2026 August 24/ 04:05: 23am

दर्जनौं सहकारी विरुद्ध उजुरी 
    बनेपा/पछिल्लो समय सहकारी लगायत वित्तिय क्षेत्रमा संकट देखिन थालेको छ । वित्तिय क्षेत्रको अराजकता नियन्त्रण गर्न सरकारले समयमै ध्यान दिन सकेन भने मुलुक थप अराजकतातर्फ उन्मुख हुने निश्चित रहेको सरोकारवालाहरुले चासो ब्यक्त गरेका छन् । 
    ‘सहकारीबाट ऋण लिनेहरुले तिर्न छाडेका छन्, बचत फिर्ता माग्नेहरुको हैरानी शुरु भएको छ’– सहकारीकर्मी एवं नेफ्स्कूनका पूर्व अध्यक्ष डिबी बस्नेतले भन्नुभयो–‘वित्तिय क्षेत्रको अराजकता नियन्त्रण गर्न सरकारले चासो दिएन भने मुलुक थप संकटमा पर्नेछ । सहकारीहरु र वित्तिय क्षेत्र ध्वस्त हुनेछन् ।’ राजधानी लगायत देशका विभिन्न स्थानमा सहकारी र वित्तिय क्षेत्रबाट लिएका ऋण नतिर्न उर्दि लगाउँदै खुलेआम आन्दोलन शुरु भएको छ । काभ्रेपलाञ्चोक जिल्लामा पनि त्यो संकट देखिन थालेको छ । लगेको ऋण नतिर्ने तर सहकारी असुरक्षित भएको बाहनामा बचत फिर्ता लिन आउनेहरुको दैनिक भिड बढ्न थालेपछि सहकारीहरुले रकम फिर्ता गर्न सकेका छैनन् । गलत कृयाकलाप र कारोवार गर्ने सहकारीलाई कारवाही नगर्दाको परिणाम सिंगो सहकारी अभियानले भोग्नु परेको सहकारीकर्मीहरु बताउन थालेका छन् । ऋण लिएर नतिर्ने, भाग्ने उल्टै धम्क्याउने र उजुरी गर्ने क्रम बढेको छ । सहकारीहरुले पनि विना धितो करोडौ रकम लगानी गरी बचतकर्ताहरुको रकम जोखिममा पार्ने गरेका छन् । 

दर्जनौ उजुरी, जोखिम बढ्यो 
    संस्थागत कारोवार भएका, सहकारीको ऐन नियम पालना गरेका सामुहिकतामा आधारित सहकारीहरुमा वित्तिय संकट देखिएको छैन । मुलुकका सबै क्षेत्र वित्तिय अवस्थाका कारण संकटउन्मुख भईरहेका सन्दर्भमा काभ्रेका दर्जनौ सहकारीहरुमा वित्तिय संकट देखिएको छ । केहि सहकारीका संचालक फरार भईसकेका छन् भने केहि सहकारीले अभाव भएको रकम बचतकर्ताहरुलाई समय दिएर फिर्ता गरिरहेका छन् । बागमती प्रदेशको सहकारी विभागमा जिल्लाबाट १७ वटा सहकारीले रकम फिर्ता गर्न नसकेको उजुरी दर्ता भएको छ । यि मध्ये केहि सहकारी केहि वर्ष अघि नै संकटमा परेर भागिसकेका छन् । केहि सहकारी संचालनमा छन् । बनेपामा रहेको कान्तिपुर सहकारीले केहि महिना देखि बचतकर्ताहरुलाई सिमित रकम फिर्ता गर्न सकिरहेको छ भने मुकुल, युनिटी सहकारीलाई पनि रकम फिर्ता गर्न धौ धौ भएको छ । स्वर्णिम र एशियन स्टारका संचालक फरार छन् । यि दुबै सहकारी पारिवारीक हुन् । स्वर्णिममा दाजु उमेश राउत अध्यक्ष छन् भने एशियन स्टारमा भाई दिनेश राउत । दुबैका प्रबन्धक र संचालक उनिहरु नै हुन् । बचतकर्ताहरुको करोडौ रकम फिर्ता गर्न सहकारीहरुले सकिरहेका छैनन् । विनायक र अखण्ड सहकारी गतवर्ष नै बन्द भएका छन् । यसका संचालक रामसुन्दर कार्की फेरी काठमाडौमा सहकारी किनेर संचालन गरिरहेका छन् । यी सहकारीका संचालक खुलेआम निर्धक्क हिडिरहँदा बचतकर्ताहरु पनि संकटमा परेका छन् । सत्कार सहकारी पनि बन्द छ । मालश्री सहकारी पनि बन्द छ । त्यस्तै पुण्यश्वर र दौप्रदा सहकारी पनि संकटमा पुगेका छन् । कोशिपारी घर भई बनेपा पुलबजार बस्ने कुमार गौतम त्यसका संचालक हुन् । करोडौ रकम फिर्ता गर्न नसके पछि त्यसका बचतकर्ताहरु पनि तनावमा छन् । 
    बनेपामा पारिवारीक रुपमा संचालन भएका अन्य थुप्रै सहकारी छन् । शहरी क्षेत्रमा ब्यक्तिगत रुपमा संचालन भएका अधिकांश सहकारी संकटमा छन् । तर सामुहिक रुपमा संचालन भएका सहकारीहरुमा वित्तिय संकट छैन । अधिकांश सहकारीहरुले सहकारी ऐन र कार्यविधि पालाना भने गरेका छैनन् । छाता संगठनहरुमा समेत ऐन कार्यान्वयन हुन सकेको छैन ।