- प्रहरीले शुरु ग¥यो पीडितमैत्री कक्ष
- हरेक दिन उजुरी गर्न सक्ने
- संस्थागत तर्फ छैन समस्या
- पारिवारीकमा संकट
धुलिखेल/आर्थिक संकटको चाप बढिरहेका बेला सहकारीहरुले लगानी गरेको ऋण असुली हुन नसक्दा मुद्दाको सहारा लिन थालेका छन् । सहकारीलाई मुद्दा राख्नेहरुको संख्या पनि थपिएको छ भने सहकारीहरुले मुद्दा दर्ता गर्ने क्रम पनि बढेको छ । बचतकर्ता र सहकारी बीचको अविश्वासको खाडल गहिरिदै जान थालेको छ ।
सहकारीले बचत फिर्ता नदिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा ठगी मुद्दा दर्ता भएको छ । प्रहरीले पहिलो पटक बनेपाको पुण्यश्वर सहकारीले गरेको ठगीका बारेमा अनुसन्धान शुरु गरेको एसपी भागेन्द्रपुरुष ढकालले जानकारी दिनुभयो । सूचना अधिकारी एवं जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएस्पी ढुण्डीराज न्यौपानेका अनुसार जिल्ला प्रहरी कार्यालय काभ्रेले पहिलो पटक आर्थिक अपराध अनुसन्धान सेल गठन गरेको छ । प्रहरी निरिक्षक रजोस घिमिरेलाई अनुसन्धान अधिकृत तोकेर आर्थिक अपराधका घटनामा अनुसन्धान शुरु गरिएको न्यौपानेले बताउनु भयो । ‘जिल्लामा सहकारी मार्फत अर्थात सहकारीका आर्थिक गतिविधिमा हुने अनियमितता र मिटर ब्याजका सम्वन्धमा अनुसन्धान गर्न अलग्गै सेल बनाएका छौं’–प्रहरी प्रमुख एसपी भागेन्द्र पुरुष ढकालले भन्नुभयो–‘नागरिकहरुले जुनसुकै अवस्थामा पनि आर्थिक गतिविधिबाट आफु ठगिएको महसुस गरेको अवस्थामा उजुरी दिन सक्ने ब्यवस्था मिलाएका छौं ।’
पुण्यश्वर सहकारीका २७ जनाले सहकारीले रकम फिर्ता दिन नसकेको र संचालकहरु फरार भएको बताउँदै रकम फिर्ता माग गर्दै संचालक विरुद्ध ठगी अभियोगमा जाहेरी दिएका छन् । सोहि सहकारीका अध्यक्ष डम्बरप्रसाद गौतमले बचतकर्ता विरुद्ध नै मुद्दा राखेर बचत फिर्ता नदिने तयारी गरेका छन् । प्रहरीले उनि सहित उनका छोरा कुमार गौतम र अन्यलाई ठगी अभियोगमा अनुसन्धान गरिरहेको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालयमा अर्काे एउटा सहकारीको पनि उजुरी दर्ता भएको छ । सहकारीले धेरै ब्याज लिएको भन्दै प्रहरीकोमा उजुरी गर्नेहरु पनि छन् । धितो लिएर लिलामी गरेको ऋण तिर्दा फिर्ता नदिएको भन्दै उजुरी पनि परेको छ । यहि अवधीमा जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याजी विरुद्ध परेका २० वटा र लेनदेन सम्वन्धीका ११ वटा उजुरीका बारेमा पनि प्रहरीले अनुसन्धान शुरु गरेको छ । १२ वटा उजुरीमा मिलापत्र भईसकेको प्रहरी निरिक्षक रजोस घिमिरेले बताउनु भयो । प्रहरी प्रधान कार्यालय तथा विभागहरुले मिटर ब्याज लिने र दिनेका सन्र्दभमा पीडितलाई न्याय हुने गरी पीडक सम्र्पकमा आएर छलफल गर्न चाहेको अवस्थामा छलफल गराउने र मिलापत्र गर्ने तहमा पुगे भने मिलापत्र गराएर उजुरी फछ्र्याैट गर्न गरेको परिपत्र अनुसार काभ्रेमा परेका दर्जनौ उजुरीका बारेमा छलफल भईरहेको प्रहरीले जानकारी दिएको छ । जिल्ला अदालत काभ्रेपलाञ्चोकमा भने ६७ वटा सहकारीका मुद्दा दर्ता भएका छन् । एक आर्थिक वर्षमा कर्जा असुली (लेनदेन) अभियोगमा ५७ थान मुद्दा दर्ता भएका छन् भने चेक अनादरमा १० वटा मुद्दा दर्ता भएका छन् । कर्जा असुलीमा बादी ५४ जना र प्रतिवादी ३ जना छन् भने चेक अनादारमा ७ जना बादी र ३ जना प्रतिवादी छन् । इजी बचतले रकम फिर्ता गर्न नसकेको भन्दै बनेपाका राजकुमार प्रजापतिले हिसाव गराई पाउँ भन्दै अभियोग दर्ता गराएका छन् । दैनिक सहकारीले रकम फिर्ता नगरी संचालकहरु फरार भएका उजुरी प्रहरीकोमा पुग्न थालेका छन् । बनेपाका संस्थागत बाहेक ब्यक्तिगत सहकारीमा पछिल्लो समय समस्या देखिन थालेको छ ।
बचत फिर्ता गर्नै कठिन
बनेपाका केहि सहकारीहरुले बचत फिर्ता गर्न सकिरहेका छैनन् । बनेपामा रहेको सामाजिक सहकारीले बचतकर्ताहरुलाई रकम फिर्ता गर्न सकेको छैन । बचतकर्ताहरुले रकम फिर्ताका लागि दैनिक कार्यालय पुगेर अनुरोध गरे पनि संचालक नभेटिने र कर्मचारीले फिर्ता दिन नसकेको गुनासो गरेका छन् । बनेपाकै गरुड सहकारीले बचतकर्ताहरुको रकम फिर्ता दिन सकेको छैन । गरुडका संचालक फरार छन् भने अन्य सहकारीमा पनि रकम अभाव हुन थालेको छ । लिएको ऋण नतिर्ने र बचत फिर्ता लिन आउनेहरुको संख्या धेरै भएकाले असहज भएको सहकारीहरुले बताएका छन् । मुकुल सहकारीले पनि बचतकर्ताहरुको रकम फिर्ता गर्न सकेको छैन ।





