2026 August 25/ 12:58: 55pm

    धुलिखेल/बाबु मरेको २६ दिनसम्म प्रहरीले अनुसन्धानलाई प्रभावकारी नबनाएको आरोप लगाउँदै भुम्लु १ उर्लेनीका पीडित परिवारले शव बुझ्न मानेका छैनन । प्रहरीले गरेको अनुसन्धान चित्त बुझ्दो नभएकाले शव नबुझेको परिवारले जानकारी दिएको छ । 
    ‘प्रहरीले दैनिक फोन गरेर शब बुझ्न आउनुस भन्छ’–पीडितका छोरा सागर पन्तले भन्नुभयो–‘प्रहरीले राजनीतिक शक्तिका आडमा पक्राउ गरेका ब्यक्तिहरुलाई अनुसन्धान नै नगरी छाडिदिएको छ । कसरी शब बुझौं ?’ असार १० गते मृत अवस्थामा फेला परेका भुम्लु १ सापिङ्ग उर्लेनीका ६८ बर्षिय ठडेन्द्रप्रसाद पन्तको शवको पोस्टमार्टम नहुँदै अनुसन्धानका लागि पक्राउ परेका वडा अध्यक्ष लेखबहादुर श्रेष्ठ, वडा सदस्य दानकुमारी महत खत्री र टोल सुधार समितिका अध्यक्ष ताराबहादुर पन्तलाई प्रहरीले शक्तिको आडमा हिरासत मुक्त गरेको छ । ‘वडा अध्यक्ष श्रेष्ठ, सदस्य महत र टोल सुधार समितिका पन्तलाई पक्राउ पुर्जी जारी गरिएको थियो’–जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी ढुण्डीराज न्यौपानेले भन्नुभयो–‘सरकारी वकिल कार्यालयमा लिएको बयान, प्राप्त प्रमाण र अनुसन्धानका आधारमा उहाँहरुलाई हिरासतमा राखिरहनु पर्ने देखिएन ।’ सोहि आधारमा सरकारी वकिलको कार्यालयमा मागिएको रायमा जिल्ला न्यायाधिबक्ता शम्भु बस्नेतले समर्थन जनाए सँगै पक्राउ परेका तिनै जना जुनसुकै बेला पनि उपस्थित गराउने गरी गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले बुझेर लगेको डिएस्पी न्यौपानेले बताउनु भयो । ‘प्रहरीले राय माग्यो, मैले समर्थन दिएँ’–जिल्ला न्यायाधिबक्ता शम्भु बस्नेतले भन्नुभयो–‘उहाँहरु पक्राउ नभई पक्राउ पुर्जी जारी भएको थाहा पाए पछि आफै हाजिर हुन आउनु भएको रहेछ । तीनै जनाको बयान पछि आत्महत्या दुरुत्साहन अभियोगमा प्राप्त प्रमाण र इन्कारी बयानका आधारमा हिरासतमा राखिरहनु नपर्ने प्रहरीको रायलाई समर्थन जनाएँ ।’
    ‘शवको पोस्टमार्टम नै भएको छैन, प्रहरीले अन्य साक्षीहरुलाई समेत बुझेको छैन, पीडितको बयान पनि छैन, मात्रै जाहेरीका आधारमा बयान लिएर छाड्न मिल्छ ? भन्ने प्रश्नमा बस्नेतले भन्नुभयो–‘यो प्रहरीको क्षेत्रात्रिकार भित्रको कुरा हो । प्रहरीले मलाई राय माग्यो मैले समर्थन जनाएँ ।’ यस्तो जघन्य अपराधमा समर्थन दिन मिल्छ ? बस्नेतले भन्नुभयो – ‘घटना, परिस्थिती र प्राप्त तथ्यका आधारमा दिन मिल्छ । सबैमा मिल्दैन ।’ डिएस्पी न्यौपानेले भने मृतकका आफन्तहरुलाई पटक पटक पोस्टमार्टमका लागि बोलाउँदा पनि नआएको बताउनु भयो । ‘हामीले अरु प्रकृया जारी नै राख्छौ, अनुसन्धान पनि जारी हुन्छ तर उहाँहरुलाई हिरासतमा राखिरहन आवश्यक ठानिएन’–डिएस्पी न्यौपानेले भन्नुभयो । ‘बुबाको आत्महत्या वा हत्या के हो ? अनुसन्धानका लागि जाहेरी दिएका छौं’– छोरा शेरबहादुर पन्तले भन्नुभयो–‘शुरुमा प्रहरीले जाहेरी लिएन । जाहेरी लियो अभियुक्तहरुलाई पक्राउ गरेन । पोस्टमार्टम नै नगरी पक्राउ गरिएका आरोपितहरुलाई छाडिदियो’– छोरा शेरबहादुर पन्तले भन्नुभयो । प्रहरीले न्याय नदिई यातना  दिईरहेको उहाँले ताउनु भयो । २०८० असार १० गते देखि ठडेन्द्रबहादुर पन्तको शव धुलिखेल अस्पतालको मुर्दा घरमा राखिएको छ ।  भुम्लु १ सापिङ्गका वडा अध्यक्ष लेखबहादुर श्रेष्ठ, वडा सदस्य दानकुमारी महत खत्री र टोल सुधार समितिका अध्यक्ष ताराबहादुर पन्तले २०८० असार ८ गते भेटेर तथा फोनमा समेत ठडेन्द्रलाई लब्सिको रुखमा बाँधेर भए पनि पास नभएको जग्गामा भवन बनाउँछु भनेकै पर्सिपल्ट जग्गाकै छेउमा रहेको लब्सिको रुखमा झुण्डिएको अवस्थामा ठडेन्द्रको शव फेला परेको थियो । वडा अध्यक्ष र सदस्यको धम्की पछि आत्महत्या गरेका भुम्लु १ सापिङ्ग उर्लेनीका ठडेन्द्रप्रसाद पन्तका छोरा र भतिजाले दिएको आत्महत्या दुरुत्सहान गर्न बाध्य बनाएको अभियोगको जाहेरी जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले असार १८ गते  दिउँसो दर्ता गरेको थियो । असार ९ गते साँझ घरबाट निस्किएका पन्तको शव असार १० गते विहान झुण्डिएको अवस्थामा फेला परेको थियो ।