2026 August 25/ 09:13: 32am

    धुलिखेल/आर्थिक संकट गहिरिदै जाँदा वित्तिय अराजकता फैलन पुगेको छ । जिल्ला अदालत काभ्रेपलाञ्चोकको तथ्याङ्कमा चेक अनादार मुद्दाको संख्या ह्वात्तै बढेको देखिएको छ । चालु वर्षको साउन देखि चैत्र मसान्तसम्मको ९ महिनामा १ सय ६० वटा मुद्दा चेक अनादार सम्बन्धिका छन् । 
    सहकारीहरुमा आर्थिक संकट हुनु, बजार सुनसान हँुँदा ब्यवसायमा संकट देखिनु, ऋणीहरुले नियत राखेर वा नसकेर ऋण नतिर्नु, ऋण लगानी गर्नेहरुले भएको भन्दा धेरै रकम राखेर चेकमा भर्नु जस्ता विविध कारण अदालतमा चेक अनादार सम्वन्धी मुद्दा दर्ता गर्ने क्रम बढेको हो । चेक अनादर विनिमेय अधिकार पत्र ऐन, २०३४ दफा १०७ ‘क’ सम्वन्धी मुद्दा दर्ता गरेका मध्ये अधिकांश ब्यक्तिगत छन् । ब्यक्ति ब्यक्तिको कारोवार हुँदा विश्वास दिलाउन दिईएका खाली चेक र लेखेर दिईएका विषयका मुद्दा धेरै छन् । दर्ता भएका मध्ये केहि सहकारीका छन् । केहि सहकारीका संचालक छन् ।  केहि निर्माण ब्यवसायीका छन् । केहि ब्यवसायीका छन् । केहि मिटर ब्याजीका छन् । केहि जग्गा ब्यवसायीका छन् । जग्गा ब्यवसायीहरुले पनि धेरै ब्यक्तिलाई दिएका चेक साटिन सकेका छैनन् । 
    आर्थिक वर्षको अन्त्यसम्ममा चेक अनादर सम्बन्धी मुद्दा दर्ता हुने क्रम अझै बढ्ने संकेत देखिएका छन् । जिल्ला अदालतले दर्ता भएका केहि मुद्दाहरु फिर्ता भएका छन् । केहि मुद्दामा मिलापत्र भएका छन् । केहि मुद्दाहरु फैसला भएर दावी पुग्ने अवस्था भएको छ । केहि फैसला भएर कार्यान्वयनको चरणमा छन् । फैसला भएर पनि कार्यान्वयनमा जटिलता देखिएको अवस्था पनि छन् । केहि मुद्दामा न्याधीशहरुले प्रमाण बुझ्ने र झिकाउने आदेश दिएका छन् । चेक अनादर मुद्दामा बोधिचित्तको ब्यवसायका पनि छन् । चेक अनादर सम्बन्धी मुद्दामा कडाई भए पनि दर्ता गर्नेले चेकमा उल्लेख गरे बापतको राजश्व, उसले भोग्ने सजायँको धरौटी समेत जम्मा गर्नु पर्ने भएकाले कार्यान्वयन हुन सकेका छैनन् । चेक अनादरमा दोषी देखिएकाहरु केहि खुलेआम हिडिरहेका छन् । केहिले मिलापत्र गरेर लेनदेन गरेका छन् । अधिकांश चाँहि तिर्नुपर्ने भन्दा धेरै रकम भएकाले तिर्न सक्ने अवस्थामा छैनन् ।