कुनै समय माआवादी पछि विप्लवका कार्यकर्ता भन्ने वित्तिक्कै उद्योगी, ब्यवसायी, जनप्रतिनिधि र सामाजिक कार्यकर्ताहरु चन्दा आतंकबाट त्रसित हुन्थे । एनसेलको टावर आक्रमण, नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुन्साङ लामाको क्रसरमा आगजनी जस्ता घटनामा संलग्न विप्लब समूहका नेता कार्यकर्ताको खोजीमा प्रहरी सक्रिय थियो । त्यहि क्रममा दर्ता गरिएका मुद्दा अदालतमा विचाराधिन छन् ।
जनतासँग उठाएको चन्दा आजकाल विप्लबका कार्यकर्ताहरुले अदालतमा धमाधम धरौटीका रुपमा राख्न थालेका छन् । सरकार र विप्लब समुह बीच भएको वार्ताबाट मुद्दा फिर्ता लिने, जेलमा भएका नेता कार्यकर्तालाई रिहा गर्ने भनिए पनि त्यसो हुन सकेको छैन । तर अहिले विध्वँस मच्चिएको छैन । विप्लवका कार्यकर्ताहरु खुलेआम सामान्य जिवन जिउन थालेका छन् । धार नभएको हतियार जस्तो भुत्ते बनेर सडक सडक हिडिरहेका कार्यकर्ता माथी लागेको मुद्दाका विषयमा पार्टी नेताहरु मौन छन् । बरु कार्यकर्ता स्वंयले अदालतको आदेश स्विकार्दै हाजिर हुन थालेका छन् । यहि क्रममा एक साताको अवधीमा जिल्ला अदालतको म्याद जारी भए पछि ५ जना हाजिर भएका छन् । उनिहरु सबैले दश–दश हजार धरौटी बुझाएका छन् । सार्वजनिक भौतिक संरचनाको विनाश तथा विस्फोटक पदार्थ मुद्दामा हाजिर हुन जिल्ला अदालत काभ्रेपलाञ्चोकले सार्वजनिक सूचना प्रकाशन गरेसँगै विप्लव समुहका कार्यकर्ताहरु धमाधम हाजिर भएका छन् । हाजिर भएका अभियुक्तहरु धरौटीमा छुटेका हुन ।
‘जिल्ला अदालत काभ्रेपलाञ्चोकले हाजिर हुन आउन जारी गरेको म्याद अवधी भित्र यादव र ढुङ्गेल, सुवास देवजू, चमार सिंह तामाङ, शंकरप्रसाद नेपाल र डिल्लीप्रसाद दुलाललाई धरौटीमा छाड्ने आदेश भएको छ’–अदालतका श्रेस्तेदार उपसचिव गोविन्द घिमिरेले भन्नुभयो–‘ढुङ्गेल र देवजू फागुन ३० गते हाजिर भएका थिए भने तामाङ, नेपाल र दुलाल फागुन २९ गते हाजीर भएका थिए ।’ जिल्ला न्यायाधीश मोहनराज भट्टराईको इजलासले हाजिर हुन आएका सबैलाई १०÷१० हजार धरौटी तारेखमा छाड्न आदेश दिएको हो । यो अदालतको नियमित प्रकृया भएको श्रेस्तेदार घिमिरेले बताउनु भयो ।
मुलुकी अपराध संहिता, २०७४ को दफा १५०(१) बमोजिमको कसुर अपराधमा एनसेलको टावर र जेनेरेटरमा आगजनी गर्ने कार्यमा संलग्न भएको अभियोगमा सार्वजनिक भौतिक संरचनाको विनाश मुद्दामा मण्डनदेउपुर ३ का चमार सिं लामा, धुलिखेल ९ का कान्छा लामा, चौरीदेउराली ६ का डिल्लीप्रसाद दुलाल, पनौती ४ का हुद्धबहादुर वाईवा, मण्डनदेउपुर १० का शंकरप्रसाद नेपाल, धुलिखेल ६ का सुवास देवजु, मण्डनदेउपुर १० का भोलाप्रसाद नेपाल, चौरीदेउराली ३ का यादव ढुंङ्गेल, पनौती ४ का सुन्दर रायमाझी, पनौती ४ का अनिल रायमाझीलाई म्याद जारी गरिएको थियो भने विस्फोटक पदार्थ मुद्दामा रामेछाप उमाकुण्ड ६ का शरद रसाईली, चौरीदेउरली ५ का लेखराज गजमेर, मण्डनदेउपुर २ का कान्छा लामा, खानीखोला ५ का रेशम नेपाली, खानीखोला ५ का प्रताप तामाङ गोलेलाई म्याद जारी गरिएको छ । हाजिर हुन आएका मध्ये ५ जना नै भौतिक संरचना विनाश मुद्दाका अभियुक्त हुन् । सरकारसँग सम्झौता भएको दुई वर्ष पछि जिल्ला अदालत काभ्रेपलाञ्चोकले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुलाई हाजिर हुन आउन गोरखापत्र दैनिक मार्फत २०७९ फागुन १ गते बुधबार म्याद जारी गरेको थियो । मुद्दा दर्ता भएका मध्ये अधिकांश ब्यक्ति विप्लव समुहमा छैनन् । म्याद बेपत्ते तामेल भई आएकाले अदालतको आदेश अनुसार प्रतिवादीहरुका नाममा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ (१३) बमोजिम अभियुक्तहरुलाई हाजिर हुन आउन सूचना प्रकाशन भएको हो । अदालत उपस्थित नभई म्याद गुजारी बसेमा पछि कुनै उजुर बाजुर नलाग्ने सूचनामा उल्लेख गरिएको थियो ।
२०७७ फागुन २१ गते तत्कालिन केपी ओली नेतृत्वको सरकार र विप्लव समुहका प्रमुख नेत्रविक्रम चन्द बीच तीन बुँदै सम्झौता भएको थियो । सम्झौतामा दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र संवादबाट समाधान गर्न सहमत भएको, नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको, नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको उल्लेख गरिएको थियो । अदालतमा प्रहरीले दर्ता गरेको मुद्दा सरकार र विप्लव समुह बीच सम्झौता हुनु अगावैको हो । तर पनि सरकारसँग भएको सम्झौता अदालतमा लामो समयसम्म आईनपुग्दा अदालतले आफ्नो प्रकृया अघि बढाएको हो ।









