धुलिखेल/प्रतिनिधि सभा क्षेत्र नम्वर २ अन्र्तगतका पालिका तथा वडाहरुमा विनियोजित संघ सरकारको बजेटमा पूर्वाधार प्राथमिकतामा पारिएको छ । पुर्व मन्त्री तथा एमाले पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले विनियोजन गरिएका योजनाहरु पूर्वाधारमा केन्द्रित भएको बताउनु भयो ।
‘संघ सरकारले सिधै अर्थात प्रदेश र स्थानीय तह मार्फत खर्च गर्ने गरी योजनाहरु समावेश गरेको छ’–पुर्व मन्त्री बास्कोटाले भन्नुभयो–‘गठवन्धन सरकारले सुझाव दिएका सबै योजनाहरुमा रकम विनियोजन नगरे पनि काभ्रेका गौरवका आयोजना पाँचखालमा मदन भण्डारी विश्वविद्यालय, सुर्यविनायक धुलिखेल सडक, केहि पुल तथा खानेपानी आयोजनाहरुका लागि विशेष पहल गरी बजेट विनियोजन गरिएको छ ।’ अरनिको राजमार्ग विस्तार भए पनि सोहि मार्गमा पर्ने पूलमा रकम विनियोजन भएको थिएन । चालु वर्षमा चार वटा पुल समावेश भएका छन् । बेथान्चोक गाउँपालिकामा पाट्ने खोला पुल समावेश गरिएको छ भने ग्वार्काे कुशादेवी पनौती दाहालटार सडकका लागि रकम विनियोजन भएको छ । धुलिखेल देखि दोलालघाटसम्मको अरनिको राजमार्ग विस्तारका लागि रकम विनियोजन भएको छ । खोपासी ढुंखर्क, च्याम्राङबेशी सुकुमफेदी सडक, जिल्लाका विभिन्न पालिकाका सडकहरु, पाटी संरक्षण, प्रहरी प्रशिक्षण प्रतिष्ठान पनौतीलाई नेपालको तर्फबाट ब्यहोर्नु पर्ने रकम, खेल मैदान, वन संरक्षण तथा सिमसार क्षेत्र ब्यवस्थापन लगायतका कार्यक्रमहरु समावेश भएका छन् ।
खानेपानी तर्फ मण्डनदेउपुर खानेपानी आयोजना, भमरकोट खानेपानी आयोजना, साँगाको ढलन निर्माण तथा प्रशोधन, पाँचखालको खानेपानी, भुम्लु, बेथान्चोक, साँगाको खानेपानी योजनामा रकम विनियोजन भएको छ । बनेपा हिलेजलजले, भैसपाटी, धुलिखेल, पनौती बल्थली, पलाँटे लगायतका योजनामा पनि रकम विनियोजन भएको छ । क्षेत्र नम्वर १, प्रदेश सरकारले पनि जिल्लाका विभिन्न स्थानमा रकम विनियोजन गरेका छन् । पालिका मार्फत पनि सबै वडा समेट्ने गरी बजेट प्रस्तुत हुँदैछ ।





