2026 August 25/ 12:58: 54pm

एक आर्थिक वर्षको अवधीमा जिल्लामा सवारी दुर्घटनाका ३ सय ७५ को उद्दार भएको छ । १ सय ५६ फरार पक्राउ परेका छन् भने ८५ जनाले आत्महत्या गरेका छन् । जर्बजस्ती करणीका ५० वटा मुद्दा दर्ता हुँदा विपत्तिमा १२ जनाले ज्यान गुमाएका छन् । अझैसम्म ४ जना बेपत्ता भएका छन् । सवारी दुर्घटनामा ५० को मृत्यु भएको छ । 

मोतीराम तिमल्सिना
धुलिखेल

    प्रहरीले तीन वर्षको अवधीमा १४ सय ८ वटा मुद्दा दर्ता गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा ५ सय ३० वटा मुद्दा दर्ता गरेको प्रहरीले २०७८/०७९ मा ४ सय ३६ थान मुद्दा दर्ता गरेको थियो भने २०७७/०७८ मा ४ सय ४२ थान मुद्दा दर्ता गरेको थियो । 
    आर्थिक वर्षको तुलनामा अघिल्लो वर्ष भन्दा पछिल्लो वर्ष ९४ थान मुद्दा थप भएका छन् । चेक अनादर तथा सहकारी सम्वन्धी मुद्दाको संख्या थपिँदा प्रहरीको तथ्याङ्कमा मुद्दा दर्ताको संख्या बढेको देखिएको छ । तथ्याङ्कका आधारमा केहि अपराध घटेका छन् । आत्महत्याको दर घटेको देखिएको छ भने बालविवाहका मुद्दा दर्ता भएका छैनन् । बोक्सीको आरोप, अपहरण तथा शरीर बन्धक, अपहरण तथा जर्बजस्ति करणी लगायतका घटना यो वर्ष भएनन् । ३९ प्रकृतिका अपराधका शिर्षकमा दर्ता भएका मुद्दामा प्रहरीले अनुसन्धान जारी राखेको छ । 
    ‘प्रहरीले दर्ता भएका मुद्दाहरुका बारेमा अनुसन्धान गरिरहेको छ । आर्थिक वर्ष २०७९/०८० मा विभिन्न प्रकृतिका ५ सय ३० वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये २ सय ९२ वटा फछ्र्याैट भएका छन् भने २ सय ३८ वटा चालु वर्षका लागि जिम्मेवारी सरेका छन्’–जिल्ला प्रहरी प्रमुख एसपी भाग्येन्द्र पुरुष ढकालले भन्नुभयो–‘अपराधिक घटनाको अनुसन्धानसँगै प्रहरीले प्राकृतिक विपत्तिमा मानिस, पंक्षी, चौपाया, घर, गोठ लगायतका भौतिक सम्पत्तिलाई क्षति हुनबाट रोकेको छ । सवारी दुर्घटनामा घाईते भएका मात्रै ३ सय ७५ जनाको उद्धार गरेको छ भने अदालतबाट सजायँ तोकेर फरार भएका १ सय ५६ जनालाई पक्राउ गरेको छ ।’ 
उद्दारमा सक्रियता
    जिल्लामा भएका विभिन्न खालका विपत्तिमा उद्धारका लागि प्रहरीको सक्रियता देखिएको छ । आर्थिक वर्ष भित्र आगलागीका घटनाबाट ३ जना नागरिकले ज्यान गुमाएका छन् भने ६ जना घाईते भएका छन् । जसमा ४ सय ६७ वटा पंक्षीको मृत्यु भएको छ भने चौपायाँ तर्फ १ सय ६६ वटाको मृत्यु भएको छ । २३ वटा चौपायाँ घाईते भएका छन् । पक्की घर ४ वटा, कच्ची घर २३ वटा र २९ वटा गोठमा क्षती भएको छ । मृत्यु भएका तीन र घाईते ६ जना सहित १ सय ८९ वटा चौपायाँको प्रहरीले उद्धार गरेको छ । बाढीमा फसेका ११ वटा चौपायाँको उद्धार भएको छ । १ जनाको मृत्यु पछि उद्धार भएको छ । चट्याङ्गमा परी घाईते भएका ४ जना ब्यक्ति र ११ वटा चौपायाँको उद्धार भएको छ । करेन्टमा परेर मृत्यु भएका दुई जना र घाईते ३ जनाको उद्दार भएको छ । जनावर आक्रमणबाट १ जना घाईतेको उद्धार गरिएको छ । डुबेका दुई ब्यक्ति मृत अवस्थामा र १ जना घाईते अवस्थामा उद्धार भएको छ । एक आर्थिक वर्षमा प्रहरीले १८ जना घाईते र २१२ वटा चौपायाँको उद्धार गरिएको छ । प्राकृतिक विपद्मा १२ जनाको मृत्यु भएको छ । ३९ वटा गोठ, ३४ वटा कच्ची घर, ४ वटा पक्कि घरमा क्षती पुगेको छ । १ सय ८९ वटा चौपायाँ मृत्यु भएको छ । २३ वटाको मृत्यु भएको छ । ८ सय १२ वटा पंक्षीको मृत्यु भएको छ । त्यस्तै २ सय ८५ वटा सवारी दुर्घटनामा ५० जनाले ज्यान गुमाएका छन् । जसमा ३ सय २४ जना घाईते भएका छन् । ३ सय ७५ जनाको उद्धार गरिएको प्रहरीले बताएको छ । 

पक्रदै फरार अपराधी 
    प्रहरीले फरार अपराधी पक्राउ गर्न प्रहरी निरिक्षककै नेतृत्वमा टोली खटाएको छ । आर्थिक वर्ष २०७९/०८० मा प्रहरीले मात्रै १ सय ५६ जना फरार अपराधी पक्राउ गरेको छ । उनिहरुबाट ३३ वर्ष १ महिना २४ दिनको कैद असुल भएको छ भने १ करोड २९ लाख ९३ हजार रुपैयाँ जरिवाना असुल गरेको छ । अघिल्लो वर्ष १ सय ६ जना फरार अपराधी पक्राउ परेका थिए । वसमा ७६ वर्ष ११ महिना २३ दिनको कैद असुल भएको थियो भने १ करोड ६७ लाख १ हजार ९ सय ७५ रुपैया जरिवाना असुल भएको थियो । दुई वर्षको अवधीमा प्रहरीले ५ सय २५ जना फरार अपराधीहरु पक्राउ गरेको एसपी भाग्येन्द्र पुरुष ढकालले जानकारी दिनुभयो । 
घट्यो आत्महत्या, बढ्यो करणी
    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा दर्ता भएका मुद्दाहरुको तथ्याङ्कले आत्महत्या विगतका वर्षहरुमा घटेको देखिएको छ भने जर्बजस्ती करणीका घटनामा बृद्धी भएको छ । आर्थिक वर्ष २०७९/०८० मा ८५ जनाले आत्महत्या गरेका छन् । जसमा झुण्डिएर ७१ जना र विष सेवनबाट १४ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७८/०७९ मा ८९ जना झुण्डिएर र २३ जना विष सेवनबाट गरी १ सय १२ जनाले आत्महत्या गरेका थिए । त्यस्तै आर्थिक वर्ष २०७७/०७९ मा झुण्डिएर ९३ जना र विष सेवनबाट ४२ जना र हाम फालेर १ जना गरी १ सय ३८ जनाले ज्यान गुमाएका थिए । तीन वर्षको तुलनामा क्रमशः आत्महत्या गर्नेको संख्या कम भए पनि भुम्लुमा १० वर्षका र बनेपा १२ महेन्द्रज्योती बाँस्डोलमा १२ वर्षिय बालकले आत्महत्या गरेका छन् । आत्महत्या न्यूनीकरणका लागि सचेतना कार्यक्रम तथा मानसिक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै लगिएका कारण आत्महत्या कम भएको हुन सक्ने विश्लेषकहरुले बताएका छन् । 
    आत्महत्या घटेको तथ्याङ्क भईरहँदा जर्बजस्ती करणी सम्बन्धी अपराधमा बृद्धि भएको छ । आर्थिक वर्ष २०७९/०८० मा जर्बजस्ती करणी उद्योगमा १, जर्बजस्ती करणीमा ३७ वटा, बाल यौन दुराचारमा १० वटा, अप्राकृतिक मैथुन अभियोगमा २ थान गरी ५० वटा मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७८/०७९ मा जर्बजस्ती करणी उद्योगमा ३, जर्बजस्ती करणीमा २९ वटा, बाल यौन दुराचारमा ३ थान मुद्दा गरी ३५ वटा मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०७७/०७८ मा जर्बजस्ती करणी उद्योगमा ६, जर्बजस्ती करणीमा २६ वटा, बाल यौन दुराचारमा ३ वटा गरी ३५ थान मुद्दा दर्ता भएका छन् ।