खाद्य प्रविधि प्रयोगशालामा विषादीको ४५ वटा प्यारामिटरमा विश्लेषण गर्दा ८५ प्रतिशत नमूनामा विषादीको कुनै पनि अवशेष नपाईएको र १५ प्रतिशतमा तोकिएको मापदण्ड भन्दा धेरै प्रतिशत कम रहेको छ ।
पाँचखाल/पाँचखाल नगरपालिकालाई विषादीमुक्त बनाउँदै कृषि उत्पादन बृद्धि गर्ने अभियानलाई लवग्रीन नेपाल र पाँचखाल नगरपालिकाले पाँच वर्ष अघि शुरु गरेको वातावरण मैत्री एकीकृत दिगो कृषि विकास परियोजनाले कीटनाशक र ढुसीनाशक विषादी प्रयोग उल्लेख्य रुपमा घटेको तथ्याङ्क सार्वजनिक गरेको छ ।
विषादी कम भएसँगै बजार विस्तारका लागि सहज बनाउन कृषकहरुले कालिमाटी तरकारी बजारको मुल्य विहानै मोबाईल मार्फत थाहा पाउन थालेका छन् । ‘२०७४ साल भाद्र महिनामा शुरु भएको वातावरण मैत्री एकीकृत दिगो कृषि विकास परियोजनाको पाँच वर्षको अवधीमा कीटनाशक विषादी, ढुसीनासक विषादी, रासायनिक मल, फस्फोरस र पोटास लगायतको प्रयोग उल्लेख्य रुपमा घटेको छ’– परियोजनाका कार्यकारी निर्देशक नारायण ज्ञवालीले भन्नुभयो– ‘आधारभूत सर्वेक्षण र अन्तिम सर्वेक्षणको परिणामबाट विषादीको प्रयोग कम गरी वानस्पतिक विषादीको प्रयोग धेरै हुन थालेको छ ।’ खाद्य प्रविधी प्रयोगशालामा विषादीको ४५ वटा प्यारामिटरमा विश्लेषण गर्दा ८५ प्रतिशत नमूनामा विषादीको कुनै पनि अवशेष नपाईएको र १५ प्रतिशतमा तोकिएको मापदण्ड भन्दा निकै कम प्रतिशत रहेको कार्यकारी निर्देशक ज्ञवालीले बताउनु भयो । २०७९ बैशाख २ गते आलु, बकुल्ला, रायो साग, बन्दा, गाँजर, रातो बन्दा, गोलभेंडा, मूला, भेडेखुर्सानीको परिक्षण गरेको थियो भने २०७९ जेठ ११ गते धनियाँ, काउली, रातो बन्दा, मूला, रायो, ब्रोकाउलीमा प्रयोग भएको विषादी परिक्षण गरिएको थियो ।
परिक्षण गरिएको २० वटा तरकारीमा बोडीमा अलिक धेरै विषादीको प्रयोग गरेको देखिए पनि ३५ प्रतिशत भन्दा कम भएकाले खान योग्य भएको प्रमाणपत्र उपलब्ध गराईएको थियो । विषादीको मात्र ३५ प्रतिशतसम्म भए खान योग्य, ३५ देखि ४५ प्रतिशतसम्म भए केहि समय राखेर खान हुने र ४५ प्रतिशत भन्दा माथी भएमा खान अयोग्य हुने कृषि विभाग केन्द्रिय कृषि प्रयोगशाला, कृषि ज्ञान केन्द्र प्रयोगशाला, खाद्य प्रविधि प्रयोगशालाले प्रमाणीत गरेको छ । पाँचखालमा उत्पादन भएका अधिकांश तरकारीमा प्रयोग भएको विषादीको मात्र २ प्रतिशत देखि १९ प्रतिशतसम्म छ । बन्दामा २.५ र लोकल बोडीमा १८ प्रतिशत अर्गानोफस्फेट प्रयोग गरिएको छ । तुने बोडीमा २७.५ प्रतिशत देखिएको छ । पाँच वर्षका अवधीमा कृषकहरुले औषत प्रति रोपनी बार्षिक ८६ एमएल कीटानाशक विषादी प्रयोग गर्ने गरेकोमा अहिले ६.५ एम एल मात्रै प्रयोग गर्ने गरेका छन् भने ढुसीनाषक विषादी औषत प्रति रोपनी बार्षिक १.०८ केजी प्रयोग गर्ने गरेकोमा ०.२२३ केजी प्रयोग गर्न थालेका छन् । त्यस्तै रासायनिक मल प्रति रोपनी युरिया २०.५ केजी प्रयोग गर्ने गरेकोमा ९.८ प्रति केजी प्रयोग गर्ने गरेका छन् । फस्फोरस औसत प्रति रोपनी प्रति केजी ३५.२ केजी प्रयोग हुने गरेकोमा हाल १४.४ केजी, पोटास ५.९ केजी प्रयोग हुने गरेकोमा ३.५ केजी प्रयोग हुन थालेको छ ।
यसको विकल्पका रुपमा परियोजनाले कृषकहरुले पशुमूत्रको प्रयोगमा उल्लेख्य बृद्धि गरी बिगतमा एक रोपनी जग्गामा औसत १.५ लिटर प्रयोग हुने गरेकोमा अहिले ३३.१ लिटर पशुमूत्र प्रयोग गरेका छन् । परियोजना लागु भएका कुनै पनि घरधुरीले रातो लेवलको विषादी प्रयोग गर्दैनन तर अन्तिम अवस्थामा बाली जोगाउनका लागि प्रयोग गर्नुपर्ने अवस्था आएमा निलो र हरियो लेवलको विषादीलाई प्रयोग गरेका छन् । वानस्पतिक विषादीको प्रयोग सुरुमा २.५ प्रतिशत घरधुरीले प्रयोग गर्ने गरेकोमा अहिले ७०.४ प्रतिशतले प्रयोग गर्ने गरेका छन । औसत एक घरधुरीले बार्षिक ३ सय १५ लिटर भन्दा बढी वानस्पतिक विषादीको प्रयोग गर्ने गरेका छन् । जसका कारण तरकारी बालीमा प्रयोग हुने विषादीको प्रयोग ह्वात्तै घटेको हो । कीरा नियन्त्रण गर्नका लागि कृषकहरूले मोहनी तथा पहेंलो पासोको प्रयोगलाई बढावा दिएका छन् । सर्वेक्षित क्षेत्रका ८४.१ प्रतिशत घरधुरीले यसको प्रयोग गर्ने गरेका छन जुन परियोजना संचालन गर्नुभन्दा पहिले ४ प्रतिशतले मात्र गर्ने गरेका थिए । त्यस्तै कृाषकहरूले पशुवस्तुलाई सुविधायुक्त बसोबासका लागि भकारो सुधार र पशुपालन व्यवस्थापनमा ध्यान दिएका छन् । पहिले २९ घरधुरीले भकारो सुधार गरेकोमा अहिले १ सय ९१ घरधुरीले भकारो सुधार गरी पशुहरुलाई रोग लाग्नबाट जोगाई मृत्यु दरमा सुधार गरेका छन् । वार्षिक औसत ३.९ बाट झरेर १.३ वटा पशुवस्तुको मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ । पशुपालनमा बृद्धि भई पहिला प्रति घरधुरी १.७ वटा पशुवस्तु (गाई भैंसी) बाट बढेर २ वटा र बाख्रामा ४.३ वटा प्रति घरधुरीबाट बढेर ११.७ वटा पालन गरेका छन ।
कसरी घट्यो विषादीको प्रयोग ?
परियोजना अन्र्तगत नगरपालिका भरीका महिला १ सय ९१ र पुरुष १ सय ९ गरी ३ सय कृषकलाई नमुना अगुवा कृषक र महिला २ सय ७० र पुरुष ९२ गरी ३ सय ६२ जना आईपिएम कृषक, महिला १ सय ३७ र पुरुषक १ सय ४ गरी २ सय ४१ जना साधारण आईपिएम कउषक र पशुपालक तथा अन्य ४ सय २४ कृषक गरी कुल १ हजार ३ सय ३७ जना कृषक प्रत्यक्ष लाभग्राहीको रुपमा राखेर परियोजना संचालन गरिएको थियो । ५ हजार २ माध्यमिक स्तरका विद्यार्थीहरुलाई विद्यालयमै रासायनिक मल तथा विषादीको असर र त्यसको न्यूनीकरणका उपाय र दिगो कृषिको अवधारणाका बारेमा कक्षा संचालन गरिएको थियो । ६ हजार ३ सय जना नगरवासीहरु विभिन्न कार्यक्रम मार्फत दिगो कृषि सम्बन्धी पर्चा वितरणका साथै ९ हजार ६ सय अप्रत्यक्ष लाभाग्राहीलाई परियोजनाका अन्य कृयाकलाप सिंचाई, पशु स्वास्थ्य सेवा, खोप कार्यक्रम, कृषि प्रसार सेवाका साथै दिगो कृषि तथा पशुपालन पद्दतिका साथै रासायनिक मल तथा विषादीको असर र न्यूनीकरणका बारेमा सचेतना गराईएको थियो ।
वातावरण संरक्षण अन्तर्गत १ हजार ७ सय २४ जना कृषकहरूले बन पैदावर, डालेघाँस तथा फलफूलका समेत गरी ४० हजार १ सय ९१ विरुवा बृक्षारोपण गरिएको छ । दिगो कृषि विकास अन्तर्गत एकीकृत शत्रुजीव व्यवस्थापन (आई.पि.एम.) पाठशालामा ६ सय ६२ जना, आधारभूत आई.पि.एम. तालिम, प्रांगारिक खेती सम्बन्धी तालिममा ३ सय ३४ जना कृषक समावेश गरी कृषकहरूलाई गुणस्तरीय कम्पोष्ट मल बनाउने विधि, पशुमुत्रको प्रयोग, घरेलु विषादी बनाउने तरिका, सिकाउनुको साथै १ हजार ८ सय ९७ वटा माटोकोे नमुना परीक्षण गरी १ लाख ८० हजार किलो कृषि चुन वितरण गरिएको थियो । २ सय ६८ वटा प्लास्टिक टनेल र १ सय ९८ वटा पोखरी निर्माण र नगरपालिकासंग सहकार्य गरी सिंचाई लागि ६ स्थानमा कुलो तथा बाँध मर्मत गरिएको छ । नगरपालिकाले उक्त कार्यमा ३६ लाख खर्च गरेको थियो । दिगो पशुपालन अन्तर्गत ३ सय २ वटा भकारो सुधार, पशु स्वास्थ प्राविधिकलाई पूनर्ताजगीतालिम, ३ सय २३ जना कृषकलाई आधारभूत पशु व्यवस्थापन तालिम, ३ सय २५ जना कृषकलाई गुणस्तरीय दुध उत्पादन तालिम, १ हजार ५ सय ९१ जना कृषकलाई ८ लाख उन्नत घाँसका स्लिप बितरण र ३ सय ७८ पशुमुत्र संकलन खाडल निर्माण गरिएको छ ।
फाईदा के भयो ?
पाँचखालमा उत्पादति तरकारी विषादीयुक्त छ, खान हुदैन भन्ने नकारात्मकता चिर्ने अभियान पूर्ण रुपमा सफल भएको नगर प्रमुख महेश खरेलले बताउनु भयो । नगरपालिका र उक्त परियोजनाको पहलमा काठमाडौंमा चावेलमा बिक्रि कक्ष खोलिएको छ भने ग्राण्डी भिल्ला, भैसेपाटी, मंगल बजार, बागडोल लगाएत विभिन्न स्थानबाट सिजनमा आई.पि.एम. प्रविधिबाट उत्पादित तरकारी बिक्रि गरिएको छ । पाँचखालमा उत्पादित तरकारी प्रति सकारात्मक सन्देश गएको छ भने तरकारीको स्वाद मिठो भएकोले निरन्तर माग हुन थालेको नगर प्रमुख खरेलले बताउनु भयो । पाँचखाल क्षेत्रमा कृषि पेशा प्रति घरधुरीको आकर्षण बढेको छ । खाद्य सुरक्षाको अवस्थामा कृषि सूचना र प्रविधिको बिस्तारबाट उत्पादनमा बृद्धि भएको छ । बर्षभरी खान पुग्ने घरधुरी ७०.१ प्रतिशत बाट बढेर ८५.३ प्रतिशत पुगेको छ । आम्दानी प्रति वर्ष १ लाख ८१ हजार १ सय ४१ रुपैयाबाट ४ लाख ६७ हजार ७ सय ४३ रुपैया पुगेको छ । आगामी ५ वर्षमा यो बृद्धी १० लाख पुग्ने योजना बनाईएको छ । तर पनि बैदेशिक रोजगारमा जाने युवाहरुको संख्या भने घटेको छैन । स्थानीय सरकारको ४३ लाख र लवग्रीन नेपालको ४ करोड ६५ लाख २१ हजार रुपैया परियोजना अवधीमा खर्च भएको छ ।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा उपप्रमुख सुर्यमाया दनुवार, प्रमुख प्रशासकिय अधिकृत सुर्यप्रसाद गौतम, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, निवर्तमान वडा अध्यक्षहरु, स्थानीय तथा कृषकहरुको सहभागिता रहेको थियो ।





