2026 August 25/ 12:19: 26pm

कुशादेवीमा विद्यार्थी सम्मानीत
    एसईई उत्तिर्ण गरेका विद्यार्थीहरुलाई सम्मान गर्दै आगामी यात्राको शुभकामना दिने क्रममा पनौती नगरपालिका वडा नम्वर २ र ३ बाट एसईई उत्तिर्ण गर्ने १ सय १५ विद्यार्थीहरुलाई स्थानीय स्तरमा सम्मान गरिएको छ । ‘जन्मस्थानबाट नै बालबालिकाहरुलाई हौसला प्रदान गर्दै बाँकी शैक्षिक गन्तब्यका लागि शुभकामना प्रदान गर्ने कार्य थालनी गरेका हौं’–राष्ट्रिय युवा संघ नेपाल पनौती ३ का अध्यक्ष राजेश घिमिरेले भन्नुभयो–‘बालबालिकाहरुलाई सम्मान पछि अध्ययनमा थप हौसला र जिम्मेवारी बहनका लागि सहज होस् भन्ने उद्देश्य हो ।’ पूर्व मन्त्री एवं प्रतिनिधि सभा क्षेत्र नम्वर २ का सदस्य तथा नेकपा एमाले पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले उत्तिर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै मुलुक निर्माणको अभियानमा शिक्षा महत्वपूर्ण भएकाले मुलुकका लागि आवश्यक पर्ने दक्ष जनशक्ति तयार हुने गरी अध्ययन गर्न सुझाव दिनु भयो । ‘मुलुक निर्माणका लागि विभिन्न खालका क्षमता भएका नागरिकहरुको आवश्यकता पर्छ’– पोलिटब्युरो सदस्य बास्कोटाले भन्नुभयो–‘मुलुक निर्माण गर्ने अभियानमा यहाँहरुको योगदान रहोस् । शैक्षिक गन्तब्यका थप सिँढीहरुले हरेक क्षेत्रमा आवश्यक पर्ने नागरिक बन्ने गरी अध्ययन गर्नुस ।’
    पछिल्लो समय शैक्षिक संस्थाहरुमा बढिरहेका शैक्षिक अराजकताले विद्यार्थीहरुप्रति नकरात्मक सन्देश जान सक्ने तर्फ सरोकारवाला निकायहरुले ध्यान दिनु पर्ने बास्कोटाले बताउनु भयो । केहि दिन अघि विश्वविद्यालयमा प्राध्यापकहरु माथी गरिएका दुब्र्यवहार, क्याम्पस प्रमुख माथी गरिएका घटनाले शिक्षा प्राप्तिमा मात्रै होईन असल र अनुशासित नागरिक बन्न विद्यार्थीहरुले सानैदेखि त्यस्तै वातावरण पाउनु पर्ने बास्कोटाले बताउनु भयो । कार्यक्रममा नेकपा एमालेका बागमती प्रदेश कमिटी उपाध्यक्ष रामहरी सुवेदीले बालबालिकाहरुले अनुशासित भएर मुलुक निर्माण गर्न सक्ने खालका शिक्षा प्राप्तिका लागि शुभकामना दिनुभयो । पनौती नगरपालिका उपप्रमुख गिता बञ्जारा, बागमती प्रदेश कमिटी सदस्य कुमार थापा, नेकपा एमाले पनौती नगर कमिटी अध्यक्ष सुरेश हुमागाई, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना लगायतले बालबालिकाहरुले लिने गन्तब्य र विषय सहि हुनुपर्ने बताउनु भएको थियो । 
कार्यक्रममा नगरपालिका निवर्तमान प्रमुख भिम न्यौपाने, वडा अध्यक्षहरु, निर्वतमान वडा अध्यक्षहरु, पार्टीका विभिन्न तहका नेताहरु, अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको थियो । 

अनेरास्ववियुले ग-यो सम्मान
    यसैगरी एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु काभ्रेले पनि एसईई उर्तिण विद्यार्थीहरुलाई सम्मान गरेको छ । केन्द्रिय अध्यक्ष समिक बडालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला अध्यक्ष मिलन गौतमको सभापत्वि रहेको थियो । जिल्लाभरका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको अध्यक्ष गौतमले बताउनु भयो । कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय सदस्यहरु, प्रदेश कमिटी र जिल्ला कमिटीका नेताहरु सहभागि थिए । 

नेविसंघको पनि सम्मान
    नेविसंघ काभ्रेले पनि एसईई परीक्षामा उर्तिण विद्यार्थीहरुलाई सम्मान गरेको सभापति अञ्जनराज खतिवडाले बताउनु भयो । नेपाली काँग्रेसका केन्द्रिय नेताहरु सम्मिलित कार्यक्रममा जिल्लाका विभिन्न तहका नेता कार्यकर्ताहरु सहभागि कार्यक्रममा जिल्लाका उत्कृष्ट विद्यार्थीहरु सहभागि थिए ।