भकुण्डे, नमोबुद्ध/३६ वर्ष अर्थात २०४३ साल मंसिर १६ गते देखि बेपत्ता भए पछि अदालतबाट न्यायिक मृत्यु घोषणा गरिएका नमोबुद्ध नगरपालिका वडा नम्वर ८ का ६४ वर्षिय रामबहादुर सार्की एक वर्ष पछि टुप्लुक्क देखा परेका छन् । ‘म मरेको छैन भन्दै आफ्नो नाममा सम्पती लिएर फेरी उनी भारतको कलकत्ता फर्किए’–स्थानीयले भने ।
३६ वर्ष देखि निरन्तर सम्पर्क विहिन रहेका रामबहादुर सार्की एक्कासी घर फर्किए पछि आफन्तहरु नै चकित भएका थिए । ‘बुबा विरामी हुनु भयो । आमा विरामी हुनु भयो । श्रीमती विरामी भएर अस्पतालमा छटपटाएर हैरान थियो । छोरीको बेहाल भयो तर पनि उनिहरुको सम्पर्कमा रामबहादुर आउन चाहेनन्’–स्थानीय जनप्रतिनिधिले भन्नुभयो–‘लामो समयसम्म बेपत्ता भए पछि कानून अनुसार नै उहाँको अदालतबाट न्यायीक मृत्यु घोषणा गरिएको थियो । मृत्यु घोषणा गरेको एक वर्ष पछि उनि फर्किए । कानून र ब्यवहार अनुसार फेरी न्यायीक मृत्यु बदर गरिएको छ ।’ नमोबुद्ध वडा नम्वर ८ का शेरबहादुर तामाङले सर्जिमिन मुचुल्का अनुसार गरेको सिफारिस तथा सबुत प्रमाणका आधारमा रामबहादुर सार्कीलाई जिल्ला अदालतले २०७९ बैशाख १९ गते न्यायीक मृत्यु घोषणा गरेको थियो । २०८० बैशाख महिनामा बेपत्ता भएका रामबहादुर टुप्लुक्क आए पछि पुनः सोहि प्रकृयाबाट मृत्यु घोषणा बदरका लागि दिएको निवेदन अनुसार जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०८० बैशाख ३१ गते रामबहादुर सार्कीको न्यायीक मृत्यु घोषणा बदर गरेको छ । यति लामो समयसम्म बेपत्ता भएका रामबहादुर आफ्नै जन्मभूमी बस्लान भन्ने स्थानीयहरुको सोचलाई उनले केहि दिनमै निराशा बनाई दिएका छन् । ६४ बर्षिय रामबहादुर ३६ वर्ष पछि स्वदेश फर्किएका भए पनि पुनः छिमेकी देश भारतको कलकत्ता फर्किएका छन् ।
स्थानीयहरुका अनुसार रामबहादुरका बाबु जोखवीर सार्की र आमा सुर्की सर्किनीको निधन भईसकेको छ । श्रीमती मिठु सर्किनी अस्पतालमा छट्टपटाउँदा समेत उनी कहिल्यै सम्पर्कमा आएनन् । बाबु आमाको निधनमा समेत किरिया गर्न आएनन् । आफु जानु अघि जन्मिएकी उनकी एक्ली छोरीको पनि रेखदेख कहिल्यै गरेनन् । घर परिवार र आफन्तको समेत सम्पर्कमा नआएका रामबहादुरले कलकत्तामा काम गरेको रकम पनि घरमा पठाएनन् । बाबु आमाको उपचारमा लागेको ऋण पनि भाई सानुकान्छा सार्कीले तिर्न सकेका थिएनन् । भाउजुको उपचारमा लागेको खर्च पनि तिर्न सकेका थिएनन् । छोरी कल्पना नेपालीको लालनपालन र विवाह गर्ने कुरा पनि उनकै थाप्लोमा थियो । बुबाबाट अंश पनि लिएका थिएनन् । बुबा आमाकै निधन भए पछि उहाँको नाममा भएको थोरै जमिन आफ्नो नाममा ल्याउने प्रकृयाका लागि उनले ३६ वर्ष देखि वेपत्ता भएका दाजुको कानून अनुसार न्यायिक मृत्यु घोषणाका लागि वडा कार्यालय मार्फत जिल्ला अदालतमा भाई सानुकान्छा र छोरी कल्पनाले निवेदन दिएका थिए । सोहि निवेदनका मृत्यु घोषणा भएका रामबहादुर सार्कीलाई घर फर्काउने अभियानमा अर्काे एउटा समुह सक्रिय भएको स्थानीयले बताए ।
‘कहिल्यै घर नचाहिने जसरी बेपत्ता भएका रामबहादुर बाबु आमा र श्रीमती वित्दा समेत फर्किएनन्’–स्थानीयले भने–‘अहिले भाईले ब्यवहार मिलाउन कानूनले दिएको अधिकार प्रयोग गरेर केहि सम्पती आफ्नो नाममा ल्याउँदा आफन्तले नै रामबहादुरलाई खोजेर ल्याएर न्यायिक मृत्यु घोषणा बदर गराउँदै सम्पत्ति बाँडफाँड गर्न लगाए ।’ जिउँदो ब्यक्तिलाई मरेको नै भन्नु पर्छ भन्ने त हैन तर उसको सम्पत्तिको हक हनन् भयो भन्ने सोच्ने आफन्तहरुले उसले पूरा गर्नु पर्ने ३६ वर्ष देखिको दायित्व र जिम्मेवारी सम्झन चाहेनन् । उक्त घटना पछि छोरी कल्पना र भाई सानुकान्छा दाजु फर्किएकोमा खुशी भन्दा पनि उनको ब्यवहारबाट विक्षिप्त हुन पुगेको स्थानीयले बताए । वडा अध्यक्ष शेरबहादुर तामाङले आफैले दिएको न्यायीक मृत्यु घोषणाको सिफारिस अनुसारको मृत्यु दर्ता लगत कायम गरिएका रामबहादुर सार्की जिउँदो रहेको उल्लेख गरेर विवरण सच्याउनु भएको छ । कानुन अनुसार १० वर्ष भन्दा धेरै समय बेपत्ता हुनेहरुको हकमा बेपत्ता भएको सर्जिमिन मुचुल्का र स्थानीय सरकारको सिफारिसका आधारमा आफन्तले दिएको निवेदनका आधारमा अदालतले न्यायीक मृत्यु घोषणा गर्न सक्ने कानूनी प्रावधान छ । वडा अध्यक्ष शेरबहादुर तामाङले रामबहादुर सार्कीको हकमा पनि त्यस्तै भएको बताउनु भयो । अहिले पुनः रामबहादुर सार्की कानूनी प्रकृया पुरा गरेर भारतको कलकत्ता फर्किसक्नु भएको उहाँले बताउनु भयो । जिल्ला अदालत काभ्रेपलाञ्चोकमा पछिल्लो समय न्यायीक मृत्यु घोषणा गर्ने क्रम बढेको छ । सशस्त्र द्वन्द्वका क्रममा वेपत्ता हुनेहरुले पनि न्यायीक मृत्यु घोषणा गरी राज्यबाट प्राप्त गर्ने सुविधा लिन थालेका छन् । राजनीतिक रुपमा बेपत्ताको छानविन हुन नसकेको अवस्थामा पीडित परिवारका आफन्तहरुले धमाधम मृत्यु घोषणा गरिरहेका छन् । सशस्त्र द्वन्द्वमा बाहेक अन्य समयमा बेपत्ता हुनेहरुको न्यायीक मृत्यु घोषणा बदर पनि हुन थालेका छन् । एक वर्षको अवधीमा न्यायीक मृत्यु घोषणा गरिएका मध्ये केहि ब्यक्तिहरु परिवारको सम्पर्कमा आएको बताईएको छ ।





