पनौती नगरपालिका २ कुशादेवीमा ‘रकक्लाईमिङ्ग’, ‘प्याराग्लाईडिङ्ग र डाउन हिल साईक्लिङ्गको ब्यवसायीक खेल शुरु हुन थालेका छन् ।
कुशादेवी/पनौती नगरपालिका वडा नम्वर २ कुशादेवी स्थित तोरिखोरिया नयाँगाउँमा रातो पहरा रकक्लाईमिङ्ग वाल शुभारम्भ भएको छ । ब्यवसायीक रुपमा शुरु गरिएको रकक्लाईमिङ्ग साहसिक खेलको नगर प्रमुख रामशरण भण्डारीले उद्घाटन गरेका छन् ।
‘एकै पटकमा आठ जना क्लाईमर चढ्न सकिने गरी रातो पहरामा साहसिक खेल रकक्लाईमिङ्ग निर्माण गरिएको छ’–नेपाल पर्वतारोहण प्रशिक्षक संघका प्रशिक्षक पेम्बा ओङ्गछु शेर्पाले भन्नुभयो–‘राजधानीबाट नजिक रहेको पनौती नगरपालिकाकाको बसपार्कबाट ९ किमीको दुरीमा रकक्लाईमिङ्गको शुरुवातले नेपालको पर्यटकिय क्षेत्रमा थप नयाँ गन्तब्य थपिएको छ ।’ साहसिक खेलका पारखीहरुले उक्त क्षेत्रमा पुगी रकक्लाईमिङ्ग मार्फत प्राकृतिक आनन्द प्राप्त गर्न सक्नेछन् । वडा अध्यक्ष पुरुषोतम अधिकारीले नगरपालिकाबाट विनियोजन भएको १० लाख रकमबाट रकक्लाईमिङ्ग पुग्ने स्थानसम्मको पदमार्गका साथै रकक्लाईमिङ्गका लागि पूर्वाधार तयार गरिएको बताउनु भयो । ‘रकक्लाईमिङ्गका लागि पहरामा गाडिएका ‘वोल्ड’ किला जर्मनबाट झिकाईएको छ । जसको सहारामा डोरीको माध्यमबाट ५० मिटर भन्दा धेरै रकक्लाईमिङ्ग गर्न सकिन्छ’–वडा अध्यक्ष अधिकारीले भन्नुभयो–‘प्रति वोल्डको २० डलरमा खरिद गरीएको छ । एक हजारवटा वोल्ड भित्तामा गाडिएको छ । रकक्लाईमिङ्गको बेसमा वाल निर्माण लगायतका अन्य पूर्वाधारहरु निर्माण गर्न बाँकी छ ।’
पनौती नगरपालिका सांस्कृतिक, धार्मिक तथा पर्यटकीय हिसाबले आकर्षक बन्दै गएको अवस्थामा पनौतीको कुशादेवीमा थपिएका साहसिक खेलका गन्तब्यले नगरबासीहरुलाई थप सहजता हुने नगर प्रमुख भण्डारीले बताउनु भयो । उपप्रमुख गिता बञ्जाराले कुशादेवीले शुरु गरेको नयाँ गन्तब्यको संरक्षण, प्रर्वद्धन र प्रसार प्रचारमा नगरपालिकाले ध्यान दिने बताउनु भयो । वडा अध्यक्ष पुरुषोत्तम अधिकारीले वडा कार्यालयले रकक्लाईमिङ्ग, प्याराग्लाईडिङ्ग, डाउन हिल साईक्लिङ्गका साथै चरा संरक्षण गरी चराका आवाज सुन्ने र त्यसबाट प्राकृतिक मनोरञ्जन लिन सकिने गरी नयाँ गन्तब्य तय गरिएको बताउनु भयो । ‘नागिडाँडामा प्याराग्लाईडिङ्गका लागि गन्तब्य निर्माण गरिएको छ । भ्युटावर र त्यहि रिसोर्ट सहितको अर्काे गन्तब्य थपिएको छ । जसमा डाउन हिल साईक्लिङ्ग गरेर खेलाडीहरु सोहि क्षेत्रमा पुग्नेछन । थप अर्काे गन्तब्य तोरिखोरियामा रकक्लाईमिङ्ग बनेको छ’–वडा अध्यक्ष अधिकारीले भन्नुभयो– ‘सबै गन्तब्य निर्माणको एउटै उदेश्य आर्थिक उपार्जनमा आन्तरिक र बाह्य पर्यटकहरुको आगमन होस् । कुशादेवी वडा नम्वर २ को प्रचार प्रसार देश विदेशमा हुन सकोस्
भन्ने हो ।’
तोरिखोरिया नजिकै वडा मार्फत चरा संरक्षण शुरु गरिएको छ । गोदावरी बनसँग जोडिएको महाभारत लेक फुलचोकीसम्म फैलिएको छ । वडा कार्यालयले एक सिजनमा १ सय ३८ प्रजातिका चरा आफ्नो क्षेत्र भित्र आउने गरेको तथ्यांक सर्भेक्षण गरेको छ भने गोदावरी क्षेत्रमा २ सय ८० प्रजातिका चरा संरक्षण गरिएको तथ्यांक छ । उक्त वनमा साईबेरियाबाट २२ हजार किलोमिटर टाढाबाट उडेर आउने साईबेट ब्लाककाईड नामक चरा समेत पाईने गरेको छ । लोपोन्मुख प्रजातिका काँढेभ्याकुर, मुनाल लगायतका चराचुरुङ्गी सोहि क्षेत्रमा पाईन्छ । प्राकृतिक मनोरमसँगै साहसिक खेलमा सहभागि हुनेहरुले सोहि क्षेत्रको मज्जा लिनेछन् । जंगल संरक्षण हुँदा रोशी खोला, गोदावरी, लिलावती फुल्चोकी नदि निरन्तर बगिरहनेछन् । जसका कारण सोहि क्षेत्र आसपास बसोबास गर्ने नागरिकहरुका अलावा काभ्रे उपत्यका, ललितपुर र विभिन्न क्षेत्रका नागरिकहरु समेत पानीका कारण लाभान्वित भएका छन् । पनौती नगरपालिका वडा नम्वर २ ले पूर्वाधार निर्माणसँगै ब्यवसायीक र साहसिक खेललाई समेत प्राथमिकता दिएको अध्यक्ष अधिकारीले बताउनु भयो । कार्यक्रममा वडा अध्यक्षहरु विष्णुप्रसाद सापकोटा, जयराम केसी, वडा सदस्यहरु, नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रर्दशक संघका कोषाध्यक्ष हरेराम खड्का, नेपाल पर्वतारोहण प्रशिक्षक संघका महासचिव क्षिरिङ्ग भोटे, प्रशिक्षकद्धय पेम्बा ओङ्गछु शेर्पा र पेम्वा यालज्जे शेर्पाले रकक्लाईमिङ्गका मज्जा र आनन्दसँगै आयआर्जनका सन्र्दभमा धारणा राख्नु भएको थियो । सोहि अवसरमा क्लाईमरहरु साजन थापा, शिशिर आचार्य, सुलभ राई, राजु तिवारी, स्वस्तिमा चौधरी र मनिषा बुढामगरलाई प्रमाणपत्र वितरण गरिएको थियो ।





