2026 August 25/ 12:19: 28pm

धुलिखेल/२०७९ साउन देखि २०८० असार २० सम्म रोजगारका लागि जिल्लाबाट ९ हजार ३ सय ३७ जना विदेशिएका छन् । १९ हजार नागरिकले जिल्लाबाट राहदानी बनाउँदा बैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिनेहरुको संख्या आधा देखिएको हो । नेपालबाट दैनिक सरदर २ हजार २ सय बैदेशिक रोजगारमा जाने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । 
    ‘बैदेशिक रोजगारीमा जाने प्रयोजनका लागि ९ हजार ३ सय ६७ जनाले अनुमति लिएका छन्’– सिबिक फोरमका प्रमुख कार्यकारी अधिकृत बसन्त कुँवरले भन्नुभयो–‘राहदानी प्राप्त गरेका मध्ये १३ हजार ७ सय ७६ जनालाई बैदेशिक रोजगार सम्वन्धी परामर्श दिईएको छ ।’ काभ्रेपलाञ्चोक जिल्लाका धुलिखेल, मण्डनदेउपुर, रोशी र भुम्लुमा सुरक्षित आप्रवासन कार्यक्रम लागु भएको छ भने जिल्ला प्रशासनमा राहदानीको सेवा लिन आउने नगारिकहरुलाई परामर्श प्रदान गरिदै आएको छ । उक्त कार्यक्रम सिविक फोरमले स्थानीय सरकारसँगको समन्वयमा गरिरहेको छ । धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय सरकारमा उक्त कार्यक्रमले पारेको प्रभाव र त्यसको निरन्तरताका लागि आगामी वर्ष गर्नु पर्ने सुधार सहितका विषयमा छलफल भएको थियो । 
    ‘सामी कार्यक्रम स्थानीय सरकारमा प्रभावकारी भएको छ । बैदेशिक रोजगारमा जाने नागरिकहरुले सुचना र सिप प्राप्त गरेका छन’–नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘बैदेशिक रोजगारबाट फर्किएकाहरुको सिपलाई सदुपयोग गरी स्थानीय सरकारले गरिबी निवारण तथा आयआर्जनमा जोड्न सामुहिक कार्यक्रम संचालन गर्नु पर्छ । त्यसका लागि तिन तहकै सरकारको समन्वय आवश्यक छ ।’ बैदेशिक रोजगारमा जानै नपर्ने गरी रोजगार सिर्जना गर्न तथा गएकाहरु फर्किँदा उनिहरुले प्राप्त गरेको सिप र पुँजीलाई उपयुक्त क्षेत्रमा लगानी गर्ने वातावरण सरकारले बनाउनु पर्ने नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । नेपालको कुल राजश्व भन्दा धेरै बैदेशिक रोजगारमा जानेहरुबाट प्राप्त हुने रकम धेरै हुने गरेको बताउँदै नगर प्रमुख ब्याञ्जुले बैदेशिक रोजगारमा गएकाहरुको शारिरिक, मानसिक र श्रमको उचित मुल्यांकन गर्ने गरी सहि सूचना र परामर्श दिनु पर्ने प्रमुख ब्याञ्जुले बताउनु भयो । 
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, मण्डनदेउपुर नगरपालिका उपाध्यक्ष विष्णुमणी नेपाल, रोशी गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईवा, धुलिखेल नगरपालिका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मगर, रोशीका रामबहादुर तामाङ, वडा अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो । सहभागिहरुले सामी कार्यक्रम निरन्तरता दिन र बैदेशिक रोजगारमा जानेहरुलाई सहि सूचना परामर्श र सिप सिक्ने प्रेरित गर्न प्रभावकारी रुपमा कार्यक्रम संचालन गर्ने सुझाव दिनु भएको छ । एक वर्षको अवधीमा बागमति प्रदेशबाट १९ हजार १ सय ४८ जना बैदेशिक रोजगारमा गएका छन् ।