धुलिखेल/स्वास्थ्य कार्यालय काभ्रेले जिल्लाका १३ वटै पालिकामा डेँगी नियन्त्रणका लागि विशेष कार्य गर्ने गरी सरोकारवालाहरुसँग तयारी बैठक आयोजना गरेको छ । स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा. पुरुषोतम सेढाईले अघिल्लो वर्षको अनुभवका आधारमा यो वर्ष डेंगी नियन्त्रणको तयारी गरिएको बताउनु भयो ।
‘नेपालका १० जिल्ला भित्र काभ्रेपलाञ्चोक परेको छ’– स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम सेढाईले भन्नुभयो–‘डेंगी नियन्त्रणका लागि सबै क्षेत्र सक्रिय हुनु आवश्यक छ ।’ खेतबारी, होटल ब्यवसाय, सडक तथा ब्यवसाय र घरको छत तथा भ¥याङ्गमा राखिने गमलाहरुमा जम्ने पानीमा लामखुट्टेले डेरा जमाउँदै त्यहिबाट विभिन्न ब्यक्तिहरुकोमा डेँगी फैलाउने काम गर्ने भएकाले किसान, ब्यवसायी र सर्वसाधारण सबै सचेत हुने गरी तयारीका लागि आवश्यक छलफल गरिएको डा. सेढाईले भन्नुभयो । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतमले डेंगी नियन्त्रणका लागि सबै क्षेत्रसँग समन्वय र सहकार्य गरिने बताउनु भयो । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले स्थानीय तह मातहत रहेका सबै निकाय र क्षेत्रहरुमा डेँगी नियन्त्रण, त्यसबाट बच्ने उपाय र डेँगी संक्रमण भई सकेपछि अपनाउनु पर्ने सुरक्षा सर्तकताका बारेमा आवश्यक सचेतना फैलाउनु पर्ने बताउनु भयो ।





