बनेपा नगरपालिका वडा नम्वर १० घर भएका प्रवेश थापा पेशाले शिक्षक हुन् । मुख्य पेशा चाँहि प्रवेशको मिटर ब्याज हो । प्रवेश विरुद्ध जिल्ला प्रशासन कार्यालय काभ्रेमा आधा दर्जन ब्यक्तिले उजुरी गरेका छन् । प्रवेशले आफु गुण्डा भएको, आफ्ना अन्य नातेदार पनि गुण्डा भएको र मिटर ब्याज तोकिए अनुसार नदिए जे पनि हुन सक्ने भन्दै दिएको धम्किको अडियो प्रशासन कार्यालयमा पनौती १ रयालेका सन्तोष सापकोटाले बुझाएका छन् ।
सन्तोषले प्रवेशसँग १८ लाख रुपैया लिएका थिए । ब्यवसाय तथा जग्गा खरिद प्रयोजनका लागि १८ लाख सापटी लिएका सापकोटासँग प्रवेशले मिति र अंक नभएको खाली चेक सहि गराएर धितोका रुपमा लिए । त्यहि चेकमा उनले ३० लाख रुपैया भरे अनि अदालतमा चेक अनादारमा मुद्दा दर्ता गराए । अदालतले पनि प्रवेशकै पक्षमा फैसला गरिदियो । तर पनि फैसला कार्यान्वयन हुन सकेको छैन । सकोस पनि कसरी लिएको भन्दा दोब्बर रकम भरेर बुझाए पछि सन्तोष संकटमा छन् । उनले लिएको रकम जग्गा बिक्री गरेर तिर्छु भन्दा पनि सुख पाएका छैनन् । रयाले स्थित बुढा बाबु आमालाई समेत गएर धम्की दिएका छन् । ऋण लिएको र कारोवार गरेका विषयमा बाबु आमा र स्वयं श्रीमती समेत जानकार नभएको सन्तोषले जाहेरीमा लेखेका छन् । प्रवेशबाट पीडित भएको भन्दै अन्य केहिले पनि उजुरी गरेका छन् । प्रहरीले प्रवेश लगायतलाई अनुसन्धानका लागि पत्र काट्ने तयारी गरेको छ ।
त्यस्तै सन्तोष सापकोटाकै जाहेरीमा जनार्दन न्यौपाने पनि छन् । उनले २० लाख रुपैया दिन्छु भन्दै १८ लाख ५० हजार रुपैया सापटी दिएका थिए । त्यो बापत सन्तोषका आफन्तका नाममा भएको जग्गा रोक्का राखेका थिए । एउटा जग्गा पास गरेरै लिएका छन् । अझै उनले २५ लाख रुपैया लिन बाँकी रहेको भन्दै खाली चेक भरेर अदालतमा चेक अनादारमा मुद्दा दर्ता गराए । अदालतले पनि तपाईको आर्थिक श्रोत के हो ? भन्ने सोधखोज समेत गरेन । विद्यमान कानून अनुसार अदालतमा दर्ता भएका चेक अनादार सम्बन्धी जाहेरीमा तत्काल देखिएका प्रमाणका आधारमा अदालतले फैसला गरेको हो ।
सहकारीबाट ऋण दिएर ब्यक्तिगत कागज बनाउँदै इन्द्रेणी सहकारी बनेपाका रामकुमार तितुङ्ग अर्काे मिटर ब्याजी हुन् । उनले सहकारीको कागज थिचाए । ऋण दिए । तर ब्यक्तिगत कारोवार गरे । संस्थाका अन्य सदस्यलाई समेत नभन्न अनुरोध गरे । ५० हजार रुपैयाँको शेयर समेत राखेर रामकुमारले सन्तोषलाई १० लाख रुपैयाँ दिए । तर चेक अनादार मुद्दामा दोब्बर बनाए । उनले सहकारीको रकम त्यसरी नै दुरुपयोग गरिरहेको अन्य सदस्यले मौखिक उजुरी गरेका छन् । बनेपाको जनागालमा रहेको उक्त सहकारीबाट अन्य सदस्य पनि पीडित भएका छन् । रामकुमार विरुद्ध पनि सन्तोषले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । सरकारले मिटर ब्याज विरुद्ध जुनसुकै समयमा पनि उजुरी दिन सक्ने ब्यवस्था गरेको थियो । सन्तोषको जाहेरीमा अन्य केहि ब्यक्तिहरुले पनि मिटर ब्याज लिदै दुःख दिएको प्रमाण सहित उल्लेख गरेका छन् ।
उनले लिएको केहि रकम जग्गा दिने सहमतिमा धुलिखेल १२ शंखुका नवराज धितालले १ करोड ३० लाख लिएर भागेका छन् । अन्य केहि ब्यक्तिहरु पनि रकम लिएर फरार भएको सन्तोषले जानकारी दिएका छन् । आफुले लिएको रकम कानून अनुसार तिर्ने बताए पनि मिटर ब्याजका कारण तिर्न नसक्ने अवस्थामा पुगेको, निरन्तरको धम्कीका कारण असुरक्षा मसहुस गरेको र घरमा रहेका परिवारका सदस्यहरु समेतलाई मानसिक दबाब दिई असुरक्षा बनाएको भन्दै शान्ति सुरक्षाको माग सहित मिटर ब्याज लिनेहरुलाई कारवाही गरिरदिन अनुरोध गरेका छन् ।









