– पालिकामा बजेट प्रभावित
धुलिखेल/मालपोत कार्यालय काभ्रेपलाञ्चोकमा चालु वर्षको जेष्ठ मसान्तसम्म ५१ करोड ३४ लाख ९६ हजार ७ सय ३४ रुपैया राजश्व संकलन भएको छ । अघिल्लो वर्षको जेष्ठ मसान्तसम्म १ अर्ब ११ करोड ५६ लाख रुपैया राजश्व संकलन भएको थियो । मालपोत कर कम संकलन हुँदा पालिकाहरुलाई चाप परेको छ ।
‘जग्गा बर्गिकरण पछि मात्रै कारोवार गर्ने अनिवार्य ब्यवस्था लागु भएसँगै घरजग्गामा आएको मन्दीका कारण राजश्व संकलन कम भएको हो’–प्रमुख मालपोत अधिकृत ऋषिकुमार दाहालले भन्नुभयो–‘जग्गा कारोवार कम हुँदा राजश्व पनि घटेको छ ।’ चालु वर्षको जेष्ठ मसान्तसम्म जिल्लाका १३ पालिकाहरुले प्राप्त गर्ने राजश्व पनि बाँडफाँड भएको छ । जसअन्र्तगत बनेपा नगरपालिकाले १० करोड, धुलिखेल नगरपालिकाले ४ करोड ७९ लाख, नमोबुद्ध नगरपालिकाले १ करोड ७७ लाख, मण्डनदेउपुर नगरपालिकाले २ करोड २५ लाख, पाँचखाल नगरपालिकाले ३ करोड ६० लाख, पनौती नगरपालिकाले ३ करोड ३६ लाख रुपैया प्राप्त गरेका छन् । त्यस्तै गाउँपालिका तर्फ बेथान्चोकले २४ लाख, खानिखोलाले ५ लाख ७९ हजार, रोशीले २४ लाख ७८ हजार, तेमालले १० लाख ७१ हजार र महाभारत गाउँपालिकाले ६ लाख ६४ हजार राजश्व प्राप्त गरेका छन् । त्यस्तै भुम्लु गाउँपालिकाले १२ लाख ८२ हजार, चौरीदेउराली गाउँपालिकाले १० लाख रुपैया राजश्व मालपोतबाट प्राप्त गरेका छन् ।
अघिल्लो आर्थिक वर्षमा यो रकम दोब्बर भन्दा धेरै थियो । पालिकाहरुले मालपोत कर अघिल्लो आर्थिक वर्षमा भन्दा धेरै संकलन हुने अपेक्षा गरेर अनुमानित बजेट त्यहि अनुसार विनियोजन गरेका थिए । केहि पालिकाहरुले उक्त रकम नआए पछि बजेट शंशोधन गरेका थिए भने केहिले ऋणात्मक बजेटमा काम गरेका छन् ।





