बनेपा/जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम शुरु गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बनेपा बाट तथा ४ वटा पालिकाको आरोग्य सेवा केन्द्रबाट उक्त कार्यक्रम शुरु गर्न लागिएको केन्द्रका प्रमुख डा. बंशबदा कौण्डिन्यायनीले जानकारी दिनुभयो । बागमती प्रदेश कार्यालयको समन्वयमा उक्त कार्यक्रम शुरु गर्न लागिएको कौण्डिन्यायनीले बताउनु भयो । सर्ने रोगहरु भन्दा पनि नसर्ने रोगहरु भयावह हुँदै गएकाले उक्त रोगहरुको स्क्यानिङ्ग गर्ने र आयुर्वेद औषधालयका बारेमा जानकारी गराउने, रोग लाग्नु भन्दा लाग्नै दिन नहुने महत्वपूर्ण रहेको डा. कौण्डिन्यायनीले बताउनु भयो । उक्त सेवाको उद्घाटन जिल्ला समन्वय प्रमुख दिपक कुमार गौतमले गर्नु भएको थियो । गौतमले उक्त सेवालाई जनताको घर घरमा पु¥याउनु पर्ने बताउनु भयो । जनप्रतिनिधीहरु जहिले जनता सँगै हुने भएकाले भौतिक शरीर उपस्थिति नभए पनि कार्यक्रम मार्फत सँगै हुन खोजेको र जनताको महत्वपूर्ण स्वास्थ्य जस्तो संवेदनशील कुरामा ध्यान दिन आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारीले वडा कार्यलय सधै केन्द्र सँग समन्वय गरी नागरिकहरुलाई सेवा दिन तयार रहेको बताउनु भयो । वडाका टोल टोलमा क्लिनिक सेवा प्रदान गरी आयूर्वेद औषधिका बारेमा जानकारी दिने अधिकारीले बताउनु भयो । कार्यक्रममा स्वागत मन्तब्य बरिष्ठ आर्युर्वेद निरीक्षक रमेश पनेरुले राख्नु भएको थियो । पनेरुले नसर्ने रोगहरु जस्तै मुटु, मधुमेह, उच्च रक्तचाप र मृगौला रोगका बारेमा स्कीनिङ गर्ने उक्त रोग लाग्नै नदिन अभियान नै सञ्चालन गर्ने बताउनु भयो । पनेरुले केन्द्रले बहिरङ्ग सेवा अन्तर्गत निःशुल्क स्वास्थ्य उपचार तथा परामर्श, विभिन्न २३ प्रकारका औषधिहरूको निःशुल्क वितरण, स–शुल्क फार्मेसी, जेष्ठ नागरिक स्वास्थ्य प्रबर्धन, मातृशिशु स्वास्थ्य प्रबर्धन, पञ्चकर्म अन्तर्गत पूर्वकर्म सेवा, प्रयोगशाला परीक्षण, आयुर्वेदले निर्देश गरेको जीवनशैली सम्बन्धी परामर्श, योग अन्तर्गत आसन, प्राणायाम तथा ध्यान लगायत सेवाहरु प्रदान गर्दे आएको बताउनु भयो । त्यसैगरी जिल्लामा धुलिखेल आयुर्वेद औषधालय, दाप्चा आयुर्वेद औषधालय, बालुवा आयुर्वेद औषधालय, मङ्गलटार आयुर्वेद औषधालय, खरिबोट नागरिक आरोग्य सेवा केन्द्र, नागरिक आरोग्य सेवा केन्द्र मण्डन, नागरिक आरोग्य सेवा केन्द्र, भुम्लु गाउँपालिका र नागरिक आरोग्य सेवा केन्द्र बेथानचोक गाउँपालिकाबाट सेवा दिई रहेको पनेरुले बताउनु भयो । कार्यक्रममा बनेपा नगरपालिकाका कार्यपालिका सदस्य समिता थापा, वडा सदस्यहरु, आरोग्य केन्द्रका प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन लेखा अधिकृत कृष्ण प्रसाद पराजुलीले गर्नु भएको थियो । कार्यक्रम आयुर्वेद स्वास्थ्य केन्द्रका अध्यक्ष प्रकाश बहादुर कायस्थको सभापतित्वमा सम्पन्न भएको थियो ।









