2026 August 25/ 12:58: 52pm

– काभ्रेमा १२७४ वटा पशु मरे 

जिल्लामा आईतबार साँझसम्म १२७४ वटा पुश मध्ये ४ वटा भैसी, ९ सय ३२ वटा गाई, १ सय ५५ वटा गोरु र १ सय ८७ वटा बाच्छा बाच्छी मरेका छन् । नमोबुद्ध नगरपालिकामा मात्रै ४ वटा भैंसी मरेका हुन् । बनेपामा सबै भन्दा धेरै ३३६ वटा गाई मरेका छन् । 

    धुलिखेल/दैनिक पशुहरु मर्न थाले पछि धुलिखेल नगरपालिका वडा नम्वर २ ले कृषकहरुलाई गाई र बाछा बाछीका लागि अलग अलग राहात दिने निर्णय गरेको छ । हजारौ पशुको निधन हुँदासम्म तीन तहकै सरकार चुँ सम्म बोल्न सकेका छैनन । कृषकहरु लाखौको पशु मर्दा पुर्पुरोमा हात राखेर बस्न बाध्य छन् । 
    ‘काभ्रेपलाञ्चोक जिल्लामा २०८० बैशाखमा पहिलो पटक धुलिखेल वडा नम्वर २ बाटै लम्पी स्किन रोग देखा परेको तथ्याङ्कले देखायो । शुरुबाट अहिलेसम्म ६५ वटा गाई मरिसकेका छन्’–वडा अध्यक्ष अर्जुन न्यौपानेले भने–‘कृषकका लाखौ रुपैया पर्ने गाई मर्दा घर दैलोको वडा सरकार टुलुटुलु हेरेर बस्न सकेन । गाई तथा भैसी मरेकोलाई प्रति गोटा १० हजार र ४ महिना कटेको कोरली बाच्छी, पाडा तथा पाडी मरेको अवस्थमा ५ हजार रुपैया उपलब्ध गराउने निर्णय गरेका छौ ।’ वडा कार्यालयले २०८०/२०८१ को विपत कोष तथा वडा स्तरीय पशु सेवा कार्यक्रमबाट भुक्तानी हुने गरी उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो । विरामी गाईहरुको हकमा ५० प्रतिशत औषधीमा अनुदान उपलब्ध गराउँदै आएको अध्यक्ष न्यौपानेले बताए । वडामा कार्यपालिका सदस्य सिता पराजुली, सुजिता बराल, सुवलाल तामाङ, सुर्यप्रसाद ढुंगाना सदस्य रहेका छन् । वडा सचिव प्रतिमा कटवालले निर्णयका बारेमा जानकारी दिदै पीडित कृषकहरुलाई आवश्यक कागजात सहित वडा कार्यालयमा निवेदन दिन आब्हान गरेको बताईन् । उक्त वडामा हालसम्म ६५ वटा पशु मरिसकेका छन् ।