धुलिखेल/तत्कालिन केपी ओली नेतृत्वको सरकारले नागरिकहरुका लागि सरल र सहज सेवा उपलब्ध गराउने उदेश्यले नापी कार्यालयले प्रदान गर्ने सेवाहरुलाई डिजिटल प्रविधिमा लैजाने गरी शुरु गरेको ‘मेरो कित्ता’ कार्यक्रम प्रभावहिन भएको छ । २०७८ चैत्र २२ गतेबाट काभ्रेपलाञ्चोक जिल्लाको नापी कार्यालयमा शुरु भएको उक्त कार्यक्रममा २०७९ माघ २२ गतेसम्म २८ जनाले मात्रै सेवा लिएका छन् ।
‘इलेक्ट्रिोनिक्स माध्यमबाट घरमै बसेर आफ्नो जग्गाको कित्ताको नक्सा लिन सकिने सहज र सरल ब्यवस्था हो मेरो कित्ता कार्यक्रम’–नापी कार्यालय काभ्रेका प्रमुख नापी अधिकृत रामविनय कुमार सिंहले भन्नुभयो–‘मेरो कित्ताका बारेमा नागरिकहरुलाई बुझाउन जरुरी छ । नागरिकहरुले मेरो कित्ताको सेवा प्रयोगमा ल्याउनु भयो भने खर्च र समय मात्रै होईन लाईन बस्नु पर्ने झन्झटिलो अवस्थाबाट समेत सेवाग्राहिहरु मुक्त हुनुहुनेछ ।’ कार्यालय प्रमुख समेत रहेका रामविनय कुमार सिंहले मेरो कित्ताका बारेमा केहि सेवाग्राहिहरुले टेलिफोन मार्फत जानकारी लिने गर्नु भएको भए पनि धेरै सेवाग्राही अनभिज्ञ रहेको जानकारी दिनुभयो । नापी कार्यालय काभ्रेमा १० महिनाको अवधीमा मेरो कित्ताको सेवा थोरै सेवाग्राहिले लिएका छन् ।
महाभारत गाउँपालिकाका रामबहादुर स्याङ्गतान नापी कार्यालयमा नक्सा लिन आउनु भएको दुई दिन भयो । अघिल्लो दिन गाउँबाट सदरमुकाम धुलिखेल आउँदा कार्यालय समय सकिएकाले उहाँ भोलिपल्ट मात्रै कार्यालय पुग्नु भयो । सोहि दिन उहाँले १ सय १० रुपैयाँ तिरेर नक्सा लिनु भयो । महाभारतबाट धुलिखेलसम्म आउँदा, जाँदा र बस्दा कम्तिमा ३ हजार खर्च भएको छ । उहाँले घरबाटै मेरो कित्ता मार्फत नक्सा लिनु भएको भए ३ हजार बचत हुने थियो । सरकारले मेरो कित्ता कार्यक्रममा एक एमवी बराबरको जग्गाधनी पुर्जा र नागरिकता लोड गरेर फाराम भरेर आईपिएस मार्फत १ सय रुपैया राजश्व र १० रुपैया टिकट बापतको रकम तिरे पछि नापी कार्यालयले दुई दिन भित्र सम्वन्धित ब्यक्तिलाई नक्सा उपलब्ध गराउनेछ । प्रति नक्सा १ सय १० रुपैया पर्ने गरेको छ । यो सेवा अत्यन्तै सरल, सहज र झन्झट मुक्त हुनेछ । यति सहज सेवा हुँदा हुदै पनि नागरिकहरु अनलाईन सेवा छाडेर लाईन बसिरहेका छन् । मेरो कित्ता अनलाईन सेवाका फोकल पर्सन नापी अधिकृत सुरेश मानन्धरले यो कार्यक्रम प्रभावकारी भएकाले नागरिकहरुलाई बुझाउन जरुरी रहेको बताउनु भयो । दैनिक १ सय भन्दा धेरै सेवाग्राहीहरु लाईन बसेर कार्यालयबाट सेवा लिईरहेका छन् । ‘नागरिकहरुको भिड कम गराउन र सेवा सहज तथा सरलिकृत गर्न अनलाईन सेवा प्रभावकारी गराउनु आवश्यक छ’–प्रमुख नापी अधिकृत रामविनय कुमार सिंहले भन्नुभयो–‘हामी सहज र गुणस्तरीय सेवाका लागि तत्पर र कृयाशिल छौं ।’
के गर्दैछ नापी कार्यालय ?
सरकारले स्थानीय तह मार्फत जग्गा बर्गिकरण गरेर मात्रै कित्ताकाट गर्ने निर्णय गरेसँगै सुनसान नापी कार्यालयमा विस्तारै चहलपहल शुरु भएको छ । जिल्लाको पाँचखाल, धुलिखेल र बनेपा नगरपालिका तथा चौरीदेउराली र खानिखोला गाउँपालिका बाहेक अन्य पालिकाहरुले जग्गा बर्गिकरण गरेका छैनन । नापी कार्यालयले हिउँदको समयलाई फिल्ड अथार्त (जग्गा छुट्टयाउने काम) पनि यहि समयमा हुने गरेको छ । कित्ताकाट रोकिँदा सेवाग्राहीहरुको भिड कम भएको भए पनि सबै पालिकाहरुको बर्गिकरण भए पछि भिड बढ्ने सम्भावना छ । कित्ताकाट, फिल्ड रेखांकन, नक्सा प्रिन्ट, फिल्डबुक, प्लट बुक उतारको सेवा प्रदान गरिरहेको छ ।
जग्गा बर्गिकरणमा राखिएका केहि प्रावधानले नागरिकहरुले दुख पाउने सम्भावना बढेको सेवाग्राहीहरुले बताएका छन् । कृषि योग्य जमिन बर्गिकरण भएका स्थानमा कम्तिमा २ रोपनी भन्दा कममा कित्ताकाट हुँदैन । एउटा परिवारको कुल जमिन ५ रोपनी छ त्यो परिवारमा तीन जना दाजुभाई बीच जमिन अंशवण्डा गर्नु छ भने कित्ताकाट हुँदैन । पैत्रिक सम्पतिमा समस्या देखिने भन्दै नापी कार्यालयले विभागलाई लेखेर पठाएको छ । त्यस्तै जग्गा बर्गिकरण हुनु अघि ७ आना जमिन दुई जनाको नाममा पास गरिएको भए पनि अब कित्ताकाट हुने छैन । ४ आना डेड दाम कमको जग्गा कित्ताकाट हुँदैन । यस्ता केहि समस्याहरुका बारेमा नागरिकहरुलाई बुझाउन र केहि नियम शंशोधनका लागि विभागमा अनुरोध गरिएको कार्यालय प्रमुख प्रमुख नापी अधिकृत रामविनय कुमार सिंहले बताउनु भयो । समयमै जग्गा बर्गिकरण नहुँदा राजश्वमा कमी भएको छ भने सेवाग्राहीहरुले समेत कष्ट ब्यहोरिरहेका छन् ।





