बनेपा ८ मा रहेको शुभारम्भ डेरी एण्ड एग्रोभेट रिसर्च प्रालीले उपभोक्ताहरुलाई विक्री गर्न प्रशोधित दुग्ध तथा खाद्य पर्दाथ न्यून गुणस्तरको उत्पादन गरी विक्री वितरण गरेको पुष्टी भएको छ । दाना पदार्थ, दुग्ध पदार्थ र होटल ब्यवसायमा गरिएको अनुगमन र त्यहाँबाट संकलित खाद्य सामाग्रीको नमुनाका आधारमा जिल्ला बाहिरका ६ उद्योगबाट उतपादिन सामाग्री पनि मापदण्ड विपरित रहेको पुष्टी भएको छ ।
विभिन्न समयमा भएको अनुगमनका क्रममा उक्त डेरी मार्फत विक्री वितरण हुने सामाग्री न्यून गुणस्तरको भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिएको छ । जिल्ला स्तरीय समिक्षा कार्यक्रममा कार्यालयको तर्फबाट कार्यालय प्रमुख मनिषा चापागाईले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा आर्थिक वर्ष २०७९÷२०८० मा जिल्ला अदालतमा उक्त डेरी विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको उल्लेख छ । जिल्ला अदालत काभ्रेपलाञ्चोकमा उपभोक्तालाई न्यून स्तरको दुग्ध सम्वन्धी खाद्य पदार्थ विक्री वितरण गरेको अभियोगमा कारवाहीका लागि २०७९ साउन ४ गते मुद्दा दर्ता गरिएको उहाँले बताउनु भयो । सोहि अािर्थक वर्षको अन्त्यसम्ममा ५४ किसिमका खाद्य बस्तु जफत गरी नष्ट गरिएको चापागाईले बताउनु भयो । १३ वटा उद्योगहरु अनुज्ञापत्रको दायरा भित्र आएका थिए भने अनुज्ञापत्र नलिईकन संचालन भएका केहि उद्योगहरुलाई कारवाही गरिएको उहाँले बताउनु भयो । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा अनुज्ञापत्र नलिई उद्योग संचालन गरेको अभियोगमा बनेपा ६ मा रहेको तिमल्सिना प्याकेजिङ्ग एण्ड फुड प्रोडक्स प्रालीलाई कारवाही गरेको थियो । चिया विक्री वितरणका लागि अनुज्ञापत्र नलिएको भन्दै जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । त्यस्तै अदालतमा बनेपा ८ मा रहेको चण्डेश्वरी स्पेशल ताजा गुदपाक भण्डारलाई पनि अनुज्ञापत्र नलिएकोमा मुद्दा दायर गरिएको थियो । गाई भैसीको मास दानामा प्रयोग गरिने सामाग्री र उत्पादित दाना दुषित भएको उल्लेख गर्दै जेएम दाना उद्योग बनेपा ८ लाई पनि मुद्दा दर्ता गरिएको थियो । विना लेवल खाद्य पदार्थ विक्री गरेको अभियोगमा बनेपा ८ मा रहेको इभर फ्रेस बेकरी विरुद्ध पनि मुद्दा दायर गरिएको थियो ।
प्रशोधित सुर्यमुखी तेल, दही, चिया, मिक्स मसला र पुष्टकारीको प्रतिकुल नमुनाको विवरण संकलन गरेको थियो । बटरफ्लाई फ्रुट क्यानिङ्ग कम्पनी, बत्तिसपुलती, काठमाडौबाट उत्पादित ‘मिक्स पिकल’ खाद्य पदार्थ दुषित भएको भन्दै जिल्लाबाट खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौलाई २०७९ साउन १७ गते मिसिल पठाईएको छ । तुलसीपुर दाङमा रहेको स्वर्गद्धारी वि कन्र्सन प्रालीद्वारा उत्पादित मह दुषित भएको प्रमाणीत भएसँगै २०७९ असोज २ गते दाङमा मिसिल पठाईएको छ । ललितपुर ठेचेमा रहेको सगुन ओइल एण्ड घी प्याकिङ्ग इन्ड्रस्ट्रिज प्रालीले उत्पादन गरेको तोरीको तेल न्यून गुणस्तरको रहेको पुष्टी भएको छ । २०७९ असोज ४ गते नमुना संकलन गरी काठमाडौ जिल्लालाई मिसिल फाईल पठाईएको छ । मनोहरा १४, काठमाडौमा रहेको बद्रिनाथ घि प्याकिङ उद्योगबाट उत्पादित बेकरी सर्टेनिङ्ग न्यून गुणस्तरको रहेको छ । काभ्रेको बजारमा फेला परेको अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स प्राली विरगंजबाट उत्पादित बनस्पती घ्यू अखाद्य पाईएको छ । उक्त उद्योग विरुद्ध २०७९ असोज १३ गते विरगञ्जमा मुद्दा दायरका लागि मिसिल पठाईएको छ । त्यस्तै पतञ्जली आयुर्वेद प्राली बाराले उत्पादन गरेको मह दुषित रहेको पाईएको छ । २०७९ असोज १३ गते विरगञ्जको खाद्य प्रविधि कार्यालयलाई काभ्रेले मिसिल पठाईएको कार्यालय प्रमुख मनिषा चापागाईले बताउनु भयो ।
यि उद्योगका उत्पादीत सामाग्री अखाद्य
– बनेपा ८ मा स्थित शुभारम्भ डेरी एण्ड एग्रोभेट रिसर्च प्राली दुग्धजन्य सामाग्री
– बटरफ्लाई फ्रुट क्यानिङ्ग कम्पनी, बत्तिसपुलती, काठमाडौबाट उत्पादित ‘मिक्स पिकल’
– तुलसीपुर दाङमा रहेको स्वर्गद्धारी वि कन्र्सन प्रालीद्वारा उत्पादित मह
– ललितपुर ठेचेमा रहेको सगुन ओइल एण्ड घी प्याकिङ्ग इन्ड्रस्ट्रिज प्रालीले उत्पादन गरेको तोरीको तेल
– मनोहरा १४, काठमाडौमा रहेको बद्रिनाथ घि प्याकिङ उद्योगबाट उत्पादित बेकरी सर्टेनिङ्ग
– अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स प्राली विरगंजबाट उत्पादित बनस्पती घ्यू
– पतञ्जली आयुर्वेद प्राली बाराले उत्पादन गरेको मह





