2026 August 25/ 12:19: 50pm

    पनौती/नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पनौती रुट इकाईले संगठनको स्थापना दिवसको अवसरमा संस्थापक तथा उत्कृष्ट चालकहरुलाई सम्मान गरेको छ । केन्द्रिय अध्यक्ष भिमज्वाला राई, उपाध्यक्ष नवराज घिमिरे लगायतका नेताहरुले चालक तथा संस्थापकहरुलाई सम्मान गर्दै संगठनलाई नगर कमिटीको रुपमा रुपमा रुपान्तरण भएको घोषणा गर्नु भएको थियो । 
    काभ्रे पुण्यवती प्रालीका अध्यक्ष राजेशसुन्दर सैजु, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका बागमती प्रदेश उपाध्यक्ष वेदप्रसाद घिमिरे, नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा मजदुर इन्चार्ज विदुर खत्री, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका बरिष्ठ सईद्धय राजेश दाहाल र यज्ञबहादुर पाल, संगठनका पनौती अध्यक्ष सुनिल धाँजु, उपाध्यक्ष चन्द्रलाल श्रेष्ठ, सचिव परशुराम सापकोटा लगायतले सम्मानित ब्यक्तिहरुलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए । 
    संस्थापकहरु रामप्रसाद श्रेष्ठ, अर्जुन शाही, प्रेमबहादुर प्रधान, रामकाजी खड्गी, गौतम पसंक्षे, विदुर खत्री, बालकृष्ण पसँक्षे, जगतबहादुर श्रेष्ठ, चन्द्रदलाल श्रेष्ठ, सुर्यकुमार रञ्जितकारलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो भने लामो समय चालक रही यात्रुहरुलाई सेवा पु¥याउनु भएका रवि श्रेष्ठ, राममाया श्रेष्ठ, अर्जुन तिमल्सिना, श्यामकृष्ण श्रेष्ठ, हरिकुमार प्रधान, शिव तिमल्सिना, रमेश ताम्राकार, देवेन्द्र खत्री, रामबहादुर राउत र नरेन्द्र बस्नेतलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष भिमज्वाला राईले पञ्चायतकालमा मिसनका साथ शुरु भएको संगठनको उदेश्य माथी थोरै परिवर्तन भएको बताउनु भयो । ‘प्रजातन्त्र प्राप्तीका लागि समेत संगठित हुनु पर्ने अवस्थाबाट शुरु भएको संगठन आज थुप्रै क्षेत्रको वकालत गर्ने अवस्थामा पुगेको छ’–अध्यक्ष राईले भन्नुभयो–‘मजदुरहरुका तमाम समस्या समाधानका लागि यातायात मजदुर संगठनले खेलेको भूमिका महत्वपूर्ण छ ।’ 
    ‘मजदुरहरु जिम्मेवार भएर सवारी साधनको मात्रै होईन, समग्र यात्रुहरुको समेत जिम्मेवारी लिनु भएको छ’– अध्यक्ष राईले भन्नुभयो–‘यातायात क्षेत्रका तमाम समस्यालाई समाधान गर्दै गुणस्तरीय सेवालाई प्रभावकारी बनाउन संगठन र संगठनमा आवद्ध सदस्यहरु कृयाशिल छन् ।’ राज्यले मजदुरलाई हेर्ने दृष्टिकोण र गर्ने ब्यवहार फरक फरक भएकाले संगठनका तर्फबाट निरन्तर मजदुरकै हितमा काम गर्ने गरी वकालत भईरहेको राईले बताउनु भयो । कार्यक्रममा संगठनका केन्द्रिय उपाध्यक्ष नवराज घिमिरेले यातायात क्षेत्रलाई ब्यवस्थित बनाउन, संगठनलाई कृयाशिल बनाउन, मजदुरहरुलाई समय समयमा प्रशिक्षित गर्न निरन्तर सक्रिय भईरहेको बताउनु भयो । काभ्रे पुण्यवती प्रालीका अध्यक्ष राजेशसुन्दर सैँजुले ब्यवसायीहरुको हितका लागि मजदुरहरुले पु¥याएको योगदानको चर्चा गर्नु भयो । मजदुरहरुले स्वरोजगार तथा स्वधनी बन्ने अभियानमा लाग्न सैजुले अनुरोध गर्नु भयो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका बरिष्ठ सई राजेश दाहालले दुर्घटना न्यूनीकरणका लागि मजदुर, ब्यवसायी र सरोकारवाला निकायहरुको उत्तिक्कै भूमिका हुने बताउनु भयो । 
    अध्यक्ष सुनिल धाँजुले संगठनले मजदुरहरुलाई प्रशिक्षण मार्फत दुर्घटना न्यूनिकरण तथा सुरक्षित यात्राका लागि समय समयमा जानकारी गराईरहेको बताउनु भयो ।