– तीन महिनामा ६३३८ लाई राहदानी
धुलिखेल/जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नयाँ र प्रतिलिपि लिनेहरुको संख्या उस्तै उस्तै देखिएको छ । पछिल्लो तीन महिना माघ, फागुन र चैत्र महिनाको तथ्यांकमा नयाँ नागरिकता लिनेहरुको संख्या २६३० रहेको छ भने प्रतिलिपि लिनेहरुको संख्या १९८१ रहेको छ ।
२०७९ माघ, फागुन र चैत्र तीन महिनामा २ हजार ६ सय ३० वटा नयाँ नागरिकता वितरण भएका छन् । माघ महिनामा ५ सय ४७ महिला र ५ सय ४३ पुरुष गरी १ हजार ९० जनाले नयाँ नागरिकता प्राप्त गरेका छन् भने फागुन महिनामा ३ सय ७१ जना महिला र ३ सय ५७ जना पुरुष गरी ७ सय २८ जनाले मात्रै नयाँ नागरिकता लिएका छन् । चैत्र महिनामा ४ सय २२ जना महिला र ३ सय ९० पुरुष गरी ८ सय १२ जनाले नागरिकता प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौड्यालले बताउनु भयो । नागरिकता प्रतिलिपि तीन महिनामा १ हजार ९ सय ८१ जनाले लिएका छन् । माघमा ६ सय १३, फागुनमा ७ सय २८ र चैत्र महिनामा ६ सय ४० जनाले प्रतिलिपि लिएका छन् । कार्यालयले पुरानो नागरिकता कम्प्युटरमा प्रविष्टि गरी निवेदन सूचीमा स्क्यान गरी तीन महिनाको अवधीमा ६ हजार ३ सय ३८ जनाको विवरण सूचिकृत गरेको छ । इलाका प्रशासन कार्यालय बनखुचौर महाभारतबाट नयाँ नागरिकता १ सय ९३ वटा वितरण गरिएको छ । प्रतिलिपिका लागि ७३ जनाले सिफारिस लिएका छन् ।
दैनिक सेवा प्रवाहमा नागरिकहरुको चाप बढिरहेको अवस्थामा प्रशासनले २०७८/०७९ साउन ४ गते देखि साविक जिल्ला समन्वय समितिको ट्रष्ट सहित कार्यालय प्रयोजनका लागि निर्माण गरेको चार कोठे ट्रष्टमा कार्यालय स्थानान्तरण गरेको छ । राहदानीका लागि संकटको सामना गरिरहेका नागरिकहरुले तीन महिनाको अवधीमा ६ हजार ३ सय ३८ ले फोटो खिचाएका छन् । माघ महिनामा १४७९, फागुन महिनामा २२८९ जना र चैत्र महिनामा २५७० जनाले राहदानी प्राप्त गरेका छन् । ‘राहदानीका लागि टोकन र टाईम कार्ड उपलब्ध गराएसँगै सार्वजनिक विदाको दिन समेत सेवा प्रवाह गरेका कारण अहिले सेवाग्राहिलाई सहज भएको छ’– प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौड्यालले भन्नुभयो–‘शुरुमा ७ सय भन्दा धेरैले एकै दिन टोकन र टाईम लिएको अवस्था अहिले शुन्य जस्तै हुन थालेको छ । दैनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै नागरिकहरुलाई सेवा प्रदान गरिए पछि राहदानी, राष्ट्रिय परिचयपत्र र नागरिकता लगायतका सेवामा सहज गरिएको पौडेलले बताउनु भयो ।
तीन महिनाको अवधीमा १७ वटा मुद्दा दर्ता भएको छ भने २५ वटा फैसला भएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनु भयो । यो अवधीमा ९८ वटा गुनासो र कारवाही सुनुवाई भएको छ । हातहतियार नवीकरण एकवटा, संघ संस्था दर्ता २० वटा, जनजाती तथा अन्य विभिन्न सिफारिसहरु ९० वटा गरिएको छ । ५३ वटा संघ संस्था नविकरण भएका छन् । बैदेशिक रोजगारी क्षतिपुर्ति ३ वटा घटनाको ६ लाख ६ हजार ६ सय ८६, तीन वटा आगलागी घटनामा २९ हजार, सवारी दुर्घटनामा निधन भएका १७ जनालाई ८५ लाख रकम भुक्तानी भएको छ । तीन महिनाको अवधीमा राहदानी बापत १ करोड ४५ लाख ८१ हजार राजश्व संकलन भएको छ । राष्ट्रिय परिचयपत्र पत्र अभिलेखीकरणका लागि ६६४४ जनाले फोटो खिचाएका छन् । तीन महिनाको आपराधिक घटना ७४ वटामा ५८ जना अभियुक्त पक्राउ परेका छन् ।





