धुलिखेल/‘साउन १५’ को अवसर पारेर धुलिखेल अस्पतालले शुरु गरेको ‘आधारभुत जीवन रक्षा’ दिवसको दोश्रो वर्षका अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ । अस्पतालले हरेक नागरिकले जान्नु पर्ने आधारभुत जीवन रक्षा सम्वन्धी विषयका बारेमा सचेतना गर्नु पर्नेमा जोड दिएको छ ।
‘हरेक ब्यक्तिको जीवन महत्वपूर्ण हुन्छ । एकजना ब्यक्ति बचाउन सकियो भने चिकित्सक र अस्पतालका लागि सर्वस्व लाग्छ’–अस्पतालका संस्थापक एवं पुर्व उपकुलपति प्रा.डा. रामकण्ठ माकजुले भन्नुभयो–‘धुलिखेल अस्पताल सानो सानो विषयलाई प्राथमिकताका साथ ब्यवहारमा कार्यान्वयन गर्छ । त्यसले मात्रै नागरिकहरुको स्वास्थ्यलाई ध्यान दिन सकिन्छ ।’ आधारभुत जीवन रक्षा सम्वन्धी जानकारी घर, समुदाय, विद्यालय, चिकित्सक, चालक, सहचालक तथा अनिवार्य रुपमा हरेक नागरिकहरुले जान्नु पर्ने विषय भएको उहाँले बताउनु भयो । धुलिखेल अस्पतालले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोकका विभिन्न जिल्लामा यस्ता तालिम उपलब्ध गराउँदै आएको छ । दोश्रो वर्षको कार्यक्रममा स्वास्थ्य जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको सहभागिता रहेको थियो । आधारभुत जीवन रक्षा सिप ब्यक्ति बेहोस हुँदा तथा ह्दयघात हुँदा छातीमा थिचेर श्वासप्रश्वास सूचारु गर्ने विधी हो । यो सिप सिक्दा धेरै नागरिकहरुलाई जोखिमबाट बचाउन सकिने चिकित्सकहरुले बताएका छन् ।
कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले धुलिखेल अस्पताल नेपालकै नमुना अस्पतालका रुपमा चिनिएको बताउनु भयो । ‘धुलिखेल अस्पतालले गर्ने हरेक कृयाकलाप नेपालकै लागि रोल मोडल भईरहेका छन’–उहाँले भन्नुभयो–‘हरेक नागरिक स्वास्थ्य र शिक्षाको अवसरबाट बञ्चित नहुने गरी कार्य गर्न सरकार तत्पर छ ।’ धुलिखेल अस्पतालले नेपालीको स्वास्थ्य उपचारमा गरेको योगदानको प्रशंसा गर्दै मन्त्री बस्नेतले धुलिखेल अस्पतालले निकट भविश्यमा निर्माण गर्न लागेको ट्रमा सेन्टर बनाउन स्वास्थ्य मन्त्रालयले सक्दो सहयोग गर्ने बताए । आधारभूत जिवन रक्षाको कार्यक्रमको महत्व जँहा पनि जहिले पनि रहेको बताउदै यसलाई देश भरि पु¥याउनु पर्ने आवश्यकता माथि मन्त्री बस्नेतले जोड दिए । कार्यक्रममा धुलिखेल अस्पतालका कार्यकारी निर्देशक एवं काठमाडौं विश्वविद्यालयका पुर्व उपकुलपति प्रा. डा. रामकण्ठ मकाजूले नेपालीले चाह्यो भने नहुने कुरा केही पनि नभएको बताउदै आफूहरुले २६ वर्ष पहिले धुलिखेलमा गुणस्तरीय उपचार दिने अस्पताल स्थापना गर्ने सपना पुरा भएको बताउदै त्यसको लागि लगाव भने हुनु पर्नेमा जोड दिए ।
अस्पतालका बरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोँजूले चिकित्सा विज्ञानमा कहिलेकाँही उपकरणले पनि काम नगर्ने अवस्था आउने बताउदै आधारभूत जिवन रक्षाको ज्ञानले धेरैको ज्यान बचाउन सकिने बताउनु भयो । काठमाडौं विश्वविद्यालय मेडिकल कलेजका डीन डा. मनोज हुमागाईले आधारभुत जीवन रक्षा सम्वन्धी सिप लिएर वर्षमा एक जनाले एक व्यक्तिको ज्यान बचाउन सकेमात्रै पनि ठूलो उपलब्धी हुनेमा जोड दिए । धुलिखेल अस्पतालका बरिष्ठ स्त्रि रोग विशेषज्ञ डा. आभा श्रेष्ठले धुलिखेल अस्पताल र अस्पतालले आधारभुत जीवन रक्षाका बारेमा भएका कार्यले नागरिकहरुले पुर्नजीवन प्राप्त गरेको बताउनु भयो । कार्यक्रममा एनेस्थिेसिया विभाग प्रमुख डा. संगीना रंजितले आधारभूत जीवन रक्षाको सिप स्वास्थ्यकर्मीका लागि मात्र नभएर सबैका लागि आवश्यक भएको बताईन । कार्यक्रममा अर्थोपेडिक सर्जन डा. रोहित श्रेष्ठ, डा.अञ्जना डंगोल, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक डा. अनुज भट्टचनलगायतले आधारभुत जीवन रक्षा कार्यक्रमको औचित्य र आवश्यकतामाथि प्रकाश पारेका थिए । कार्यक्रममा अस्पतालका आकस्मिक विभागका प्रमुख डा. सानुकृष्ण श्रेष्ठ लगायतले सिपका कारण नागरिकहरुले प्राप्त गरेको पुर्नजीवनका बारेमा जानकारी गराउनु भएको थियो ।





