2026 August 25/ 12:58: 52pm

धुलिखेल/गुरुहरुको मति विग्रिए पछि चेलाहरुले मात्रै होईन सिङ्गो समाज नै तरंगित हुन्छ । यस्तै भएको छ काभ्रेको पनौती नगरपालिका स्थित कुशादेवी स्थित कुशादेवी माविमा । शिक्षक छविरमण गौतमले आफ्नै छात्रालाई यौन दुब्र्यवहार गरेको अभियोगको उजुरी इलाका प्रहरी कार्यालय बनेपामा दर्ता भएको छ ।
    शुरुमा विद्यार्थीहरुले विद्यालयमा लिखित जानकारी गराएको बताएका छन् । विद्यालयले शिक्षक निलम्वन गर्ने निर्णय गरेको भए पनि कानूनी कारवाहीका लागि दर्ता भएको उजुरीका बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको छ । यस अघि पनौतीकै पुण्य मावीमा एक शिक्षकले सिन्धुली घर भई पनौतीमा डेरा लिएर बसोबास गर्ने बालिकालाई कक्षा कोठा भित्रै यौन दुब्र्यवहार गरेको भए पनि विद्यार्थीलाई विद्यालयबाट निस्कासन गरेर शिक्षक सरुवा गरी मध्यरातमा प्रहरी कार्यालयमा मिलापत्र गरिएको थियो । उता भूमिमाता विद्यालयका शिक्षकले पनि विद्यार्थीलाई गरेको यौन दुब्र्यवहार मिलापत्रमा टुङ्गाईएको थियो । जनप्रतिनिधि समेत रहेका विद्यालय ब्यवस्थापन समितिका अध्यक्षले घटनालाई बाहिर ल्याउन नदिई मिलापत्र गराएका हुन् । एक महिना अघि काठमाडौको एक नीजि विद्यालयमा वार्डेनका रुपमा कार्यरत शिक्षकले आफ्नै छात्रालाई धुलिखेलमा ल्याई जर्बजस्ति करणी गरेको अभियोगमा पक्राउ परेका छन् । जिल्लामा एक वर्षको अवधीमा ५० वटा र्जबजस्ति करणीका घटना भएका छन् ।