2026 August 25/ 12:33: 05pm

     धुलिखेल/जनगणना २०७८ मा भुम्लु गाउँपालिकामा १५ हजार ६ सय ७८ जना रहेको तथ्याङ्क सार्वजनिक भए पनि गाउँपालिकाले तयार गरेको भिलेज प्रोफाईलमा २७ हजार ५ सय ५८ जना भएको उल्लेख छ । मतदाता सूचीमा पनि त्यतिक्कै संख्यामा भएको भुम्लु गाउँपालिकाको १२ हजार भन्दा धेरै नागरिक शहर केन्द्रित छन् । केहि बैदेशिक रोजगारमा छन् । गाउँमा विकासका योजना तय भए पनि नागरिक नै बस्न छाडे पछि कसका लागि विकास भन्ने प्रश्न उठ्न थालेका छन् । 
    ‘गाउँ पातलिदै छ, विकास थपिदै छ’–भुम्लु गाउँपालिका एमाले अध्यक्ष प्रेम लामाले भन्नुभयो–‘गाउँमा सुविधा थप्दै जाउँ, बाहिरिएका नागरिकहरुलाई गाउँ फर्काउँ ।’ स्थानीय सरकारले पातलिदै गएको बस्तिलाई बाक्लो बनाउन स्थानीय स्तरमा नै बस्न सक्ने गरी आय आर्जनका कार्यक्रमलाई प्राथमिकतामा राख्नु पर्ने बताउनु भयो । भुम्लु गाउँपालिकामा माईनस १.८० दरमा जनसंख्या घट्दो क्रममा छ । काभ्रेपलाञ्चोक जिल्लामा सबै भन्दा धेरै चौरी देउराली गाउँपालिकामा –३.७६ दरले जनसंख्या घटेको छ । बढेको भनेको बनेपा नगरपालिकामा पनि १.८८ मात्रै छ । बनेपा बाहेक १२ वटा पालिकामा जनसंख्या माईनसमा गएको छ । 
    जनगणनाको तथ्याङ्क अनुसार जिल्लाकै तथ्याङ्क –०.४६ छ । बेथान्चोकमा –१.१०, भुम्लु –१.८०, चौरीदेउरालीमा–३.७६, धुलिखेलमा –१.५९, खानिखोलामा–१.५९, महाभारत–१.२३, मण्डनदेउपुरमा–०.६९, नमोबुद्धमा–१.१६, पनौतीमा –०.९६, पाँचखालमा –०.६५, रोशीमा –१.८२ र तेमालमा –२.८० जनसख्या घटदो क्रममा छ । बस्ति पातलिदै जाँदा पालिकाहरुले नागरिकहरुलाई फर्काउन शिक्षा, स्वास्थ्य, रोजगार तथा अन्य अवसरको सिर्जना गर्नु आवश्यक छ । संघ र प्रदेश सरकारले स्थानीय तहमा विकास केन्द्रित गरे पनि नागरिकहरुले भने शहरी क्षेत्र अझ धेरै विदेशिन खोजिरहेका छन् । जिल्लाबाट मात्रै रोजगारका लागि २० हजार भन्दा धेरै नागरिक विदेशिएका छन् भने अध्ययनका लागि उतैको नागरिक भएर बस्नेहरुको संख्या पनि बढिरहेको छ । राज्यले आफ्नै स्थानमा नागरिक अडिने वातावरण तयार गर्न सकेन भने उत्पादन ठप्प हुने र आयातका कारण मुलुक थप संकटमा पर्ने निश्चित छ ।