2026 August 25/ 12:58: 50pm

– आजबाट खोप सप्ताह
    धुलिखेल/जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले लम्पिस्किन रोगका कारण संक्रमण भएका, मृत्यु भएका र संक्रमणबाट जोगिएका पशुहरुका सन्र्दभमा सरोकारवालाहरुसँग छलफल गरी आवश्यक तयारीलाई तिब्र बनाउन समन्वयका लागि अनुरोध गरेको छ ।
    ‘रोग देख्ने वित्तिक्कै बथानबाट पशुलाई अलग राख्न, संक्रमण लागेको वा संक्रमणको शंका लागेमा चिकित्सकसँग परामर्श गर्ने, रोग लाग्न नदिन अपनाउनु पर्ने उपायहरुमा ध्यान दिन कृषकहरुलाई अनुरोध गरेका छौं’–जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले भने–‘मरेका पशुहरुको बीमा गरिएको छ भने भुक्तानीलाई सहजिकरण गर्न बीमा कम्पनीहरुलाई अनुरोध गरिएको छ ।’ जिल्लामा रहेका १४ वटा बीमा कम्पनी मध्ये केहिले मात्रै पशुको बीमा गर्दै आएका छन् । समन्वय समितिले जिल्लामा बीमा भएका पशुहरुको मृत्यु भएको अवस्थामा प्रकृया पु¥याएर भुत्तानी गरिदिन अनुरोध गरेको छ । बीमा कम्पनीका प्रतिनिधिहरुले कृषकहरुको कागजात मिलेर आएको अवस्थामा फाईल नरोकिएको भए पनि प्रकृयामा ढिलाई भएको स्विकार गरेका छन् । केहि फाईलहरु अघिल्लो आर्थिक वर्षबाटै रोकिएकाले त्यसको सहजताका लागि पहल भईरहेको उनिहरुले बताए । कृषकहरुले भने बीमा कम्पनीले लम्पीबाट धेरै पशुको मृत्यु भए पछि बीमा कम्पनीले पुरानो विमालेख अनुसार भुक्तानीलाई आलटाल गरेको, नविकरण गर्न नमानेको र नयाँ बिमालेख जारी नगरेको बताउँदै आएका छन् । केहि कम्पनीले गाईको बीमा तत्काल नगर्नु भन्ने माथीको निर्देशन कार्यान्वयन गरेको स्पस्टिकरण दिएका थिए । 
    प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले कृषक संकटमा परेको समयमा कृषकका लागि काम गर्छु भनेर अनुमति पाएका संस्थाहरुले आलटाल गर्न नहुने बताए । ‘कृषकसँग भएका सम्झौता तत्काल कार्यान्वयन गर्नुस’–प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भने–‘बीमाबाट समस्या र गुनासो नआउने गरी कार्य गर्न निर्देशन दिन्छु ।’ स्थानीय तहमा खटिएका प्राविधिकहरुलाई समेत निर्देशन दिदै प्रमुख जिल्ला अधिकारी पौडेलले भने–‘खोप र उपचारका लागि सहजीकरणमा विशेष ध्यान दिनुस ।’ कृषकहरुले क्षति नभएका पशुहरुलाई जोगाउन, क्षति भईसकेका पशुहरुको क्षतिपुर्तिका लागि पहल गरिदिन अनुनय विनय गरिरहेका छन् । तीन तहकै सरकारले क्षति भएका पशुको हकमा कृषकलाई कस्तो राहत दिने भन्ने निर्णय गर्न सकेका छैनन । छलफलमा सुरक्षा निकायका प्रतिनिधिहरु, समन्वय अधिकारी शान्तिराज प्रसाई, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा। नितेश कार्की लगायतले जिल्लामा लम्पिस्किनका बारेमा भएका समस्या र अवस्थाका बारेमा जानकारी गराएका थिए । 

५५ सय डोज भ्याक्सिन लगाईदै
    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेले जिल्लाका ६ वटा पालिकामा सप्ताहब्यापी खोप कार्यक्रम शुरु गर्ने भएको छ । जिल्लाको धुलिखेल, तेमाल, खानिखोला, महाभारत, बेथान्चोक र नमोबुद्ध नगरपालिकामा रहेका ५५ सय पशुहरुलाई साउन २५ देखि ३१ गतेसम्म खोप सप्ताह कार्यक्रम मार्फत खोप लगाउने निर्णय भएको डा। नितेश कार्कीले जानकारी दिए । ‘स्वस्थ पशुका लागि खोप प्रभावकारी उपचार हो’–डा नितेश कार्कीले भने–‘संक्रमण नभएका, संक्रमण भएर तत्काल निको भएका पशुहरुका लागि तत्काल खोप लगाउन मिल्दैन । सप्ताह अन्र्तगत स्वस्थ पशुका लागि खोप कार्यक्रम शुरु गरिन लागिएको हो ।’ जिल्लामा ३६ हजार १ सय ३ वटा पशुलाई खोप लगाई सकिएको छ । १२ सय ७४ वटा पशु मरेका छन् । २८ हजार ६ सय ५६ वटा पशु संक्रमित छन् । गाई १ लाख ५१ हजार ८ सय ७३ वटा र भैसी १ लाख ४८ हजार ६ सय ४० वटामा स्वस्थ भएका सबै पशुहरुमा क्रमश खोप लगाईने डा। कार्कीले जानकारी दिए ।