2026 August 25/ 09:13: 33am

– कृषकका गोठ र खेतमा पुगे मन्त्री 
    बेथान्चोक/जिल्लाको बेथान्चोक गाउँपालिकाका विभिन्न परियोजनामा लक्जम्वर्गको सहभागितामा नागरिकहरुको सन्तुष्टी तथा आयोजनाको प्रभावका बारेमा सोहि देशका विकास सहयोग र मानवीय मामिला मन्त्री फ्रान्ज फेयोटले अवलोकन गर्नु भएको छ । 
    बेथान्चोक गाउँपालिकामा ग्रामिण विकास संस्था मार्फत गाउँपालिकाको सहयोगमा विद्यालय भवन निर्माण, सहकारी स्थापना गरी कृषि तथा फलफुलको ब्यवसायीक उत्पादन र बजारीकरण, जलवायु अनुकुलन कार्यक्रमहरु संचालन भईरहेका छन् । मन्त्री फ्रान्ज फेयोटले बेथान्चोकलाई मिनि लक्जम्वर्गका रुपमा विकास गर्न गाउँपालिका सँग समन्वय गर्ने बताउनु भयो । ‘सुन्दर र राम्रो वातावरण भएको बेथान्चोकलाई आवश्यक सहयोग प्रदान गर्न समन्वय गर्नेछु’– मन्त्री फ्रान्ज फेयोटले भन्नुभयो–‘गाउँपालिकाको समन्वयमा ग्रामिण विकास संस्था मार्फत हुने कार्यक्रमलाई थप प्रभावकारी बनाउने छु ।’ लक्जम्वर्गको उत्तरी भेग पनि बेथान्चोकको जस्तै आलु लगायतका तरकारी उत्पादन हुने स्थान भएकाले सोहि क्षेत्र जस्तै बेथान्चोकलाई पनि कृषि उत्पादनका क्षेत्रमा अघि बढाउन सकिने मन्त्री फ्रान्ज फेयोटले बताउनु भयो । 
    गाउँपालिका अध्यक्ष भगवान अधिकारीले लक्जम्वर्ग देशले एईआईएन लक्जम्वर्गको सहयोगमा ग्रामिण विकास संस्थाको समन्वयमा गरेका कार्यहरुको प्रशंशा गर्दै उत्त कार्यको निरन्तरता र थप कार्यक्रमका लागि मन्त्री फेयोटसँग अनुरोध गर्नु भएको थियो । ‘बेथान्थोक हावापानी तथा वातावरणका हिसावले कृषि र पर्यटनका लागि उपयुक्त पालिका हो’–अध्यक्ष अधिकारीले भन्नुभयो–‘पालिकाको विकासका लागि लक्जम्वर्ग तथा विभिन्न निकायसँगको समन्वय गर्नेछौं ।’ एईआइएन लक्जम्वर्गको सहयोगमा बेथान्चोक गाउँपालिकामा ग्रामिण महिला तरकारी तथा फलफुल सहकारी संस्थालाई तरकारी तथा फलफुल ढुवानीका लागि ढुवानी साधन उपलब्ध भएको थियो । ताजा तरकारी तथा फलफुल ढुवानीका लागि ‘तरकारी तथा फलफुल’ एम्बुलेन्सका रुपमा उक्त सवारी साधन संचालनमा ल्याईएको छ । महिला सशक्तिकरण तथा आत्मनिर्भरका लागि ब्यवसायीक खेति गर्ने उदेश्यले बेथान्चोक गाउँपालिकामा सहकारी मार्फत विभिन्न कार्यक्रम शुरु भएका छन् । मन्त्री फ्रान्ज फेयोटले सहकारी मार्फत भएका उपलब्धी, शेयर सदस्यहरुले भोगेका अनुभुतीहरु र उनिहरुको उत्पादनका बारेमा जानकारी लिनु भयो । कृषकको घरमै पुगेर मन्त्री फ्रान्ज फेयोटले करेसाबारी, ब्यवसायीक खेति, कृषि तथा पशुपालनका बारेमा जानकारी लिनु भएको थियो । तरकारी ढुवानीका लागि खरिद गरिएको सवारी साधनका लागि एईआइएन लक्जम्वर्गले २५ लाख ८० हजार उपलब्ध गराएको अध्यक्ष विमला अधिकारीले बताउनु भयो ।
    ग्रामिण विकास संस्थाकी अध्यक्ष गिता शर्माले २०५० साल देखि संस्थाले निरन्तर ग्रामिण भेगमा नागरिकहरुको जनजीवन सहज बनाउन विभिन्न कार्यक्रम गरिरहेको बताउनु भयो । ‘संस्था स्थापना देखि नै बेथान्चोक लगायतका पालिकाहरुमा खानेपानी, शिक्षा, वातावरण तथा कृषि पशुपालनका क्षेत्रमा कार्य भएको छ’–अध्यक्ष शर्माले भन्नुभयो–‘विभिन्न दातृ निकायसँगको समन्वय तथा नेपालका तीन तहकै सरकारसँगको सहकार्यमा काभ्रेपलाञ्चोक, सोलुखुम्बु, भत्तपुर, दोलखा, गुल्मी, गोर्खा, ललितपुर लगायतका जिल्लामा भुकम्प तथा कोरोनाको विपदको अवस्थामा समेत नागरिकहरुको हितमा कार्य भएको छ ।’ बेथान्चोकका विभिन्न वडाहरुमा अहिले संचालित कार्यक्रमहरुले ग्रामिण स्तरका नागरिहरुको दैनिक जीवनयापनमा थप सहज भएको महसुस गरिएको अध्यक्ष शर्माले बताउनु भयो । २०७८ बैशाख १ गते स्थापना भएको     उक्त सहकारीमा १ हजार ७ सदस्य छन् । २८ लाख ८६ हजार ३ सय शेयर पुँजी, २६ लाख २ हजार २ सय २४ कुल बचत, ३४ लाख ४० हजार पँुजीगत अनुदान गरी ९६ लाख १२ हजार १ सय ८८ कुल कारोवार गरेको संस्थाले ६० लाख ३२ हजार ३ सय ३० ऋण १० प्रतिशत ब्याजमा लगानी गरेको छ । ग्रामिण विकास संस्था मार्फत ४१ घर धुरीमा १ हजार बोट किवी, ६९ घर धुरीमा १६ सय बोट कागती, ३१ घर धुरीमा ३१० बोट ओखरका विरुवा वितरण गरेको छ । अर्गानिक तरकारी उत्पादनका लागि आईपिएम कृषक पाठशाला संचालन गरी जैविक विषादी उत्पादनका लागि आवश्यक पर्ने तालिम प्रदान गरेको छ । पशुपालनका लागि ५ हजार घाँसका विरुवा वितरण गरेको छ । हातिपाईले, गोवन, निमारो, हाडेओखर, जिरा लगायतका घाँसका विरुवाहरु उपलब्ध गराईएको छ । 
    सदस्यहरुलाई ३५ वटा प्लास्टिक टनेल, ४२ वटा गोठ सुधार, ६० घरधुरीमा करेसाबारी निर्माण, ४ घरमा गोबरग्याँस, स्थायी पानी पोखरी मार्फत ६० रोपनी जमिन सिंचाईको कार्यक्रम सम्पन्न भएको छ । जसबाट २० घर परिवार लाभान्वित भएका छन् । जलवायु अनुकुलन कार्यक्रम बेथान्चोकका विभिन्न वडामा संचालन भएका छन् । चार वर्षमा गाउँपालिकाका ४ सय ९७ घर धुरी प्रत्यक्ष प्रभावित हुने गरी कार्यक्रम संचालन गरिएको ग्रामिण विकास संस्थाका कार्यकारी निर्देशक डिएन तिमल्सिनाले बताउनु भयो । संस्थाकी रचना श्रेष्ठले महिलाहरुको आर्थिक शशक्तिकरणमा ढुवानी सवारी महत्वपूर्ण हुने बताउनु भयो । उत्पादित तरकारी तथा फलफुल सिधै बजारमा पु¥याउँदा विचौलियाबाट ठगिने डर पनि नहुनुका साथै नगदमै कारोवार गर्न सहज भएको बताउनु भयो । विचौलियाले सामान खरिद गर्दा उद्यारो लैजाने, कतिपय अवस्थामा सामानको उचित मुल्य पनि नदिने र सामान लगे पछि पैसा पनि नदिने अवस्थाको अन्त्य हुने श्रेष्ठले बताउनु भयो । संस्थाकी संचालक पार्वति सापकोटाले उत्पादित सामाग्रीलाई बजारीकरण गर्न, तरकारीको बेर्ना उत्पादनका लागि नर्सरी निर्माण गर्न, सामुदायिक विउ बैकको स्थापना गर्न, ज्ञान र सिपको तालिम प्रदान गर्न, महिला किसानहरुका लागि ब्यवसायीक खेति विस्तार गर्न, विपन्न महिलाहरुलाई आत्मनिर्भर बनाउन, नेतृत्व तथा ब्यक्तित्वको विकास गर्न, तरकारी तथा फलफुलका लागि शितभण्डार स्थापना गरी नमुना गाउँ बनाउन आवश्यक सहयोगको अपेक्षा गरिएको बताउनु भयो । 
    त्यस्तै मन्त्री मन्त्री फ्रान्ज फेयोटले कपेर आधारभुत विद्यालय बेथान्चोक ५ कामीडाँडाको नव निर्मित भवनको अवलोकन गर्नु भएको थियो । २०७२ बैशाख १२ गतेको भुकम्पले विद्यालयको भवन क्षतिग्रस्त भए पनि पुर्ननिर्माण भएको थिएन । १ करोड २७ लाख ८० हजार खर्च भएको उक्त भवन गाउँपालिका, वडा कार्यालय र ग्रामिण विकास संस्थाको संयोजनमा निर्माण गरिएको हो । दुई तल्लाको ६ कोठे पक्कि भवन निर्माण भएसँगै बालबालिकाहरुलाई शिक्षा प्राप्तीका लागि सहज भएको छ । ‘भवन बन्दैमा शिक्षा गुणस्तर हुन्छ भन्ने होईन’– संस्थाका कार्यकारी निर्देशक डिएन तिमल्सिनाले भन्नुभयो–‘नमूना विद्यालय निर्माणका लागि शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुनु पर्छ ।’ बेथान्चोक गाउँपालिकामा ग्रामिण विकास संस्थाले सामाजिक परिचालन मार्फत महिला शशक्तिकरण, सहकारीबाट उत्पादित तरकारी ढुवानीका लागि बजारीकरणमा सहज होस भन्ने उदेश्यले सवारी साधनको उपलब्धता, बालबालिकाहरुको सर्वाङ्गिण विकासका लागि विद्यालयमा ट्यावलेट वितरण, जलवायु अनुकुलन विभिन्न कार्यक्रम संचालन तथा गोठ सुधार, पानी पोखरी लगायतका निर्माण कार्य गरिएको तिमल्सिनाले बताउनु भयो । कार्यक्रममा लक्जम्वर्गका लागि नेपाल प्रतिनिधि रमेश त्वयना, बेथान्चोक गाउँपालिका निर्वतमान अध्यक्ष प्रेमबहादुर तिमल्सिना, वडा अध्यक्षहरु, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । 
    त्यस्तै मन्त्री फ्रान्ज फेयोटले पार्वती माध्यमिक विद्यालयमा अध्ययन गर्ने प्राथमिक तहका ६ देखि १० वर्ष उमेर समुहका बालबालिकाहरुका लागि अध्ययन गर्न सहज होस् भन्ने उदेश्यले हस्तान्तरण गरिएको ट्यावलेट र त्यसबाट हुने उपलब्धीका बारेमा जानकारी लिनु भएको छ । लक्जम्वर्गका प्रतिनिधिहरुले पार्वती माध्यमिक विद्यालय बेथान्चोकमा अध्ययन गर्ने बालबालिकाहरुका लागि ८ थान ट्यावलेट उपलब्ध गराएका थिए । ‘हाम्रो देशमा यो ट्यावलेटमा भएको एप प्रयोग गरेर धेरै बालबालिकाहरुको सिकाई सहज बन्यो’– प्रतिनिधि फ्रान्कोले भन्नुभयो–‘नेपालमा पनि बालबालिकाहरुको सिकाई सहज होस् भन्ने उदेश्यले ६ वर्ष देखि १० वर्ष उमेर समुहका बालबाकिलाहरुको प्रयोगका लागि ट्यावलेटका माध्यमबाट उक्त एप प्रयोग उपलब्ध गराईएको हो ।’ बालबालिकाहरुलाई कक्षा कोठामा अध्ययनको समयमा ट्यावलेट प्रयोग गरेर एपको माध्यमबाट गणित शिक्षालाई प्रविधि मैत्री रुपमा शिक्षण गर्न सहज हुने प्रधानाध्यापक गोविन्द शर्माले बताउनु भयो । १ सय ३० जना बालबालिकाहरुले ट्यावलेट प्रयोग गर्ने छन् ।