2026 August 25/ 12:19: 26pm

    धुलिखेल/धुलिखेल नगरपालिकाको देवीस्थान डाँडाबाट ब्यवसायिक रुपमा प्याराग्लाईडिङ्ग शुरु गरिएको छ । पूर्वमन्त्री एवं प्रतिनिधि सभा क्षेत्र नम्वर २ का सांसद् गोकुल बास्कोटाले ब्यवसायीक रुपमा शुरु गरिएको प्याराग्लाईडिङ्गको उद्घाटन गर्नु भएको छ । 
    ‘धुलिखेल नगरपालिका वडा नम्वर ९ स्थित देविस्थानबाट धुलिखेल ८ बडालगाउँसम्म पुग्ने गरी ५५ सय फिट उचाईमा उडानका लागि अनुमति प्राप्त गरेका छौं’– विश्वबजार प्याराग्लाईडिङ्ग प्रालीका अध्यक्ष किरण कार्कीले भन्नुभयो–‘ब्यवसायीक उडानका लागि प्राप्त अनुमतिका आधारमा आवश्यक मापदण्ड पुरा गरेर औपचारिक उडान शुरु गरेका हौं ।’ साहसिक पर्यटकीय मनोरञ्जन समेत प्राप्त हुने प्याराग्लाईडिङ्गको शुभारम्भले उपत्यकासँग जोडिएको काभ्रेपलाञ्चोकको विकास र समृद्धीमा थप योगदान पुग्ने पुर्वमन्त्री गोकुल बास्कोटाले बताउनु भयो । ‘पर्यटकहरुका लागि आकर्षण मानिएको साहसिक प्याराग्लाईडिङ्ग मार्फत स्थानीय सरकार, नीजि क्षेत्र र समुदाय स्तरले समेत फाईदा प्राप्त गर्नेछ’–पुर्व मन्त्री बास्कोटाले भन्नुभयो–‘देशले लिएको समृद्धीको लक्ष्यलाई प्याराग्लाईडिङ्गको शुरुवातीले धुलिखेलको चिनारी मात्रै होईन आयआर्जनमा समेत बृद्धी गर्नेछ ।’ प्याराग्लाईडिङ्गको ब्यवसायीक उडानका लागि सरोकारवाला निकायहरुले समन्वय र सहकार्य गरी निरन्तर संचालनका लागि वातावरण बनाउनु पर्नेमा सहभाहिरुले जोड दिनु भयो । 
    संचालकहरु किरण कार्की, दावा लामा, दिपक चौलागाई लगायतले २५ लाख रुपैया भन्दा धेरै लगानी गरी पोखरामा संचालन भएका प्याराग्लाईडिङ्ग कम्पनीहरुको सहकार्यमा धुलिखेलमा ब्यवसायीक उडान शुरु गर्न लागेका हुन् । संचालक दावा लामाका अनुसार एकै पटकमा ६ वटा उडान भर्न सकिने छ । उडान भर्ने यात्रुले ३० मिनेट अवधीको ७ हजार रुपैया तिर्नु पर्नेछ । ७ हजार रुपैयामा ३७ लाख रुपैयाको दुर्घटना विमा हुनेछ । धुलिखेल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आर्कषक बन्दै गएको छ । धुलिखेलमा निर्माण भएका देविस्थान पार्क, बलभद्र कुँवर स्मारक, हजार सिँढी तथा अन्य पार्कहरुले धुलिखलेलमा घुम्न आउने र बनभोजका लागि आउने आन्तरिक पर्यटकहरुको घुँईचो लाग्न थालेको छ । कार्यक्रममा वडा अध्यक्षहरु गणेश आचार्य, विनोद गौतम, नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना लगायतले प्याराग्लाईडिङ्गको ब्यवसायीक उडानको सफलताको कामना गर्नु भएको थियो । 
    धुलिखेलमा आउने पर्यटकहरुको बसाई लम्ब्याउन प्याराग्लाईडिङ्ग महत्वपूर्ण इभेन्ट भएको क्षेत्रिय होटल संघकी महासचिव ज्योत्सना सैंजुले बताउनु भयो । ‘पर्यटकहरुलाई फरक खालको मनोरञ्जन दिन र पर्यटन ब्यवसायलाई प्रवद्र्धन गर्न प्याराग्लाईडिङ्गको ब्यवसायीक उडानले सहयोग पुग्नेछ’–क्षेत्रीय होटल संघकी महासचिव ज्योत्सना सैंजुले भन्नुभयो । कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।