2026 August 25/ 10:22: 13am

पस्थली/पनौती १० पस्थली कार्की गाउँमा १४ दिन देखि सडक अवरुद्ध गरिएको छ । अवरुद्ध सडकका कारण तत्काल विरामी अस्पताल पु-याउन संचालन गर्नु पर्ने एम्बुलेन्स तथा मोटरसाईकल समेत आवतजावत हुन सकेका छैनन । 
    अघिल्लो कार्यकालमा वडा अध्यक्ष रहेका मोहनबहादुर भण्डारीले उपभोक्ता समितिका नाममा रकम हिनामिना गरे पछि शुरु भएको विवादको बदला लिदै १४ दिन अघि कार्की गाउँ जाने सडक मर्मतका नाममा ५ टिप ग्राभेल झारेर थुप्रो लगाउँदै साना सवारी साधन समेत आवतजावत हुन अवरोध गरिएको हो । यता सडकमा ग्राभेलको थुप्रो लगाई दिएर वडा अध्यक्ष भने विभिन्न स्थानमा भ्रमणका लागि निस्किएका छन् । स्थानीयहरुले पटक पटक वडा कार्यालयमा गएर उक्त सडकको अवरोध तत्काल हटाई दिन, निर्माण गर्न शुरु गरिएको सडकको कार्य तत्काल गर्न माग गरेको भए पनि सुनुवाई भएको छैन । स्थानीयहरुले विकासका नाममा सडक अवरोध गरेर स्थानीयहरुलाई दिएको सास्तिका बारेमा प्रहरी चौकीमा समेत जानकारी गराएका छन् । वडा कार्यालय, प्रहरी चौकी र नगरपालिकामा समेत जानकारी गराउँदा अटेर भएका कारण सर्वसाधारणहरुले संचारमाध्यमको सहारा खोज्नु परेको बताएका छन् । तत्कालै उक्त सडक अवरोध हटाउन अनुरोध गर्दै नागरिकलाई दुख नदिन स्थानीयले वडा कार्यालयलाई अनुरोध गरेका छन् ।