धुलिखेल/जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा दर्ता हुने मुद्दाको संख्यामा बृद्धि भएको छ । बृद्धि भएको मुद्दाको संख्यालाई फछ्र्याैटको गति पनि बढाईएको छ । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले मुद्दा फैसलाको क्रमलाई तिब्रता दिएको बताउनु भएको छ ।
२०७९ माघ महिनासम्म एक वर्ष अवधीका ९३ थान मुद्दा थिए । २ वर्ष भित्रका १ सय २ थान मुद्दा फैसला हुन बाँकी थिए भने २ वर्ष नाघेका २५ थान मुद्दा बाँकी थिए । प्रशासन कार्यालयले अभद्र ब्यवहार, न्यून गुणस्तर, जुवा, सवारी क्षतिपुर्ति सम्वन्धी मुद्दामा अनुसन्धान गरेर सजाँय निर्धारण गर्नेछ । आर्थिक वर्ष २०७८÷०७९ बाट जिम्मेवारी सरेका ८९ थान र चालु वर्षको चैत्रसम्म १ सय २५ थान मुद्दा दर्ता भएका छन् । दर्ता भएका र पुराना मुद्दाको संख्या थपिदै गए पछि एक महिनाको अवधीमा प्रमुख जिल्ला अधिकारीले फैसलाको रफ्तारलाई बढाउनु भएको हो । प्रमाण बुझ्ने, साक्षी झिकाउने, मुद्दाका पक्ष वा विपक्षसँग बुझ्ने कार्यलाई तिब्र बनाउँदै फैसला गरिएको प्रशासनले जानकारी दिएको छ । पछिल्लो तीन महिनामा २५ थान मुद्दा फैसला गरेको छ ।





