गाउँ र शहर, सुविधा बराबर
बनेपा/जिल्लाको विकट क्षेत्र महाभारत र खानिखोलाको अभियान सकिए लगत्तै एमाले काभ्रेमा फागुन ५ गतेबाट शुरु भएको ग्रासरुट अभियानको पहिलो चरण सकिएको छ ।
अभियानका लागि काभ्रे खटिएका कमाण्डर एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य, बागमति प्रदेशका पूर्व मन्त्री रामेश्वर फुँयालको नेतृत्वको टोली विहिबार महाभारतबाट फर्किएर पनौती लगायतका पालिकाहरुमा वडा स्तरीय प्रशिक्षणमा ब्यस्त छ । एमाले समय ठिक समय, सरसफाई अभियानबाट एमाले कार्यक्रम, विद्यार्थीसँग मदन भण्डारी पुस्तक वितरण, गाउँ तथा नगर सभा संयोजक गठन, मानसिक र शारिरीक श्रम सम्मान बराबरी, गाउँ र शहर सुविधा बराबर भन्ने अभियान लिएर एमाले गाउँ पुगेको हो ।
‘एमालेको ग्रासरुट अभियानमा नेता तथा कार्यकर्ताको घर घर पुगेर पार्टी र नेताप्रतिको अपेक्षा बुझ्दै विकास निर्माणका कार्यमा एमाले सत्तामा हुँदा विनियोजन गरेको बजेट, त्यसको कार्यान्वयन तथा प्रगतिका बारेमा समेत अनुगमन निरिक्षण गरिएको छ’–पोलिटब्युरो सदस्य रामेश्वर फुँयालले भन्नुभयो–‘बेथान्चोक खानीखोला हुँदै महाभारत पुगेर टोली विहिबार सदरमुकाम फर्किएको छ ।’ महाभारतको अभियानको टिममा संविधान सभा सदस्य एवं बागमति प्रदेश कमिटीका उपाध्यक्ष रामहरी सुवेदी, पूर्व सांसद एवं जिल्ला कमिटी उपाध्यक्ष चन्द्र लामा लगायतका नेताहरु सक्रिय हुनुहुन्छ । पूर्व मन्त्री रामेश्वर फुँयाल मन्त्री हुँदा विनियोजित बजेटबाट निर्माण शुरु भएको महाभारत गाउँपालिकाको तीनखुट्टे पुल, तीनखुट्टे बनखु सडक कालोपत्रेका लागि विनियोजित रकम र त्यसको कार्यान्वयन तथा भौतिक प्रगतिका बारेमा समेत अनुगमन गरिएको नेता फुँयालले जानकारी गराउनु भयो ।
अभियानको पहिलो चरणमा १३ वटै पालिकामा कमिटीगत बैठक र त्यस पछिका योजनाहरुका बारेमा छलफल भएको छ । अभियानबाट पार्टी सदस्यता नवीकरण र विस्तार मार्फत आधारभुत तहमा पार्टी सदस्यहरुको वास्तविक तथ्याङ्क, उनीहरुको अवस्था, पालिका, वडा र टोल कमिटीको क्रियाशीलता र समग्रमा आधारभूत तहमा पार्टीको अवस्थाबारे यथार्थ र वस्तुनिष्ठ जानकारी लिने योजना रहेको अध्यक्ष अशोक ब्याञ्जुले जानकारी दिनुभयो । पार्टीको आधारभुत पंक्ति पार्टीका आधारभुत सैद्धान्तिक राजनीतिक विषयमा प्रशिक्षित गराउने एमालेको अर्काे योजना रहेको सचिव राजन भुर्तेलले जानकारी दिनुभयो । स्थानीय तहमा उत्पन्न हुन सक्ने या भएका अन्तरविरोधको पहिचान र तिनको समाधानका ठोस विकल्पबारे कमिटीले सिफारिस गर्नेछन् । पार्टी कमिटी र जनप्रतिनिधिहरुबीचको सम्बन्धबारे वैचारिक, राजनीतिक र संरचनागत स्पष्टता हासिल हुनेछ । स्थानीय तहका जनप्रतिनिधिहरुको भमिूका थप प्रभावकारी हुनेछ । पार्टी संभावनायुक्त नयाँ पुस्ताको पहिचान हुनेछ । पार्टीलाई जनसरोकारका विषय लगायत समाजका विभिन्न क्षेत्रका रचनात्मक सुझावहरु हासिल हुनेछन । नेता र कार्यकर्ताबीच एवं पार्टी र जनताबीचको सम्बन्ध थप घनिष्ट हुनेछ । अभियान पश्चात पार्टीको प्रभाव विस्तार हुनेछ । पार्टी अनुशासित र एकताबद्ध हुनेछ र पार्टीको सङ्गठनात्मक अवस्था सदृढ हुने सचिव भुर्तेलले जानकारी दिनुभयो । अभियानमा जिल्ला इन्चार्जका रुपमा पोलिटब्युरो सदस्य रामेश्वर फुँयाल, केन्द्रीय कमिटी सदस्य गणेश पहाडी, विद्यासुन्दर शाक्य, नारायण सिल्वाल, उषाकिरण तिमल्सिना र यमबहादुर परियारलाई तोकेको थियो । फुँयालले समग्र जिल्लाका साथै पनौती, खानीखोला र महाभारत गाउँपालिकाको जिम्मेवारी लिएका थिए भने पहाडीले बेथान्चोक, रोशी, शाक्यले बनेपा र धुलिखेल, सिलवालले चौरी र भुम्लु, तिमल्सिनाले पाँचखाल र मण्डनदेउपुर तथा परियारले नमोबुद्ध र तेमाल गाउँपालिकाको जिम्मेवारी लिएका थिए । केन्द्रीय टोलीसँग जिल्लाका पदाधिकारीहरु र जिल्ला कमिटीका नेताहरुले जिम्मेवारी लिएका थिए । सोहि जिम्मेवारी अनुसार अभियान अन्र्तगतको पहिलो चरणको तालिका अनुसारको कार्यक्रम फागुन २४ गते सकिएको इन्चार्ज रामेश्वर फुँयालले बताउनु भयो । जिम्मेवारीका रुपमा अध्यक्ष अशोक ब्याञ्जुले बनेपा र धुलिखेल, उपाध्यक्ष चन्द्र लामाले खानीखोला, महाभारत र रोशी, सचिव राजन भुर्तेलले नमोबुद्ध, तेमाल र चौंरिदेउराली, उपसचिव राजकुमार सापकोटाले पनौती र बेथानचोक, उपसचिव रिता ढकालले पाँचखाल, मण्डनदेउपुर, र भूम्लुमा विशेष केन्द्रीत भएर अभियान संचालन गरेका छन् । जिल्ला कमिटीका सदस्यहरुको अभियान केन्द्रीत जिम्मेवारी तोकिएको थियो भने जिल्ला सल्लाहकार परिषद्का सदस्यहरु, जिल्ला विभागका पदाधिकारी तथा सदस्यहरु र जिल्ला प्रतिनिधी परिषदका सदस्यहरु सम्बन्धित वडाको अभियानमा सरिक भएका छन् ।





