धुलिखेल/धुलिखेल नगरपालिकाले जिल्लामै पहिलो पटक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ३ हजार ५ सय ४ जनाको रकम सिधै सम्बन्धित ब्यक्तिको खातामा जम्मा गरिदिएको छ ।
देशभरका ७ सय ५३ वटा पालिकाहरु मध्ये धुलिखेल ५० वटा स्थानीय तहको परिक्षणमा थियो । जिल्लाको पहिलो पालिकाका रुपमा धुलिखेलले सामाजिक सुरक्षा भत्ता सम्वन्धित ब्यक्तिलाई उपलब्ध गराएर नमुना कार्य गरेको छ । बैकमा चेक र सूची पठाएर सम्वन्धित ब्यक्तिको खातामा रकम जम्मा गर्दा १५ दिनको समय लाग्ने गरेकोमा त्यो झन्झट हटेको छ । बैकले गर्दै आएको कार्य नगरपालिका आफैले गरिदिएर नागरिकहरुका लागि थप सहज बनाएको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने मध्ये १ सय ६६ जनाको विविध कारण बैकमा जम्मा हुन सकेको छैन । उनिहरुको चेक मार्फत जम्मा हुनेछ । सामाजिक सुरक्षा भत्ताका सन्दर्भमा पटक पटक स्थानीय सरकारहरुका कार्यशैली र पारदर्शिताका विषयमा नागरिकहरुले गुनासो गर्दै आएका थिए भने जेष्ठ नागरिकहरुले ब्यहोर्ने परेको कठिनाईका बारेमा पनि चर्चा हुँदै आएको थियो । धुलिखेल नगरपालिकाले नमुना कार्यका रुपमा सामाजिक सुरक्षा भत्ता सम्वन्धित ब्यक्तिका खातामा जम्मा गरेको छ । चालु आर्थिक वर्षको चौथो त्रैमासिक रकम सम्वन्धित ब्यक्तिको खातामा जम्मा भएको हो ।





