमुख हेमा संग्रौलाले आम नागरिकहरु सेवाका लागि स्वास्थ्य संस्थामा आएर अझै गुणस्तरीय सेवाका लागि सुझाव दिन अनुरोध गरिन् ।