बनेपा / जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रैले जिल्लाका सञ्चारकर्मीहरु सँग आयुर्वेद सेवा सम्बन्धी छलफल गरेको छ । छलफल कार्यक्रममा केन्द्रका प्रमुख डा.बंशबदा कौण्डिन्यायनीले स्वास्थ्य केन्द्रले जिल्लाको १० वटा पालिकामा सेवा दिईरहेको र आगामी वर्ष थप ३ वटा पालिकामा सेवा दिने बताउनु भयो ।
केन्द्रले बहिरङ्ग सेवा अन्तर्गत निःशुल्क स्वास्थ्य उपचार तथा परामर्श, विभिन्न २३ प्रकारका औषधिहरूको निःशुल्क वितरण, सशुल्क फार्मेसी, जयेष्ठ नागरिक स्वास्थ्य प्रर्वद्धन, मातृशिशु स्वास्थ्य प्रवद्र्धन, पञ्चकर्म अन्तर्गत पूर्वकर्म सेवा, प्रयोगशाला परीक्षण, आयुर्वेदले निर्देश गरेको जीवनशैली सम्बन्धी परामर्श, योग अन्तर्गत आसन, प्राणायाम तथा ध्यान लगाएत सेवाहरु प्रदान गर्दै आएको वताउनु भयो । त्यसै गरी जिल्लामा धुलिखेल आयुर्वेद औषधालय, दाप्चा आयुर्वेद औषधालय, बालुवा आयुर्वेद औषधालय, मङ्गलटार आयुर्वेद औषधालय, खरिबोट नागरिक आरोग्य सेवा केन्द्र, नागरिक आरोग्य सेवा केन्द्र मण्डन, नागरिक आरोग्य सेवा केन्द्र, भुम्लु गाउँपालिका र नागरिक आरोग्य सेवा केन्द्र बेथान्चोक गाउँपालिकाबाट सेवा दिई रहेको डा. कौण्डिन्यायनील बताउनु भयो । कार्यक्रममा उहाँले आयुर्वेदले बताएका दिनचर्या, रात्रिचर्या तथा ऋतुचर्याका नियमहरूको पालन गरौं, बिहानै उठ्ने, योग अन्तर्गतका आसन, प्राणायाम तथा ध्यान जस्ता क्रियाहरू गर्ने, प्रशस्त पानी पिउने तथा सन्तुलित एवं ताजा खाना खाने, समय समयमा स्वास्थ्य परीक्षण गर्ने, तमाखु, चुरोट, बिँडी, गुट्का तथा मद्यपानको त्याग्ने, स्वस्थ जीवनशैली अपनाउने र अमर्यादित रूपमा सडकपेटीमा, चोकमा वा साईकलमा राखेका, झोले व्यापारीसँग तथा विज्ञापन बजाउँदै हिँडेकाहरूसँग आयुर्वेदको नाम लिइ बिक्री गरिएका औषधी किनेर जथाभावी सेवन गर्न नहुने बताउनु भयो ।
मान्यता प्राप्त आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीसँग परामर्श लिएर मात्र आयुर्वेद औंषधी सेवन गर्न आग्रह गर्नु भएको थियो । कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले नगरमा आयुर्वेद अस्पतालका लागी नै पहल गरिएको बताउनु भयो । नगरबासीहरुको हितका लागी नगरमा रहेको रेयुकाई आँखा अस्पताल, शिर मेमोरियल, अपाङ्ग बाल अस्पताल र स्पाईनल ईन्जुरी अस्पताललाई सहयोग गरेको र नगरबासीहरुको उपचारमा कुनै कसुर बाँकी नराख्न निर्देशन दिएको शाक्यले बताउनु भयो । ५० बेडको आयुर्बेद अस्पताल बनाउन १५ रोपनी जग्गा माग भएकाले नगरले जतिसक्दो चाँडो जग्गा उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासघंका अध्यक्ष बद्रीराज तिमल्सिना, बरिष्ठ आयुर्बेद रमेश पनेरु लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य बैद्य रुमाकुमार झाले राख्नु भएको थियो भने सञ्चालन लेखा अधिकृत कृष्णप्रसाद पराजुलीले राख्नु भएको थियो । कार्यक्रमको सभापतित्व आयुर्वेद स्वास्थ्य प्रमुख डा.बंशबदा कौण्डिन्न्यायनीको सभापतित्वमा सम्पन्न भएको थियो ।









