2026 November 17/ 06:08: 23pm

काभ्रेका १३ पालिकामा विनियोजन भएको कृषि तथा पशुपंक्षी कार्यक्रमको संघ सरकारको सर्शत १६ करोड २६ लाख अनुदान कटौती भएको छ । 

मोतीराम तिमल्सिना
धुलिखेल

    रासायनिक मलको अनुदान कटौती गरेर चौतर्फी आलोचना पछि फिर्ता लिएको सरकारले पुनः स्थानीय तहमा विनियोजित कृषि अनुदान रकम कटौती गरेको छ । देशभरका स्थानीय तहमा संचालन गर्ने गरी विनियोजन भएका कृषिका सशर्त अनुदान कटौतीमा परेका हुन् । काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा पालिकामा विनियोजन भएको १६ करोड २६ लाख कटौती भएको छ । 
    महालेखा नियन्त्रकको कार्यालयले २०७९ चैत्र ५ गते कोष तथा लेखा नियन्त्रक कार्यालय धुलिखेललाई जिल्लाका १३ वटा पालिकामा कृषि तथा पशुपंक्षी मन्त्रालय अन्तर्गत कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रमबाट प्राप्त आत्मनिर्भरताको लागि कृषि उत्पादन कार्यक्रमको सर्शत अनुदान तेश्रो चौमासिक निकासा भएको रकम फिर्ता गर्न भनेको थियो । सोहि पत्र अनुसार कोष तथा लेखा नियन्त्रकको कार्यालयले जिल्लाका १३ वटै स्थानीय तहलाई उक्त शिर्षकमा विनियोजन भएको रकम फिर्ता गर्न पत्राचार गरिसकेको छ । महालेखाले उक्त कार्यक्रमबाट प्रदेश तथा स्थानीय स्तरमा संचालित कार्यक्रममा सर्शत अनुदानका रुपमा वित्तिय हस्तान्तरणको रकम रोक्का राख्न परिपत्र गरेको हो । खर्च गरिसकेको भए पनि फिर्ता माग्ने र खातामा फर्काउने गरी परिपत्र गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । 
    सरकारले बेथान्चोक गाउँपालिका, धुलिखेल नगरपालिका, रोशी र तेमाल गाउँपालिकामा शहरी क्षेत्र लक्षित ताजा तरकारी उत्पादन अभिबृद्धी कार्यक्रमका लागि ७५÷७५ लाख रक विनियोजन गरेको थियो भने महाभारत गाउँपालिकामा मासुमा आत्मनिर्भरताका लागि बाख्रा पालन प्रर्वद्धन कार्यक्रमका लागि ४६ लाख ५० हजार रकम विनियोजन गरेको थियो । पाँचखाल नगरपालिकामा सबैभन्दा धेरै २ करोड ३६ लाख २५ हजारका कार्यक्रम विनियोजन गरिएको थियो । शहरी क्षेत्र लक्षित ताजा तरकारी उत्पादन अभिबृद्धि कार्यक्रममा ७५ लाख, आलु आत्मनिर्भर कार्यक्रम ५६ लाख २५ हजार, मसिना तथा बासनादार धान आत्मनिर्भर कार्यक्रम ३० लाख, दुध उत्पादन आत्मनिर्भर कार्यक्रम ७५ लाख रकम विनियोजन भएको थियो । सबै कार्यक्रम कटौती गरिएका छन् । बनेपा नगरपालिकामा १ करोड ५० लाखका दुईवटा कार्यक्रम कटौती भएका छन् । शहरी क्षेत्र लक्षित ताजा तरकारी उत्पादन अभिबृद्धि कार्यक्रम ७५ लाख र दूध उत्पादन आत्मनिर्भर कार्यक्रममा ७५ लाख रकम विनियोजन भएको थियो । खानीखोला गाउँपालिकाका २ वटा कार्यक्रमको १ करोड २१ लाख ५० हजार रकम कटौती गरिएको छ । मासुमा आत्मनिर्भरताका लागि बाख्रा पालन प्रबद्र्धन कार्यक्रमको ४६ लाख ५० हजार र शहरी क्षेत्र लक्षित ताजा तरकारी उत्पादन अभिबृद्धि कार्यक्रमको ७५ लाख रकम कटौती गरिएको छ । 
    कटौती गरिएका कार्यक्रममा भुम्लु गाउँपालिकाको १ करोड २१ लाख ५० हजार छ । मासुमा आत्मनिर्भरताका लागि बाख्रा पालान प्रवद्र्धन कार्यक्तमको ४६ लाख ५० हजार र शहरी क्षेत्र लक्षित ताजा तरकारी उत्पादन अभिबृद्धि कार्यक्रमको ७५ लाख रुपैयाँ कटौती भएको छ । मण्डनदेउपुर नगरपालिकाको १ करोड ७२ लाख ५० हजार, नमोबुद्ध नगरपालिकाको २ करोड २८ लाख ७५ हजार, पनौती नगरपालिकाको १ करोड ७४ लाख बजेट कटौती भएको छ । मण्डन देउपुरका लागि विउ विजन आत्मनिभरका लागि २२ लाख ५० हजार, शहरी क्षेत्र लक्षित ताजा तरकारी उत्पादन अभिबृद्धि कार्यक्रमका लागि ७५ लाख र दुध उत्पादन आत्मनिर्भर कार्यक्रमका लागि ७५ लाख रकम विनियोजन भएको थियो । नमोबुद्ध नगरपालिकाका लागि विउविजन आत्मनिभर कार्यक्रमका लागि २२ लाख ५० हजार, शहरी क्षेत्र लक्षित ताजा तरकारी उत्पादन अभिबृद्धि कार्यक्रमका लागि ७५ लाख, आलु आत्मनिर्भर कार्यक्रमका लागि ५६ लाख २५ हजार र दुध उत्पादन आत्मनिर्भर कार्यक्रमका लागि ७५ लाख रकम विनियोजन भएको थियो । पनौती नगरपालिकाका लागि विउ विजन आत्मनिभर कार्यक्रमका लागि २२ लाख ५० हजार, मासुमा आत्मनिर्भरताका लागि बाख्रापालन प्रर्वद्धन कार्यक्रमका लागि ४६ लाख ५० हजार, शहरी क्षेत्र लक्षित ताजा तरकारी उत्पादन अभिबृद्धि कार्यक्रमका लागि ७५ लाख र मसिना तथा बासनादार धान आत्मनिर्भर कार्यक्रमका लागि ३० लाख रुपैयाँ विनियोजन गरिएको थियो । 
    आर्थिक संकटोन्मुख अर्थतन्त्र सुधार्न गर्न नसकिरहेको सरकारले कृषि क्षेत्रको अनुदान कटौती गरेर आयातलाई बढावा दिएर उत्पादनलाई हस बनाउन लागेको छ ।