धुलिखेल/काठमाडौ विश्वविद्यालयको २८ औ दीक्षान्त समारोहको दोश्रो चरणको दीक्षान्त समारोह सम्पन्न भएको छ । दीक्षान्त समारोहमा विभिन्न तहका विभिन्न उपाधीहरु प्रदान गर्न ग्रेसलिस्ट स्वीकृत गर्ने कार्यका लागि बसेको सभाले दीक्षान्त समारोहमा सहभागि हुने विद्यार्थीहरुका लागि उपाधी प्रदान गर्ने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार आईतबार विद्यार्थीहरुलाई दिक्षित गरिएको हो ।
दीक्षान्त समारोहमा पीएचडी ९ जना, एमफिल ४१ जना, स्नात्तकोतर तहका ९८ जना र स्नातक तहका १ हजार ९२ गरी १ हजार २ सय ४० जना विद्यार्थी दीक्षित भएका थिए । दीक्षीत हुनेहरु मध्ये आर्टसमा ३५, एजुकेशन ५७, इन्जिनियरिङ्गका ३ सय ६५, लका १ जना, म्यानेजमेन्टका ५० जना, मेडिकल साईन्सेजका ५ सय ६५ जना र साईन्सका १ सय ६७ विद्यार्थी छन । विश्वविद्यालयको ईतिहासमा पहिलो पटक स्कुल अफ इन्जिनियरिङ्गका ब्याचलर अफ आर्किटेक्चरमा २९ जनालाई उपाधी प्रदान गरेको छ । हालसम्म विश्वबिद्यालयबाट ४१ हजार २ सय ७५ जना विद्यार्थी उर्तिण भएका छन् । दीक्षान्त समारोहमा भारत लगायत ४ वटा देशका ७३ जना विद्यार्थी पनि सहभागि भएका छन् । अघिल्लो वर्षको तुलनामा कोभिड लगायतका कारण विदेशी विद्यार्थीको संख्या घटेको छ ।
दीक्षान्त समारोहमा चान्सलर स्वर्णपदक स्नातकोत्तर तहमा स्कुल अफ एजुकेशनका सिद्धार्थ रजकले पाएका छन् । भाईस चान्सलर स्वर्णपदक स्नातक तहमा स्कुल अफ एजुकेशनकी सन्चिता केसीले पाएकी छिन् । त्यस्तै जुद्धबहादुर श्रेष्ठ स्वर्ण पदक एमविए तहबाट स्कुल अफ म्यानेजमेन्टकी प्रश्ना भट्टराई र रणबहादुर शाह स्वर्णपदक एमविए तहमा स्कुल अफ म्यानेजमेन्टकी आयुस्मा पोखरेलले प्राप्त गर्ने भएकी छिन् । दीक्षान्त समारोहमा कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, मुम्वई विश्वविद्यालय लगायतका विभिन्न विश्वविद्यालयका पुर्व उपकुलपति र हाल एटलास स्किलटिच विश्वविद्यालय मुम्बईका उपकुलपति प्रो.डा राजन बेल्लुकरले दीक्षीत विद्यार्थीहरुलाई बधाई दिनु भएको थियो ।









