2026 August 25/ 12:19: 50pm

बनेपा/ नेपालमा अहिले गाईभैँसीमा लाग्ने लम्पी स्किन रोग तीव्र गतिमा फैलिरहेको छ । क्याप्री पक्स भाइरसको संक्रमणबाट बिशेषगरी गाईमा लाग्ने यो रोग भैँसीमा भने विरलै देखिएको छ । नेपालका ७ वटै प्रदेशका विभिन्न जिल्लामा यो रोग फैलँदा दूध उत्पादनमा ठूलो मात्रामा ह्रास आएको  बताएको छ भने  किसानका अनुसार यो रोगको संक्रमण भएको लैनो गाईमा दूध दिने क्षमता ७० प्रतिशतसम्म घटेको पाइएको छ । गाईभैँसीमा यो रोग देखा परेमा ज्वरो आउने, झोक्राउने, दानापानी कम खाने, दूध उत्पादन घट्ने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ¥याल काढ्ने, लिम्फनोडहरू सुनिने र अन्त्यमा मृत्यु हुने जस्ता लक्षण देखा परेको बताएका छन् । 
त्यसै बनेपा नगरपालिकाको विशेष गरी १,२,३ र ४ मा उक्त रोग धेरै फैलिएको  र अन्य वडामा केहिमा मात्रै देखिएको तर हाल नियन्त्रणमा रहेको बनेपा नगरपालिका पशुपन्क्षी शाखा प्रमुख रामसुन्दर सापकोटाले बताउनु भयो । सापकोटाले पछिल्लो समय किसानहरूले बाच्छी नपाल्ने र हरेक महिनाजसो फर्ममा नयाँ नयाँ गाई भित्र्याउने चलन बढेकाले यो रोग नियन्त्रण गर्न चुनौती सिर्जना भएको बताउनु भयो । बनेपामा मृत्युदर निकै कम भए पनि ६ हजार गाईमा उक्त रोग देखीएको सापकोटाले बताउनु भयो तर उक्त रोगको कारण किसानले ठूलो नोक्सानी व्यहोर्न परेको सापकोटाको भनाई रहेको छ ।
लम्पी स्किन रोग लगाउने भाइरस गोठको वातावरणमा लामो समयसम्म जीवित रहन्छ । यो रोग लागेर मरेका पशुहरूको उचित तरिकाले गाड्ने वा जलाउने कार्य छिटोभन्दा छिटो गर्नुपर्दछ । आफ्नो फर्ममा यो रोग भित्रन नदिन विश्वसनीय स्रोतबाट मात्र गाईभैँसी खरिद गर्नुपर्दछ । यो रोग लागेर गाई हटाएको स्थानमा कम्तिमा २१ दिनसम्म पुनःनयाँ गाई राख्न हुँदैन र नयाँ गाई राख्नुपर्दा पनि कम्तिमा २८ दिन पहिले यो रोग विरुद्धको खोप लगाएको गाईहरू मात्र खरीद गर्नुपर्दछ  सापकोटाले बताउनु भयो । त्यस्तै किसानले जैविक सुरक्षालाई विशेष ध्यान दिने, गोठलाई झिङ्गा, लामखुट्टे तथा अन्य किराबाट मुक्त राख्ने, सरसफाइमा जोड दिने गर्नुपर्ने सापकोटाले बताउनु भयो । 
 सापकोटाले यो रोग लाग्न र फैलन नदिने सबैभन्दा प्रभावकारी विधि खोप देखीएको बताउनु भयो । रोगको छिटो निदान गरी नियन्त्रण गर्न पशु प्राविधिकहरूलाई नमूना संकलन, प्रेषण तथा रिपोर्टिङ सम्बन्धि अभिमुखीकरण सबै वडामा गरिएको नगर प्रमुख शान्ति रत्न शाक्यले बताउनु भयो । 
नगर प्रमुख शाान्ति रत्न शाक्यले नगरपालिकाले नगरबासीहरका लागी उक्त रोगको निशुल्क उपचार  र खोख लगाउदै आएको र किसानहरुलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । किसानहरुको गोठमै पुगेर नगर प्रमुख शान्ति रत्न शाक्य, उप प्रमुख विमला सापकोटा, २ नम्बर वडा अध्यक्ष राम प्रसाद घिमिरे, वडा नम्बर ३ का वडा अध्यक्ष रमेश प्रसाद दाहालले किसानहरुलाई नआति अन्य समयमा भन्दा थप गोठ तथा गाईलाई सरसफाई, आहार एवं स्याहार गर्न  सुझाब दिनु भयो । स्थानिय सरकार किसानहरुको दुख र सुखमा सगै रहेको समेत प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । स्थानिय किसानहरुले पनि नगरपालिकाले उचित राहतको ब्यबस्था गर्नु पर्ने बताएका थिए । उक्त लम्पी स्कीन रोग बिस्तारै कम हुदै गएको किसानहरुले बताएका थिए ।