2026 August 24/ 09:23: 30am

    पनौती/पनौती नगरपालिका वडा नम्वर ४ मा मुख्य कार्यालय रहेको सामुदायिक सहकारी संस्थामा राखिएको ३२ लाख ३१ हजार ७ सय ३५ रुपैयाँ ढुकुटीबाट चोरी भएको छ । सोमबार मध्यराती १ः२५ को समयमा सहकारीको कम्पाउण्डबाट चोरहरुको समुह प्रवेश गरी सुरक्षा गार्डलाई नियन्त्रणमा लिदै रकम चोरी भएको सहकारीले जानकारी दिएको छ । 
    ‘सहकारीमा हरेक दिन जम्मा भएको रकम ढुकुटीमा राख्ने गरिएको छ’–अध्यक्ष प्रकाश बञ्जाराले भन्नुभयो–‘त्यहि दिन जम्मा भएको रकम त्यहि दिन बैंकमा पठाउन सकिदैन । एक करोड रुपैयाँसम्म जम्मा भएको अवस्थामा सहकारीले ढुकुटीमा सुरक्षित गरेर राख्दै आएको थियो ।’ विदाको दिन भएकाले सहकारीमा उक्त दिन त्यति मात्रै रकम संकलन भएको प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले जानकारी दिनुभयो । सहकारीले मुख्य कार्यालयको १ करोडसम्मको नगदको बीमा गरेको छ भने शाखा कार्यालयहरुमा समेत गरी ४ करोड २० लाख रुपैयाँको विमा गरेको प्रमुख कार्यकारी अधिकृत बस्नेतले जानकारी दिनुभयो । 
    सहकारीले जारी गरेको विज्ञप्तीमा संस्थाको कम्पाउण्ड भित्र ५ जनाको समुहमा प्रवेश गरेका चोरहरुले उक्त रकम सहित एक थान डिभिआर÷एनभिआर चोरी डकैती गरेको उल्लेख गरिएको छ । रातको समयमा प्रवेश गरेका चोरहरुले सहकारीको सुरक्षा गार्डलाई नियन्त्रणमा लिदै मुखमा पट्टि लगाई दिएर हात खुट्टा डोरीले बाँधेर लडाए पछि सहकारीको मुख्य भवन देखि पैसा राखेको स्थानसम्म १० वटा ताला सहज रुपमा फोडेर प्रवेश गरेका थिए । प्रहरीले घटनाका बारेमा अनुसन्धान शुरु गरेको छ भने सुरक्षा गार्डलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । चोरीको केहि समय पछि उनि चिच्याएको अवस्थामा छिमेकीहरुले थाहा पाएर उनलाई बाँधेर लडाएको डोरी फुकाएको बताईएको छ । घटना शंकास्पद भएकाले गहिरो अनुसन्धान शुरु गरिएको प्रहरीले बताएको छ । सहकारीले वित्तिय क्षेत्रमा भएको चोरीले असुरक्षा महसुस गरेको भन्दै तत्काल अनुसन्धान र सुरक्षाको प्रत्याभुति दिलाउन प्रशासन समक्ष माग गरेको छ । बचतकर्ताहरुलाई भने ढुक्क हुन सहकारीले अनुरोध गरेको छ ।