2026 August 25/ 12:19: 50pm

– बालुवा, ढुङ्गा, गिट्टीबाट ५ करोड आम्दानी हुने अनुमान

    भुम्लु/भुम्लु गाउँपालिकाले आर्थिक वर्ष २०८०÷२०८१ का लागि ५८ करोड ६८ लाख लाख १८ हजार रुपैयाको अनुमानित आय ब्यय प्रस्तुत गरेको छ । अनुमानित बजेटमा वडा स्तरीय योजनाका लागि ३ करोड ५० लाख, गाउँपालिका स्तरीय योजनाका लागि २ करोड ५० लाख, समपुरक योजना १ करोड ३० लाख, प्रशासनिक ब्यय १४ करोड ५० लाख, सिर्जित दायित्व २ करोड ५ लाख र विषयगत  शाखाहरुका लागि ८ करोड रकम विनियोजन भएको छ । 
    भुम्लु गाउँपालिकामा संघीय सरकार अन्र्तगत समानीकरण अनुदान, शशर्त अनुदान, विशेष अनुदान, समपुरक अनुदान, राजश्व बाँडफाँड तथा प्रदेश सरकार तर्फ थप रावश्व बाँडफाँड, स्थानीय तहको आन्तरिक आय समेत गरी बजेट तर्जुमा गरेको छ । गिट्टी, ढुङ्गा बालुवाबाट ५ करोड र अन्य राजश्व आम्दानी स्वरुप १ करोड ५० लाख आम्दानीको अनुमान गरिएको छ । गाउँपालिका अध्यक्ष प्रेम भुजेलले आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममा गरिव, अपांग, दलित तथा पिछडा वर्गलाई निशुल्क स्वास्थ बिमा, योग, ध्यान केन्द्र स्थापना, सरकारको नीति अनुसार विद्यालयमा प्रधानाध्यापक खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति अनिवार्य गर्ने कार्यक्रम घोषणा गरेका छन् । 
    विद्यालयको पठनपाठनमा प्रगति विवरण पेश गर्न विद्यालय व्यवस्थापन र प्रअसँग वार्षिक सम्झौता गरिने उहाँले बताउनु भयो । खेलकुदको क्षेत्रलाई अपनत्व दिलाउन पालिका कप प्रतियोगिता संचालन गर्ने, संघिय नीति अनुसार विद्यार्थीले  पढदै, कमाउदै गर्ने सिप मुलक कृयाकलापलाई भुम्लु गाँउपालिकाले सुरु गर्ने भएको छ । आयुर्वेद स्वास्थलाई ध्यानमा राखेर कुनै दुई प्रकारका जडिबुटीका गहन अध्यायन गर्ने लगायत पर्यटन प्रर्वद्धनका कार्यक्रम प्रस्तुत बजेटमा घोषणा भएको छ । 
    उपाध्यक्ष जितेन्द्रमान तामाङले आर्थिक वर्ष २०८०÷२०८१ को विनियोजन विधेयक प्रस्तुत गर्नु भयो भने प्रशासकिय अधिकृत विष्णुप्रसाद सुवेदीले कार्यक्रम संचालन गर्नु भएको थियो । सभामा उपस्थित सदस्यहरुले आ– आफ्ना सुझाव प्रस्तुत गरेका थिए । प्रस्तुत नीति तथा कार्यक्रम, बजेट  केही ऐनहरु बहुमतले पारित गरेको छ ।