2026 August 25/ 01:47: 44pm

मेथिन्कोट, भकुण्डे/जिल्लाको एक मात्र जिल्ला अस्पताल मेथिन्कोट नमोबुद्धले गुणस्तरीय सेवालाई विस्तार गरेको छ । भएका संरचनालाई ब्यवस्थापन गर्दै अस्पतालले ओटी (अप्रेसन थ्रेटर), डाईलोसिस सेवा, जग्गा ब्यवस्थापनका लागि डिपिआर तयारीलाई तिब्रता दिएको छ । तीन महिना अघि न्यूनतम शर्त मापनमा ६५ प्रतिशत प्राप्त गरेको अस्पतालले आर्थिक वर्षको अन्त्यमा ७५ प्रतिशत अंक प्राप्त गरी गुणस्तरलाई अब्बल बनाउँदै लगेको प्रमाणीत गरेको छ । 
    मेथिन्कोट अस्पतालमा पर्याप्त सेवा विस्तार भएको छ । अस्पताल प्रमुख डा. मधुकर दाहालले  मेथिन्कोट अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवाका अलावा प्रयोगशाला, एक्स रे, प्रसुती, फार्मेशी तथा अन्य सेवालाई प्रभावकारी बनाएको बताउनु भयो । ५० शैया अस्पताल संचालनको अनुमति पाएको उक्त अस्पतालले भएको पुर्वाधारको समुचित ब्यवस्थापन गर्दै सेवा प्रवाह गरेको अप्रेसन इन्चार्ज मथुरा सत्यालले बताउनु भयो । गंगालाल अस्पतालको सहकार्यमा ह्दयघात, मानसिक स्वास्थ्य अस्पताल पाटनको सहकार्यमा मानसिक स्वास्थ्य सेवा लगायत आईसियु, भेन्टिलेटर र अन्य सेवालाई थप प्रभावकारी बनाईएको छ । ‘प्रसुती सेवा, ल्याव, इमरजेन्सी सेवालाई थप प्रभावकारी बनाएसँगै रिफर गर्नु पर्ने विरामीको संख्या घटेको छ’–मेसु डा. मधुकर दाहालले भन्नुभयो–‘अप्रेसन सेवा शुरु भएसँगै रिफरको संख्या ह्वात्तै घट्ने छ ।’ ‘भएको पूर्वाधारको उचित ब्यवस्थापन, नियमित औषधी (शशुल्क र निशुल्क) उपलब्धता र सबै रोगको परीक्षणका लागि गुणस्तरीय ल्याबको ब्यवस्थापनका कारण विरामीहरुको सख्या बढ्न थालेको छ’–इमरजेन्सी विभाका डा. अविन पौड्यालले भन्नुभयो–‘विपद ब्यवस्थापन, सडक दुर्घटना तथा इमरजेन्सीमा आउने अन्य विरामीहरुलाई एकै पटक धेरै जनाको सेवामा सक्रिय हुने गरी आवश्यक तयारी गंिरएको छ । अहिले ७ वटा शैयालाई रेड, एल्लो र ग्रिन जोनका रुपमा अलग अलग ब्यवस्थापन गरिएको छ ।’ 
    अस्पतालमा दैनिक १ सय भन्दा धेरै विरामीहरुले सेवा लिन थालेको प्रशासनमा कार्यरत कमल भुर्तेलले जानकारी दिनु भयो । १२ जना दक्ष चिकित्सक सहित ६८ जना कर्मचारी कार्यरत अस्पतालले सामान्य चिरफार, भिडियो एक्स रे, स्वास्थ्य विमा कार्यक्रम, रेविज विरुद्धको खोप, महामारी नियन्त्रण, एचआईभी एड्स नियन्त्रण, क्षयरोग, कुण्ठरोग, किटजन्य रोग नियन्त्रण कार्यक्रम पनि संचालन गरिरहेको छ । मुख्यमन्त्री जनता स्वास्थ्य सेवा कार्यक्रम पनि हरेक शनिबार संचालन भईरहेको अस्पतालले जानकारी दिएको छ । एसएनसियु, समुदायमा आधारित नवजात शिशु र बाल रोगको एकिकृत ब्यवस्थापन, पोषण कार्यक्रम, राष्ट्रिय खोप कार्यक्रम, प्रजनन स्वास्थ्य कार्यक्रम अन्र्तगत सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य, परिवार नियोजन सेवा, बहिरंग सेवा, अन्तरंग सेवा, आकस्मिक सेवा, हाडजोर्नी तथा नसा रोग, प्रयोगशाला लगायतको सेवा नियमित उपलब्ध गरिएको डा. दाहालले बताउनु भयो । अस्पतालले विरामीहरुका लागि निशुल्क खाना र खाजाको समेत ब्यवस्था गरिरहेको छ । सुत्केरी महिलालाई मासु भातका अलावा ज्वानोको रस समेत निशुल्क उपलब्ध गराउँदै आएको छ । अस्पतालले उपलब्ध गराउने सेवा र गुणस्तरमा कुनै कमी हुन नदिने मेसु डा. मधुकर दाहालले बताउनु भयो । 
    मेथिन्कोट अस्पतालले ह्दयघात भएका ब्यक्तिहरुका लागि निशुल्क सेवा प्रदान गरिरहेको छ । गंगालाल अस्पतालको सहयोग र समन्वयमा ‘इन्जेक्सन टेनेक्टिप्लेज’ निशुल्क उपलब्ध गराईएको छ । ह्दयघातबाट बचाउन उक्त इन्जेक्सन महत्वपूर्ण मानिन्छ । उक्त इन्जेक्सनको प्रयोगले ह्दयघात भएका विरामीलाई तत्काल अप्रेसन गर्नु पर्ने भए पनि केहि घण्टाका लागि सहज बनाउँछ । तत्काल मृत्युको मुखबाट जोगाउन इन्जेक्सन बरदान सावित हुने गर्दछ । तर ह्दयघात भएको चार घण्टा भित्र विरामी अस्पताल आईपुगेको हुनु पर्छ । चार घण्टा पछि उक्त इन्जेक्सनले काम गर्दैन । गंगालाल अस्पतालले मेथिन्कोट अस्पताललाई इन्जेक्सन निशुल्क उपलब्ध गराएको छ । ह्दयघातका विरामीहरुका लागि मेथिन्कोट अस्पतालले निशुल्क औषधी सहितको सुविधा प्रदान गरेको छ । अन्य अस्पताल तथा खुल्ला खरिद गर्दा इन्जेक्सनलाई ५० हजार रुपैया भन्दा धेरै पर्दछ । यस्तो सेवा चार जनाले लिईसकेका छन् भने अन्य ८ जनालाई औषधी उपलब्ध गराउनु नपर्ने भए पनि आवश्यक उपचार सहित रिफर गरेको छ । 
    मेथिन्कोट अस्पतालले शुरु गरेको उक्त सेवाले नमोबुद्ध, तेमाल, रोशी, महाभारत, पाँचखाल मात्रै नभई रामेछाप, सिन्धुली, दोलखा, खोटाङ्ग,ओखलढुङ्गा तथा विपी राजमार्ग हुँदै यात्रा गर्ने धेरै विरामीहरुका लागि महत्वपूर्ण हुने नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ्ग लामाले बताउनु भयो । मेथिन्कोट अस्पताललाई बागमति प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷२०७८ को बजेटबाट जिल्ला स्तरीय अस्पतालको रुपमा विस्तार गर्ने निर्णय गरे पछि सेवा सुविधा र जनशक्ति ब्यस्थापन गरिरहेको छ । अहिले पूर्वाधारका लागि आवश्यक जग्गा ब्यवस्थापन गर्ने कार्य भईरहेको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद खनालले बताउनु भयो । स्थानीय सरकारले पनि अस्पताललाई प्राथमिकतामा राखेको अध्यक्ष खनालले बताउनु भयो । 

सेवा विस्तारमा ‘सकस’
    ‘एनेस्थेसिया असिस्टेन्ट वा एनेस्थेसोलोजिस्टको अभावमा अस्पतालले शुरु गर्न लागेको अप्रेसन सेवा हुन सकेको छैन’–अस्पतालका मेसु डा. मधुकर दाहालले भन्नुभयो–‘सबै तयारी भयो जनशक्ति छैन ।’ मेथिन्कोट अस्पतालले जनशक्ति माग गर्दै पटक पटक प्रदेश मन्त्रालयमा अनुरोध गरेको भए पनि कर्मचारी समायोजनका कारण स्थानीय तहमा समायोजन भएका कर्मचारीहरु प्रदेश मातहत आउन कठिन भएकाले ब्यवस्थापन हुन सकेको छैन । स्थानीय तहहरु मध्ये अधिकांशमा अस्पताल छैन । भएका अस्पतालमा पनि अप्रेसन कक्ष संचालन छैन । त्यहाँ आवश्यक नभएका जनशक्तिलाई प्रदेश मातहत ल्याउन कर्मचारी समायोजनले असहज भएको छ । अप्रेसन गर्ने समयमा विरामीलाई बेहोस बनाउने जनशक्ति अभावका कारण सेवा प्रभावित बनेको मेसु दाहालले बताउनु भयो । उक्त जनशक्ति ब्यवस्थापन हुँदा अस्पतालले महिलाहरुको पाठेघर सम्वन्धीका समस्यामा, हड्डी, हर्निया, हाईड्रोशिल लगायतका विभिन्न रोगहरुको अप्रेसन मेथिन्कोट अस्पतालमै शुरु हुने डा. दाहालले बताउनु भयो । 
    अस्पतालले ६ महिना अघि शुरु गर्न खोजेको डाईलोसिस सेवा पनि सूचारु हुन सकेको छैन । ‘डाईलोसिस गराउनु पर्ने विरामीहरु अस्पतालमा शैया नपाएर छट्टपट्टि रहेका छन्, मेथिन्कोट अस्पतालमा भएका बेडहरु संचालनमा ल्याउन सकिएको छैन’–मेसु डा. मधुकर दाहालले भन्नुभयो–‘एस वि ट्रेड प्रालीले प्राप्त गरेको जिम्मेवारी समयमै पुरा नगरेका कारण डाईलोसिस सेवा शुरु हुन सकेको छैन ।’ ठेकेदार कम्पनी एसबी ट्रेडले समयमा कार्य सम्पन्न नगरेकै कारण विरामीहरु उक्त सेवाबाट बञ्चित हुनु परेको छ । पटक पटक अस्पतालले गरेको ताकेता पनि उक्त कम्पनीले आलटाल गरी कार्य सम्पन्न नगरेका कारण ६ महिना अघि देखि शुरु हुने भनिएको सेवा शुरु हुन नसकेको हो । 
    मेथिन्कोट अस्पतालका लागि स्थानीय १ सय ६९ जनाको सर्वपक्षिय भेला, सामुदायिक बन उपभोक्ता समिति, जनप्रतिनिधि, वडा कार्यालय, नगरपालिका, मालपोत, नापी लगायतका कार्यालयहरुले साविक मेथिन्कोट गाविस २ मा रहेको कित्ता नम्वर ३०५ को २४७ रोपनी १३ आना मध्येको २८ रोपनी ८ आना सार्वजनिक गौचरण जग्गा अस्पताललाई दिने निर्णय गरे पनि डिभिजन बन कार्यालय र इलाका बन कार्यालयले वनको जग्गा भन्दै सहमति दिएका छैनन । जग्गाको निर्णय हुन नसकेको र इन्जिनियरले तयार गरेको डिपिआर प्राप्त नहुँदा अघिल्लो आर्थिक वर्ष विनियोजन भएको भवन निर्माण शिर्षकको ३ करोड रकम फ्रिज भएको छ । अघिल्लो आर्थिक वर्षमा पनि मेथिन्कोट अस्पतालका लागि २ करोड ९० लाख विनियोजन भएर खर्च हुन सकेको थिएन । नगरपालिका अन्र्तगत अस्पताल रहेको बखत तयार गरिएको डिपिआरका लागि १७ लाख खर्च भएको छ । केहि रकम भुक्तानी हुन बाँकी भएको जनाउँदै अस्पताललाई डिपिआर उपलब्ध नगराएका कारण भवन निर्माण कार्य समेत अघि बढ्न नसकेको अस्पतालले जानकारी दिएको छ । ‘डिपिआर रोकेर अस्पताल निर्माणमा असहयोग गरेको भन्दै मातहतका निकायले हामीलाई स्पष्टिकरण सोधिरहेका छन’–अस्पताल प्रशासनका कमल भुर्तेलले भन्नुभयो–‘तत्कालै डिपिआर प्राप्तीका लागि हामीले अनुरोध गरिरहेका छौं । आशा गरौ जग्गा ब्यवस्थापन र डिपिआर चाडै टुङ्गियो भने यो वर्ष विनियोजन भएको ३ करोड रकम खर्च गर्न सम्भव छ ।’ 

यसरी बन्यो जिल्ला अस्पताल 
    प्राथमिक स्वास्थ्य केन्द्र स्थापनाको २३ वर्ष पछि जिल्ला अस्पतालको मान्यता प्राप्त गरेको मेथिन्कोट अस्पतालले सेवामा छलाङ्ग मारेको छ । स्वास्थ्य केन्द्रको भवनलाई अस्पतालको रुपमा विकास गरी थप पुर्वाधार मार्फत अस्पतालको सेवा प्रारम्भ गरेको मेथिन्कोट अस्पताल केहि वर्षमै सुविधा सम्पन्न भवन निर्माण गरी सेवा विस्तारमा जुटेको छ ।     २०५४ सालमा सम्पन्न स्थानीय निकायको निर्वाचन पछि तत्कालिन जनप्रतिनिधिहरुको निर्णयले मेथिन्कोटमा प्राथमिक स्वास्थ्य केन्द्र खोल्ने निर्णय गरेको तत्कालिन गाउँ विकास समितिका अध्यक्ष एवं अस्पतालका संस्थापक अध्यक्ष उद्धव काफ्लेले बताउनु भयो । ‘त्यतिबेला प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गर्नु नै ठुलो कुरा थियो’–अध्यक्ष काफ्लेले भन्नुभयो–‘प्राथमिक स्वास्थ्य केन्द्रबाट गाउँ विकास समितिका नागरिकहरुलाई आधारभुत स्वास्थ्य सेवा दिने हाम्रो लक्ष्य पुरा गर्न सफल भयौं । अहिले अस्पताल स्थापना भएकाले हाम्रो सपना साकार भएको महसुस गरेका छौं ।’ प्राथमिक स्वास्थ्य केन्द्रबाट २०६६ सालमा मेथिन्कोट अस्पतालमा १५ शैयाको बेड सहित संचालनमा ल्याउने निर्णय भयो । सोहि अनुसार अस्पताल संचालन भयो तर सेवा प्रभावकारी हुन सकेन । जनशक्ति पूर्ण रुपमा ब्यवस्थापन हुन नसक्दा नागरिकहरुले आवश्यक सेवा प्राप्त गर्न सकेनन र विश्वास पनि जित्न कठिन भयो । ८ वर्ष पछि मुलुक संघीयतामा प्रवेश ग¥यो । मेथिन्कोट अस्पताल स्थानीय तह मार्फत संचालन हुन थाल्यो । तर पनि पर्याप्त सेवा भने उपलब्ध हुन सकेन । 
    विश्व महामारीका रुपमा कोभिड १९ ले नागरिकहरु संक्रमित हुन थाले पछि स्थानीय र प्रदेश सरकारले सोहि क्षेत्रमा अस्पताल आवश्यक भएको महसुस गरे । तत्कालिन जनप्रतिनिधि नगर प्रमुख टिपी शर्मा तिमल्सिना, प्रदेश सांसद चन्द्र लामा, गोमा भुर्तेल, जिल्लाका अन्य सांसदहरुले पनि मेथिन्कोटमा रहेको १५ शैयाको अस्पताललाई जिल्ला अस्पतालको रुपमा विकास गरी नागरिकहरुलाई स्वास्थ्य सेवा प्रवाह गर्नु पर्ने निश्कर्ष निकाले । २०७७÷२०७८ को प्रदेश सरकारको बजेटमा मेथिन्कोटलाई जिल्ला अस्पतालको रुपमा विस्तार गर्ने गरी जनशत्ति, पूर्वाधारका लागि बजेट विनियोजन गर्ने निर्णय भयो । सोहि निर्णयका आधारमा ५० शैयाको अस्पताल निर्माणको प्रकृया शुरु भयो । सबै प्रकारका सेवा उपलब्ध गराउने गरी अस्पतालले कार्य गरिरहेको संचालक समिति अध्यक्ष कृष्णप्रसाद खनालले बताउनु भयो ।