2026 August 25/ 11:41: 26am

– निःशुल्क फाराम, टोकन र टाईम प्रभावकारी
    धुलिखेल/जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले असार ३ गते देखि लागु हुने गरी ५ हजार रुपैयाँ राजश्व तिर्दा ६४ पृष्ठको राहदानी उपलब्ध गराउने भएको छ । राहदानी विभागको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयबाट फाराम भर्ने सेवाग्राहीहरुले उक्त मिति देखि थप पृष्ठको राहदानी प्राप्त गर्नु भएका हुन् । यस अघि सेवाग्राहीहरुले ३४ पृष्ठको राहदानी पाउँदै आएका थिए । 
    ‘यसअघि देशभर ३४ पृष्ठको राहदानी उपलब्ध हुँदै आएको थियो’–प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भन्नुभयो–‘असार ३ गते देखि राहदानीका लागि तस्वीर खिचाउनेहरुले ६४ पृष्ठको राहदानी पाउनेछन् ।’ यसअघि नागरिकहरुले कम पृष्ठको राहदानी हुँदा राज्यबाट ठगिएको गुनासो गर्दै आएका थिए । जेठ महिनामा मात्रै जिल्लाबाट २ हजार ४ सय २९ जनाले राहदानी लिएका छन् भने द्रुत गतिमा ३७ जनाले राहदानी लिएका छन् । जसबाट राज्यले १ करोड २५ लाख रुपैयाँ भन्दा धेरै राजश्व संकलन गरेको छ । 
    राहदानीका लागि संकटको सामना गरिरहेका नागरिकहरुले चालु वर्षको ११ महिनाको अवधीमा १८ हजार ७ सय ७३ जनाले फोटो खिचाएका छन् । फोटो खिचाउनेहरुमा २०७९ साउन महिनामा जिल्लाबाट १ हजार ९ सय ७६ र द्रुत गतिबाट २२, भाद्र महिनामा १ हजार ७ सय ७९ र द्रुत गतिबाट ४५ जनाले राहदानी लिएका छन् । त्यस्तै असोज महिनामा ७ सय १७ जनाले जिल्लाबाट लिएका छन् भने कार्तिक महिनामा १ हजार २ जनाले जिल्लाबाट र दु्रत गतिबाट ८ जनाले लिएका छन् । मंसिर महिनामा ९ सय ७१ जनाले जिल्लाबाट र ५ जनाले द्रुत गतिबाट र पुष महिनामा १ हजार ३ सय ९९ जनाले जिल्लाबाट तथा १३ जनाले द्रुत गतिबाट राहदानी लिएका थिए । माघ महिनामा १ हजार ४ सय ७९, फागुन महिनामा २ हजार २ सय ८९ जना र चैत्र महिनामा २ हजार ५ सय ७० जनाले राहदानी प्राप्त गरेका छन् । त्यस्तै बैशाख महिनामा २ हजार ३२ जनाले राहदानी लिएका छन् भने जेष्ठ महिनामा २ हजार ४ सय ६६ जनाले राहदानी लिएका छन् । राहदानीबाट मात्रै राज्यले ९ करोड ४७ लाख ९५ हजार असुल गरेको छ । 
    माघ महिनासम्म राहदानी प्राप्त गर्नेहरुको संख्याप्रति महिना मुस्किलले पनि दुई हजार पुगेको थिएन । फागुन महिना देखि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले हरेक दिन निःशुल्क राहदानीको फाराम प्रशासन कार्यालय आफैले भरिदिने र फोटो खिचाउन शुरु गरेसँगै राहदानी प्राप्त गर्नेहरुको संख्या थपिएको हो । त्यसअघि नागरिकहरुले हप्ताको दुईदिन सीमित अवधिमा आफै वा साईबरमा पैसा तिरेर राहदानीको फाराम भर्ने गरेका थिए । एकवर्ष अवधिसम्म राहदानीको लागि फाराम भर्न नपाएको गुनासो एकातिर थियो भने अर्काेतिर साईबरहरुले पैसा लिएर पनि राहदानीको फाराम नभरिदिएको गुनासो आउन थालेको थियो । ‘राहदानीका लागि टोकन र टाईम कार्ड उपलब्ध गराएसँगै सार्वजनिक विदाको दिन समेत सेवा प्रवाह गरेका कारण अहिले सेवाग्राहिलाई सहज भएको छ’– प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौड्यालले भन्नुभयो–‘शुरुमा ७ सय भन्दा धेरैले एकै दिन टोकन र टाईम लिएको अवस्था अहिले शुन्य जस्तै हुन थालेको छ । दैनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै नागरिकहरुलाई सेवा प्रदान गरिए पछि राहदानी, राष्ट्रिय परिचयपत्र र नागरिकता लगायतका सेवामा सहज गरिएको पौडेलले बताउनु भयो । राहदानीका लागि जिल्ला प्रशासन कार्यालयले निःशुल्क फाराम भरेर आफ्नो फाराम आफै स्क्रिनमा देखिने गरी फोटो खिचाई रहेको छ । यो देशभरका प्रशासन र विभागमा पनि नमुना कार्य भएको बताईएको छ । सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलले नागरिकहरुलाई सेवामा सहजता र प्रभावकारी दिने उद्देश्यले कार्यालय समय भन्दा थप समय तथा शुरुको अवधिमा सार्वजनिक विदाको समयमा पनि राहदानीका लागि सेवा दिईएको बताउनु भयो । दैनिक एकसय ५० भन्दा धेरै ब्यक्तिहरुले राहदानीका लागि आवेदन दिने गरेका छन् । 

कुन महिना कतिले लिए राहदानी ?
२०७९ साल 
साउन– १९९८
भदौ– १८२४
असोज – ७१७
कार्तिक – १०१०
मसिंर – ९७६
पुष – १४१२
माघ – १४७९
फागुन– २२८९
चैत्र – २५७०
२०८० साल 
बैशाख – २०३२
जेष्ठ – २४६६
जम्मा– १८७७३