2026 August 24/ 06:54: 05am

अनुदान धमाधम कटौती गरिरहेको सरकारले विकास बजेट भने खर्च गर्न सकेको छैन । काभ्रेपलाञ्चोक जिल्लाका लागि विनियोजन भएको संघ सरकारको विकास बजेट फागुन मसान्तसम्म २९ प्रतिशत खर्च भएको छ भने प्रदेश सरकारको २२.९२ प्रतिशत खर्च भएको छ । 
    कोष तथा लेखा नियन्त्रक कार्यालय काभ्रेका अनुसार संघिय कार्यालयहरुमा विनियोजन भएको पुँजीगत बजेट ३ अर्ब ४६ करोड ८४ लाख ५५ हजार ६ सय ४५ रुपैया मध्ये १ अर्ब ८८ लाख ८९ हजार ३३ रुपैया अथार्त २९.०९ प्रतिशत रकम खर्च भएको छ । चालु तर्फ भने ७२.२६ प्रतिशत खर्च भएको छ । संघ सरकारले विनियोजन गरेको कुल बजेटको ६०.६२ प्रतिशत खर्च भएको छ । प्रादेशिक कार्यालय तर्फ भने पुजिँगत बजेट ४ अर्ब ५१ करोड ४९ लाख ६४ हजार ४ सय ७७ रुपैया मध्ये १ अर्ब ३ करोड ५० लाख ३९ हजार ८ सय रुपैया अथार्त २२.९२ प्रतिशत खर्च भएको छ । आर्थिक वर्षको ८ महिनामा कुल बजेटको २२ प्रतिशत खर्च हुँदा बाँकी चार महिनाको अवधीमा ७८ प्रतिशत रकम कसरी खर्च हुन सक्छ ? एकातिर सरकारले निर्माण सम्पन्न भएको विकास क्षेत्रको रकम भुक्तानी गर्न सकेको छैन भने अर्काे तिर विनियोजित बजेट खर्च हुन सकेको छैन । 
    विनियोजित बजेट खर्च नहुनु र भएको खर्च तिर्न नसक्नुमा विग्रँदो अर्थब्यवस्थाको सूचक भएको विश्लेषकहरुले बताउन थालेका छन् । प्रदेश तर्फका कार्यालयहरुमा विनियोजन भएको चालु र पुजिंगत बजेटमा ३१.५६ प्रतिशत खर्च भएको छ । चालु वर्षको ८ महिनामा जिल्लाले २ अर्ब ४१ करोड १६ लाख १५ हजार २ सय ४३ रुपैया रकम राजश्व मार्फत आम्दानी गरेको छ । धरौटी तर्फ भने ४५ करोड ८० लाख ५७ हजार ६ सय ९३ रुपैया रहेको छ भने कार्य संचालन तर्फ १९ करोढ ५९ लाख ५० हजार ३२ रुपैया रहेको छ ।