धुलिखेल/सदरमुकामसँग जोडिएको साविक देवीटार गाविस हाल धुलिखेल नगरपालिका वडा नम्वर १ मा सडक शिल्यान्यासको ३३ वर्ष पछि कालोपत्रे शुरु भएको छ । २०४७ सालमा ढुँडामुख देवीटार जोडिने सडक खन्न शिल्यान्यास भए पनि कालोपत्रे हुन सकेको थिएन । २०५२÷०५३ सालमा विश्व खाद्य संगठनले चामल सहयोग उपलब्ध गराएर खनिएको सडक पक्की नहुँदा नागरिकहरुले सास्ती ब्यहोर्दै आएका थिए ।
बामगती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत तत्कालीन मन्त्री रामेश्वर फुँयालले उक्त सडकका लागि संघीय मन्त्री गोकुल बास्कोटाको विशेष निर्देशन पछि ढुँडामुख देवीटार घुमाउनेचौर फेदी सडक निर्माणका लागि रकम विनियोजन गर्नु भएको थियो । धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु लगायत तत्कालिन निर्वाचित जनप्रतिनिधिहरुले उक्त सडकलाई प्राथमिकतामा राख्ने निर्णय गर्दै बजेटका लागि अनुरोध गरेको थियो । एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य लक्ष्मण लम्सालले उक्त सडकको डिपिआरका लागि सहयोग गर्नु भएको थियो । डिपिआर भए पनि बजेट पार्न नसके पछि संघीय मन्त्री एवं एमाले पोलिटब्युुरो सदस्य गोकुल बास्कोटाले प्रदेश मन्त्री फुँयाललाई निर्देशन दिनु भएको थियो । बाँस्कोटालाई तत्कालीन वडा अध्यक्ष रमेश घोरासाईने लगायत स्थानीय नेताहरु र धुलिखेल नगरपालिकाका जनप्रतिनिधिहरुले लिखित अनुरोध गरेका थिए ।
२४.५ किमी सडक मध्ये ढुडाँमुख देवीटार खण्डको ६ किमी सडक पहिलो पटक कालोपत्रे हुन लागेको हो । ३५ करोड विनियोजन गरेको प्रदेश सरकारले उक्त खण्डका लागि २६ करोडमा बोलपत्र आब्हान ग¥यो । १७ करोड ६ लाख ७० हजार रुपैयाँमा सम्झौता भई २०७८ भदौ १ गतेबाट काम गरेको उक्त कम्पनीले २०८० असार १८ गते कार्य सम्पन्न गर्नुपर्नेमा त्यो अगावै निर्माण सम्पन्न गरेर हस्तान्तरणको तयारीमा छ । सडक कालोपत्रेसँगै सडक आसपास दुबै तर्फ बृक्षारोपण, सडकमा ट्राफिक नियम तथा जोखिम भएका स्थानमा सडक पोल र अन्य पूर्वाधारहरु राख्नेछन् । ६ किमी सडक कालोपत्रे भए पछि स्थानीयहरुले देविटारमा तीन महिना अगावै दशै भित्रिएको भन्दै खुशी मनाउन थालेका छन् ।
‘हाम्रो जीवनमा सडक कालोपत्रे हुन्छ र सुख सुविधा प्राप्त हुन्छ भन्ने अपेक्षा पनि गरेका थिएनौ’– स्थानीय सुर्यबहादुर लामाले भन्नुभयो–‘तीन महिना अगावै दशै आएको अनुभव भयो ।’ ‘सडकक कच्चि हुँदा बालबालिका, जेष्ठ नागरिक र कृषक तथा सर्वसाधारण जोखिममा थिए’–स्थानीय छेनाम लामाले भन्नुभयो–‘अब सहज रुपले हामीले उत्पादन गरेको तरकारी तथा विरामीहरुलाई सहज रुपमा अस्पताल पु¥याउन सकिने भयो ।’ स्थानीय कर्मा लामाले सडक कच्चि हुँदा भोगेका कठिनाईका बारेमा सुनाउँदै पक्कि सडक बनाउन पहल गर्ने जनप्रतिनिधिहरुलाई धन्यवाद दिनु भयो । निवर्तमान वडा अध्यक्ष रमेश घोरसाईनेले स्थानीयका समस्या समाधानका लागि पक्कि सडक निर्माणमा गरेको योगदानका लागि पुर्व मन्त्री बास्कोटा र फुँयाल लगायत नगर प्रमुख ब्याञ्जुलाई धन्यवाद दिदै थप सडक निर्माणका लागि पहल गरिदिन अनुरोध गर्नु भयो । देविटार तरकारी तथा पशुपालनका लागि पकेट क्षेत्र मानिदै आएको छ । सदरमुकामबाट नजिक भए पनि पक्कि सडक नहुँदा विकट बन्दै आएको देविटारको मुहार कालोपत्रे सडकले फेर्ने जनप्रतिनिधि वडा सदस्य लाक्पा लामाले बताउनु भयो ।





